close

बिग्रिएका विद्युत प्राधिकरणका ईभी चार्जर आजदेखि मर्मत गरिँदै

टेकपाना टेकपाना

पुस २२, २०८० १६:१०

बिग्रिएका विद्युत प्राधिकरणका ईभी चार्जर आजदेखि मर्मत गरिँदै

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिग्रिएको अवस्थामा रहेका विद्युतीय चार्जरको मर्मत आज साँझदेखि सुरु गर्ने भएको छ । भन्सारबाट आवश्यक उपकरण भित्र्याएपछि प्राधिकरणले सात ओटा ‘चार्जिङ गन’ मर्मत गर्न लागेको हो ।

चार्जिङ स्टेसनको ठेक्का पाएको कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडले बिग्रिएका चार्जरको मर्मत गर्ने र यो काम सकिएपछि सबै चार्जर प्राधिकरणलाई हस्तान्तरण गर्ने बताइएको छ ।

​“मर्मत भन्नाले गन रिप्लेस गर्न लागेको हो,” प्राधिकरणका प्रतिनिधिले टेकपानासँग भने, “ड्राइभरले चार्ज गर्ने चार्जिङमा समस्या छैन । तर, सीसीएस चार्जरमा समस्या छ । त्यो मर्मत हुँदैछ ।” स्पेयर पार्ट्स ल्याउन समस्या भएकाले मर्मत ढिलो भएको उनले बताए ।

“अहिले ठेकेदार कम्पनीले नै चार्जर चलाइरहेको छ,” उनले भने, “अब हामीलाई हस्तान्तरण गरिसकेपछि २४ घण्टाभित्र मर्मत भएन भने उनीहरूलाई जरिवाना लाग्छ ।”

यसअघि निर्माणकै क्रममा रहेकाले हस्तान्तरण नगरेरै वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडले चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको थियो ।

अबको दुईदेखि चार दिनमा सबै चार्जिङ स्टेसन सामान्य अवस्थामा चल्ने बताउँदै प्राधिकरणका प्रतिनिधिले भने, “हामीलाई हस्तान्तरण गर्न उनीहरू अन्तिम चरणको काम गरिरहेका छन् । त्यसैले उनीहरू बिग्रिएको अवस्थामा रहेका गन परिवर्तन गर्न लागेका हुन्  ।”

काठमाडौंको सामाखुसी, कोहलपुर, बुटवल, मुग्लिन लगायतका क्षेत्रमा विगत दुई महिनादेखि चार्जर बिग्रिएको अवस्थामा छन् ।

हाल देशभर प्राधिकरणका कूल ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा छन् । यसपछि एपबाटै प्रयोगकर्ताले गुनासो गरेपछि २४ घण्टाभित्रै समस्या समाधान गर्नेगरी काम गर्न लागेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८० १६:१०