close

ह्याक भएको त्रिविको वेबसाइट भोलिदेखि चल्ने

टेकपाना टेकपाना

माघ १८, २०८० १५:१०

ह्याक भएको त्रिविको वेबसाइट भोलिदेखि चल्ने

काठमाडौं । मंगलबार ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ह्याकपछि वेबसाइट मर्मतको काम चलिरहेको र शुक्रबार बिहानबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

''अहिले वेबसाइट मेन्टेनेन्सको काम भइरहेको छ,'' जोशीले टेकपानासँग भने, ''बेलुकी (बिहीवार) सबै काम सकिन्छ । भोलि सार्वजनिक सूचनाबाटै वेबसाइट पुनः सञ्चालनमा आएको व्यहोरा सूचित गरिनेछ ।''

पनिकाले सोमबारदेखि विभिन्न प्रमाणपत्रको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो । यसअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी सर्टिफिकेट एप्लिकेसन पोर्टल सार्वजनिक गरिएको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै पनिकाको वेबसाइट ह्याकरको नियन्त्रणमा पुग्यो ।

वेबसाइटको सुरक्षामा कमजोरी देखिएको स्वीकार गर्दै परीक्षा नियन्त्रक जोशीले अब व्यवस्थित रूपमा अनलाइन प्रणाली सञ्चालन हुने दाबी गरे । ''वेबसाइटका लागि शेयरिङ सर्भर थियो । वैशाखदेखि छुट्टै सर्भर बनाउने योजनामा थियौं । अहिले नै बनाउनु पर्ने भयो,'' उनले भने ।

यो घटनाबाट आफूहरू धेरै सावधान भएको समेत उनले सुनाएका छन् । ''वेबसाइटको नियमित सुरक्षा अडिट भएको थिएन । अब त्यसतर्फ पनि काम गर्नेछौं,'' उनले भने ।

साथै उनले वेबसाइट ह्याकिङ घटनामा संलग्नमाथि त्रिवि र साइबर ब्यूरोले आवश्यक छानबिन गरिरहेको पनि बताए ।

मंगलबार बेलुकी पनिकाको वेबसाइट हयाक गरी ह्याकरले उक्त वेबसाइट आफ्नो फेसबुक अकाउन्टमा रिडाइरेक्ट गराएको पाइएको थियो । 

पछिल्लो अध्यावधिक: माघ १८, २०८० १५:३२