close

भाइरल एआई डलको मोह: सुन्दरता पछाडि लुकेको छ गोपनीयताको खतरा

टेकपाना टेकपाना

बैशाख ६, २०८२ १६:२८

भाइरल एआई डलको मोह: सुन्दरता पछाडि लुकेको छ गोपनीयताको खतरा

काठमाडौँ । अप्रिल महिनाको सुरुवातदेखि नै इन्टरनेटमा जिब्ली-स्टाइल आर्टले चर्चा पायो । जापानको एक स्टुडियोले बनाउने शैलीका फोटो च्याटजीपीटीले सजिलै बनाइदिने भएपछि यो धेरैको रोजाइमा पर्‍यो । पछि अन्य एआई टुलले पनि यस्तो फिचर उपलब्ध गराउन थाले । यसमा प्रयोगकर्ता आफ्नो फोटो अपलोड गरेर जिब्ली-स्टाइलको आर्ट बनाउन अनुरोध गर्छन् । एआई टुलले क्षणभरमै आकर्षक जिब्ली शैलीको फोटो तयार पारिदिन्छ । 

यो ट्रेन्डको चर्चा अहिले कम हुँदै गएको छ । तर, च्याटजीपीटी र यो जस्तै अन्य एआई टुलले सर्वसाधारणको फोटोको डेटा लिने अर्को तरिका फेला पारेका छन् । त्यो हो ‘एआई डल’ । अर्थात् आफ्नो गुडिया प्याक गरेको जस्तो देखिने फोटो । 

केही सामान्य प्रम्टका भरमा एआई इमेज जेनेरेटर टुलले बार्बी डलजस्तो एआई डल फोटो तयार पारिदिन्छ । फोटोको छेउमा तपाईंको रुचि वा पेसासँग जोडिएका ग्याजेट वा उपकरण हुन्छन् । यसरी फोटो तयार पारिसकेपछि प्रयोगकर्ता सामाजिक सञ्जालमा शेयर गर्छन् । 

तर यो रमाइलो ट्रेन्ड गोपनीयताका लागि ठुलो चिन्ताको विषय बनेको छ । जति धेरै एआई डलका तस्बिरहरू सामाजिक सञ्जालमा देखिन्छन् त्यति नै चिन्ता बढ्दै गएको विज्ञहरू बताउँछन् । यो केवल एआईको शक्तिको दुरुपयोग गर्ने अर्को ट्रेन्ड मात्र नभई असङ्ख्य सामाजिक सञ्जालको लहरमा सामेल हुन लाखौं मानिसले स्वेच्छाले आफ्नो अनुहार र संवेदनशील जानकारी शेयर गर्न सहमत भएको घटना पनि हो । यसका सुरक्षा जोखिमबारे सायदै कसैले सोचेका छन् ।

गोपनीयतामाथि कसरी हुँदैछ धोका ?

गोपनीयताबाट कुरा सुरु गरौं । ‘एआई डल’ र ‘स्टुडियो जिब्ली एआई ट्रेन्ड’ दुवैले धेरै मानिसहरूलाई ओपनएआई, ग्रोक र यस्तै टुलको डेटाबेसमा आफ्ना तस्बिरहरू अपलोड गर्न प्रेरित गरेका छन् । सायद यीमध्ये धेरैले पहिले कहिल्यै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) सफ्टवेयर प्रयोग गरेका थिएनन् । विगत केही हप्तामा धेरै मानिसहरूले आफ्ना त छँदै छ साथसाथै बच्चाबच्चीको अनुहारसमेत भाइरल तस्बिर पाउन अपलोड गरेको देखियो ।

एआई मोडेल जानकारी र तस्बिरका लागि वेब स्क्र्याप गर्छन् भन्ने विषय नौलो होइन । त्यसैले धेरैले यो मेरो इन्स्टाग्राम वा फेसबुक अकाउन्टमा सेल्फी अपलोड गर्नुभन्दा कति फरक छ र ? भन्ने सोचेका छन् । 

तर, यसमा एउटा जालो छ । जब तपाईं कुनै एआई फोटो जेनेरेटर सफ्टवेयरमा आफ्नो इच्छाले फोटो राख्नुहुन्छ तब तपाईंले त्यो सफ्टवेयर बनाउने कम्पनीलाई कानुनी रूपमा तपाईंको जानकारी (खासगरी तपाईंको अनुहार) लाई विभिन्न तरिकाले प्रयोग गर्ने अधिकार दिनुहुन्छ । यसको अर्थ उनीहरूले तपाईंको अनुमति बिना नै भविष्यमा तपाईंको फोटो वा अनुहार अन्य काममा प्रयोग गर्न सक्ने बाटो खुल्छ ।

