close

आईटी विद्यार्थीलाई उद्योग तथा व्यावसायिक ज्ञान दिन दुई संस्थाबीच सहकार्य

टेकपाना टेकपाना

माघ ३, २०८० १६:२३

आईटी विद्यार्थीलाई उद्योग तथा व्यावसायिक ज्ञान दिन दुई संस्थाबीच सहकार्य

काठमाडौं । सूचना प्रविधि उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सहकार्य भएको छ । बुधवार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा यी दुई संस्थाबीच समझदारी भएको हो ।

समझदारी पत्रमा त्रिवि सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमी र डिजिटल इम्पावरमेन्ट सोसाइटी (डीईएस)का अध्यक्ष राजेन्द्रप्रसाद अर्यालले हस्ताक्षर गरे । उक्त समझदारीअनुसार दुवै संस्थाले शिक्षा र सीपबीच देखिएको अन्तरमा केन्द्रित रहेर सहकार्य गर्नेछन् ।

सो अवसरमा बोल्दै सञ्चारमन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीलाई रोजगारी सुनिश्चत गर्न सकिने बताइन् । ''आईटीका नयाँ विषयहरूलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन । आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं । र त्यो सम्भव छ भन्ने देखिएको छ,'' मन्त्री शर्माले भनिन् ।

सो कार्यक्रममा त्रिविका उपकुलपति डा. शिवलाल भुसाल, डीईएसका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, त्रिवि सीएसआईटीको केन्द्रीय विभागका डीन डा. बिनिल अर्याल लगायतले मन्तव्य राखेका थिए । 

समझदारी अन्तर्गत आईटी उद्योग, व्यापार, समुदाय र सरकारी संस्थाहरूसँग मजबुत साझेदारी स्थापित गर्ने, इन्टर्नशिप र रोजगारी अवसरका लागि सहयोग गर्ने, उद्योगको वर्तमान र भविष्यका आवश्यकताहरूसँग मेल खाने पाठ्यक्रमहरू तयार पार्ने, स्थानीय ज्ञान तथा वास्तविक अनुप्रयोग बीचको अन्तर बुझाउने गरी परियोजना प्रदान गर्ने, सफ्ट स्किल डेभलपमेन्ट तथा उद्यमशीलता सम्बन्धी शिक्षामा जाेड दिने लगायतका योजना समेटिएका छन् ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १६:४६