close

शक्तिशाली एआई मोडेल बनाउने दौडमा जुकरबर्ग पनि जोडिए

टेकपाना टेकपाना

माघ ६, २०८० १४:१७

शक्तिशाली एआई मोडेल बनाउने दौडमा जुकरबर्ग पनि जोडिए

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एआई सम्बन्धी आफ्नो इच्छा सार्वजनिक गरेका छन् । फेसबुकमा एक भिडिओ राख्दै सीईओ जुकरबर्गले आफ्नो दीर्घकालीन योजना आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउनु रहेको बताएका हुन् ।

एजीआई एआईले मसिनहरूलाई मानिसले जस्तै सिक्न र सोच्न सक्ने बनाउँछ । यस योजनालाई वास्तविक रूप दिन अनुसन्धानमा केन्द्रित ‘फेयर’ (FAIR) नामक परियोजना र एआई प्रोडक्ट तयार गर्ने जेनएआई (GenAI)लाई एकै ठाउँमा ल्याउन खोजिरहेको जुकरबर्गले बताएका छन् ।

उनले एजीआई कहिलेसम्म बनाइसक्ने, अथवा त्यो कस्तो हुन्छ भन्नेबारे भने बताएका छैनन् । तर सबैको भलोका लागि एजीआईलाई सार्वजनिक रूपमा उपलब्ध गराउने जनाएका छन् ।

त्यसो गर्नाले एजीआईबाट सबैले फाइदा लिन सक्ने उनको भनाइ छ । एजीआई बनाउने उक्त लक्ष्य पूरा गर्न अहिले शक्तिशाली कम्प्युटर इन्फ्रास्ट्रक्चर तयार पारिरहेको उनले खुलाएका छन्, जसका लागि एनभिदियाको एच १०० चिपको साढे तीन लाख युनिट र थप जीपीयू प्रयोग हुने उनले उल्लेख गरेका छन् ।

भविष्यमा स्मार्ट एआई असिस्टेन्ट आवश्यक पर्ने भएकाले आफूहरूले त्यो कार्य गर्ने उनको तर्क छ । अहिले भने मेटाको अर्को पुस्ताको जेन मोडेल लामा थ्रीलाई तालिम दिइरहेको उनले जनाएका छन् ।

साथै एआईमा आधारित हुने स्मार्ट चस्मा तथा अन्य कुराहरू विकास गरिरहेको बताएका छन् । हाल जुकरबर्गबाहेक ओपनएआई, डिपमाइन्ड, एन्थ्रोपिक जस्ता एआई सम्बन्धी अनुसन्धान गरिरहेका संस्था एजीआई बनाउने दौडमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८० १४:४०