एआई, टेक एन्ड प्राइभेसी एकेडेमीकी सह-संस्थापक लुइजा जारोभस्कीका अनुसार जिब्ली ट्रेन्ड यसरी फैलियो जसले गर्दा एआई कम्पनीलाई प्रयोगकर्ताकै स्वेच्छाले फोटो पाउन मद्दत गर्‍यो । “धेरै मान्छेले जिब्ली इफेक्टले एआई कपिराइट विवादमात्र नभई ओपन एआईले लाखौं प्रयोगकर्ताबाट उनीहरूका नयाँ व्यक्तिगत जानकारी पाउने पीआर ट्रिक हो भन्ने महसुस नै गरेका छैनन्,” लुइजाले लेखेकी छिन् ।  

ओपनएआईको यो ट्रिकले जीडीपीआरको कानुनलाई बाइपास गरेर लाखौं प्रयोगकर्ताको व्यक्तिगत डेटा पाएको उनको दाबी छ । लुइजाले यसलाई ‘चलाख गोपनीयता चाल’ भनेर वर्णन गरेकी छिन् । यसको माध्यमबाट एलएलएमका लाइब्रेरीले आफ्नो प्रणालीमा प्रयोग गर्नका लागि ताजा नयाँ तस्बिरको बाढी नै पाए । यो तरिकाले यति राम्रोसँग काम गर्‍यो कि उनीहरूले यसलाई फेरि गर्ने र स्तर बढाउने निर्णय गरे । त्यसपछि उनीहरूले यो फिचर निःशुल्क पनि सबै प्रयोगकर्तालाई उपलब्ध गराएका थिए ।

यसरी गुम्दैछ डेटामाथि तपाईंको नियन्त्रण 

आफ्नो व्यक्तिगत एक्सन डल बनाउन तपाईंको अनुहार मात्र डेटा मा्तर पर्याप्त छैन । तपाईंले त्यस्तो फोटो बनाउन आफ्नो पूरा फोटो, आफ्नो पेसाको जानकारी, आफ्नो रुचि र अन्य विषयको पनि जानकारी दिनुपर्ने हुन्छ । तपाईंले जति बढी डेटा उपलब्ध गराउनु भयो त्यति नै स्तरीय फोटो एआई टुलले तयार पार्छ । त्यसैले पनि प्रयोगकर्ता बढीभन्दा बढी आफ्ना व्यक्तिगत फोटो र विवरण एआई टुललाई उपलब्ध गराइरहेका हुन्छन् ।

यसरी मानिसले एआई कम्पनीलाई आफ्नो अनुहारको मात्र नभई आफ्ना व्यक्तिगत जानकारी पनि दिइरहेका छन् । यस्ता जानकारी यी कम्पनीले सहजै प्रयोगकर्ताबाट पाउन सक्दैनन् । त्यसैले प्रयोगकर्ताको संवेदनशील जानकारी पाउन पनि यस्ता ट्रेन्डले एआई कम्पनीलाई सघाइरहेका छन् । 

प्रोटोन (एक उत्कृष्ट भीपीएन र सुरक्षित इमेल सेवा प्रदायक) का अकाउन्ट सेक्युरिटी प्रमुख इमोन मग्वाइरका अनुसार व्यक्तिगत जानकारी शेयर गर्दा ‘समस्याहरूको पाण्डोरा बक्स’ खुल्छ । (प्यान्डोराको बाकस भनेको समस्या र दुःखको स्रोत भन्ने बुझिन्छ जुन एक पटक खुलेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ, तर यसले कठिन समयमा पनि आशा बाँकी रहने कुरा सिकाउँछ) । यसलाई किन प्यान्डोराको बाकस भनियो भने तपाईंले आफ्नो डेटा त गुमाउनु हुनेछ नै साथै ‍यो डेटा कसरी प्रयोग गरिनेछ भन्नेमाथिको नियन्त्रण पनि गुमाउनुहुन्छ । यो एलएलएमलाई तालिम दिन, सामग्री उत्पन्न गर्न, विज्ञापनहरू पर्सनलाइज (तपाईंकै अनुकूलको बनाउन) गर्न वा अन्य धेरै कुराका लागि पनि प्रयोग हुन सक्छ । कहाँ प्रयोग गर्न दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार तपाईंसँग हुनेछैन ।

