मान्छेको दिमागमा पहिलो पटक राखियो कम्प्युटर चिप, सोचेकै भरमा विभिन्न काम हुने
माघ १६, २०८० ९:४५
काठमाडौं । न्युरालिङ्कका संस्थापक एलन मस्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै मस्कले आइतवार पहिलो पटक मानव मस्तिष्कमा चिप राखिएको दाबी गरेका हुन् ।
पोस्टमा मस्कले चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेको उल्लेख गरेका छन् । उनका अनुसार सुरुवाती अवस्थामा न्युरल स्पाइक (स्पाइक भन्नाले न्युरोनको त्यस्तो गतिविधि हो, जहाँ कोषिकाले मस्तिष्कदेखि शरीरसम्म सूचना प्रदान गर्नका लागि विद्युतीय र रासायनिक सिग्नलको प्रयोग गर्छन्) पत्ता लागिरहेको जनाएका छन् ।
न्युरालिङ्कको पहिलो प्रडक्टलाई मस्कले टेलिप्याथी नाम दिएका छन् । उनका अनुसार यसको सहायताले व्यक्तिले सोचेकै भरमा आफ्नो फोन, कम्प्युटर वा अन्य कुनै डिभाइस नियन्त्रण गर्न सक्छ ।
सुरुवाती अवस्थामा जसले हात खुट्टा गुमाएका व्यक्तिले चिप प्रत्यारोपण गर्न पाउनेछन् । विशेषगरी गम्भीर पक्षाघात भएका व्यक्तले न्युरल सिग्नलको सहायता विभिन्न प्रविधि प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने अवधारणा अगाडि बढाएको थियो ।
The first human received an implant from @Neuralink yesterday and is recovering well.
— Elon Musk (@elonmusk) January 29, 2024
Initial results show promising neuron spike detection.
वैज्ञानिक स्टेफन हकिङले टाइपिस्टको स्पिडभन्दा तीव्र गतिमा कुराकानी गर्न सक्ने भए कस्तो हुन्थ्यो होला भन्दै मस्कले आफ्नो मुख्य उद्देश्य नै त्यही भएको जनाएका छन् । अर्थात् जो व्यक्ति भौतिक रूपमा कमजोर छन्, तर मानसिक रूपमा तन्दुरुस्त छन् । उनीहरूका लागि यो प्रविधि बरदान हुने उनको अपेक्षा छ ।
गत वर्ष अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले न्युरालिङ्कलाई मानवमा चिप प्रत्यारोपण गर्न अनुमति दिएको थियो । न्युरालिङ्कले हालसम्म यो परीक्षणका लागि कति व्यक्ति सहभागी भएका छन् भन्ने खुलाएको छैन ।
न्युरालिङ मात्र नभई ब्रेन कम्प्युटर इन्टफेसका लागि पाराड्रोमिक्स भन्ने कम्पनी पनि यो दौडमा अगाडि बढिरेहको छ । सीएनबीसीका अनुसार यो वर्षको मध्यसम्म उक्त कम्पनीले मानवमा पहिलो पटक चिप प्रत्यारोपण गर्नेछ ।
त्यस्तै प्रिसिसन न्युरोसाइन्स भन्ने कम्पनीले गत वर्ष मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न सकिने विषयबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
बजारमा भने कुन कम्पनीले यो सेवा अगाड ल्याउनेछन् भन्ने स्पष्ट छैन ।
पछिल्लो अध्यावधिक: माघ १६, २०८० ९:५३
