close

‘नमस्तेबाट नमस्ते कल फ्री सेवा’ भन्दै प्रचार गरिएको सूचना गलत होः टेलिकम

टेकपाना टेकपाना

पुस २७, २०८० १५:२३

‘नमस्तेबाट नमस्ते कल फ्री सेवा’ भन्दै प्रचार गरिएको सूचना गलत होः टेलिकम

काठमाडौं । नेपाल टेलिकमले विभिन्न फेसबुक ग्रुप, मेसेन्जर लगायतका सामाजिक सञ्जालमार्फत आफ्नाबारे गलत सूचना प्रवाह भएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

एक सूचना प्रकाशित गर्दै कम्पनीले ‘नमस्तेबाट नमस्ते कल फ्री गर्ने सेवा’ सुचारु गरेको भनेर गलत सूचना प्रवाह भएकाले ग्राहकहरूलाई सचेत रहन अनुरोध गरेको हो ।

''कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन अनुरोध छ,'' कम्पनीले सूचना भनेको छ ।

त्यस्तै पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकका ग्रुपमा नेपाल टेलिकममा ‘कस्टमर केयरुको जागिर खुलेको भन्ने भ्रामक पोस्ट फैलिएको पाइएकाे छ । फरकफरक व्यक्तिले फरक अकाउन्टबाट पोस्ट गरेपनि स्टाटसको शैली भने प्रायःको एउटै देखिन्छ । यस्ता पोस्टमा कक्षा १० पास गरेका मानिसलाई लक्षित गर्दै टेलिकमले ‘कस्टमर केयर’ का लागि जागिर खुलाएको दाबी गरिएको छ । 

टेलिकमले भने यसरी सामाजिक सञ्जालबाट कुनै पनि व्यक्तिले गरेका विज्ञापनमा भर नपर्न सुझाव दिएको छ । यस विषयमा टेकपानासँग कुरा गर्दै टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ''हामीले विज्ञापन माग्यौं भने हाम्रो आधिकारिक वेबसाइट, सामाजिक सञ्जालका अकाउन्ट र पत्रिकामा सूचना आएको हुन्छ । कुनै व्यक्तिले आफू टेलिकमको कर्मचारी भएको दाबी गर्दै जागिर उपलब्ध गराउने भनेको छ भने त्यस्तो भ्रममा नपर्नुहोला ।''

टेलिकमले जागिर खुलाएको बेला वेबसाइटको ‘भ्याकेन्सी’ सेक्सनमा सूचना हुने भएकाले कुनै पनि विज्ञापन देखिए त्यही सेक्सनमा गएर अधिकारिकता जाँच गर्न प्रवक्ता अधिकारीले सुझाव दिए ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १५:२३