“च्याटजीपीटी जस्ता टुलले यो जानकारी प्रयोग गरेर बनाउन सक्ने विस्तृत व्यक्तिगत र व्यवहारिक प्रोफाइलले तपाईंको जीवनका महत्त्वपूर्ण पक्षहरूलाई असर गर्न सक्छ । खासगरी बीमा कभरेज, ऋण सर्त, निगरानी, प्रोफाइलिङ, गुप्तचर सङ्कलन वा लक्षित आक्रमणमा तपाईंको डेटा दुरुपयोग हुन सक्छ,” मग्वाइरले टेक र्‍याडरलाई भने ।

ओपनएआई, गुगल, र एक्स (पहिले ट्विटर) ले यो डेटा कसरी प्रयोग वा दुरुपयोग गर्नेछन् भन्ने गोपनीयता समस्याको एउटा पाटो मात्र हो । यी एआई टुल ह्याकरको लागि ‘हनिपोट’ पनि बन्न सक्छन् । सामान्य नियमअनुसार डेटाको मात्रा जति बढी हुन्छ, ठूला डेटा ब्रिच (उलङ्घन)को सम्भावना त्यति नै बढी हुन्छ । र, एआई कम्पनीहरू आफ्ना प्रयोगकर्ताको डेटा सुरक्षित गर्ने कुरामा सधैं सावधान हुँदैनन् भन्ने गरिन्छ ।

यसबारे टिप्पणी गर्दै मग्वाइरले भने, “डिपसिकले ठुलो सुरक्षा कमजोरी भोगेको थियो । त्यतिबेला तिनीहरूको प्रयोगकर्ताले दिने प्रम्प्टको डेटाबेस इन्टरनेटमा सार्वजनिक रूपमा पहुँचयोग्य भएको थियो । यता ओपनएआईले प्रयोग गरिरहेको थर्ड पार्टी लाइब्रेरीमा भएको कमजोरीले नाम, इमेल ठेगाना र क्रेडिट कार्ड जानकारी सहित प्रयोगकर्ताको संवेदनशील ड‍ेटा बाहिरिएको थियो ।”

यसको अर्थ अपराधीहरूले मानिसहरूको अनुहार र व्यक्तिगत जानकारीलाई आफ्नो एक्सन फिगर बनाउनका लागि शेयर गरेर दुरुपयोग गर्न सक्छन् । जसमा राजनीतिक प्रचार, पहिचान चोरी, धोखाधडी र अनलाइन घोटाला जस्ता घटना हुन सक्छन् । 

एआई टुललाई आफ्नो रमाइलो फोटो बनाउने गेम खेल्नु कत्तिको जायज हो ?

अनलाइनमा व्यक्तिगत जानकारी शेयर गर्नबाट जोगिन र अज्ञात रहन दिन प्रतिदिन गाह्रो हुँदै गएको छ । यी भाइरल एआई ट्रेन्डले पनि अधिकांश मानिसहरूले गोपनीयता र सुरक्षासम्बन्धी असरलाई राम्ररी विचार गरेका छैनन् भन्ने स्पष्ट देखाएका छन् । 

एकातिर सिग्नल र ह्वाट्सएप जस्ता सुरक्षित (इन्क्रिप्टेड) मेसेजिङ एप र भीपीएन सफ्टवेयरको प्रयोग बढ्दै गएको छ । तर अर्कोतिर मानिसहरूलाई यी सुरक्षाका उपायहरू अपनाउनु भन्दा तत्काल चलेको भाइरल सामाजिक ट्रेन्डमा सामेल हुन बढी हतार वा जरुरी भएको देखिन्छ ।

एआई कम्पनीहरूले मानिसको भाइरल ट्रेन्ड पछ्याउने बानीलाई प्रयोग गरेर आफ्नो प्रयोगकर्ता र डेटा बढाउँछन् । हालका एआई फोटो ट्रेन्डहरू यस्तो प्रविधिको विकास र त्यसले गोपनीयतामा पार्ने असरको सुरुवात मात्र हुन् । र, भविष्यमा यस्ता थप ट्रेन्डहरू आउने निश्चित छ ।

प्रोटोन कम्पनीका म्याग्वायरले औंल्याए अनुसार जुन हिसाबले थोरै एआई कम्पनीको हातमा अथाह शक्ति र डेटा जम्मा भइरहेको छ, त्यो चिन्ताजनक विषय हो । उनले भने, “यसमा अब परिवर्तन हुनैपर्छ । नत्र धेरै ढिलो हुनेछ ।”

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १६:५०