काठमाडौं । सामाजिक सञ्जालमा देखिएको एउटा छोटो भिडिओ (युट्युब शर्ट्स) नभएको भए कोलकाताको बेहालास्थित एक परिवारले आफ्नो घरबाट सुनका गहना हराएको सायदै थाहा पाउने थियो । यसै महिनाको सुरुमा सार्वजनिक भएको त्यही भिडिओको प्रमाणका आधारमा स्थानीय प्रहरीले उक्त परिवारकी पूर्व घरेलु कामदार ३५ वर्षीया पूर्णिमा मण्डललाई पक्राउ गरेको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार चोरी भएको करिब छ महिनापछि प्रहरीले उनको साथबाट तीन ओटा सुनका गहना बरामद गरेको हो । युनिक पार्ककी उद्यमी सञ्चिता मुखर्जीले तीन वर्षअघि मण्डललाई आफ्नो घरमा काम गर्न राखेकी थिइन् । मण्डलले गत अक्टोबरमा अचानक काम छोडिन् । हालै मात्र सञ्चिता र उनका श्रीमान् समिरनले घरबाट गहना हराएको थाहा पाएका थिए ।
“पूर्णिमा मण्डललाई युट्युबमा ‘शर्ट्स’ अपलोड गर्ने धुन चढेको थियो । उनी सडकमै नाचेर भिडिओ हाल्थिन् । तर, निरक्षर भएकाले कमेन्ट सेक्सनका प्रतिक्रिया पढ्न सक्दैनथिन् र प्रायः मसँग मद्दत माग्थिन् । मैले यस्तै एउटा शर्ट भिडिओ हेर्दै थिएँ, त्यतिबेला मैले उनले मेरै गहना लगाएको थाहा पाएँ,” मुखर्जीले टाइम्स अफ इन्डियालाई घटनाको बेलीविस्तार लगाइन् ।
मुखर्जीले प्रहरीमा दिएको उजुरीमा लेखेकी छिन्, “गत अक्टोबरदेखि मेरो घरबाट दुई ओटा सुनका झुम्का हराएका थिए । अप्रिलको पहिलो हप्तामा मैले पूर्णिमा मण्डलले मेरा हराएका सुनका झुम्कामध्ये एउटा लगाएर युट्युब शर्ट्स भिडिओ पोस्ट गरेको थाहा पाएँ । मैले उक्त भिडिओ मेरो मोबाइलमा सुरक्षित राखें । उनले मेरो घरमा काम गर्दा नै ती दुई झुम्का चोरेकी हुन् भन्ने मलाई शङ्का छ ।”
उजुरीपछि पर्णश्री प्रहरीले पूर्णिमाको घरमा छापा मारेर मुखर्जीका दुई ओटा झुम्का मात्र नभई उनका श्रीमानको एउटा औंठी पनि बरामद गरेको छ ।
एक वरिष्ठ अनुसन्धान अधिकृतले स्थानीय सञ्चार माध्यमलाई भने, “हामीले घटनाको अनुसन्धान गरिरहेका छौं र पूर्णिमाले काम गरेका अन्य घरहरूबाट पनि चोरी भएको हुनसक्ने अनुमान गरेका छौं ।”
“साँच्चै भन्नुपर्दा मेरो पूर्व कामदारले अरू केही चोरेको छ कि छैन मलाई थाहा छैन । किनकि मैले मेरो पूरै घर जाँच्न सक्दिनँ । तर प्रहरीले मेरो उजुरीलाई गम्भीरतापूर्वक लिएर तुरुन्तै कारबाही गरेकोमा म आभारी छु,” मुखर्जीले भनेकी छन् ।