close

आरबीआईको आदेशले बन्द हुँदै पेटीएम पेमेन्ट बैंक, भारतको फिनटेकमाथि ठुलो धक्का

टेकपाना टेकपाना

माघ १९, २०८० १२:४६

आरबीआईको आदेशले बन्द हुँदै पेटीएम पेमेन्ट बैंक, भारतको फिनटेकमाथि ठुलो धक्का

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) ले पेटीएम पेमेन्ट बैंकमाथि रोक लगाउने घोषणा गरेको छ । पेटीएमका अधिकांश सेवा २९ फेब्रुअरीदेखि बन्द हुने गरी आरबीआईले बुधबार यस्तो निर्णय लिएको हो ।

आरबीआईका अनुसार पेटीएमले बारम्बार नियमहरू उलङ्घन गरेका कारण यस्तो फैसला लिइएको हो । आरबीआईको यो घोषणासँगै पेटीएमको शेयरमा भारी गिरावट देखिएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिनमा कम्पनीको शेयर मूल्य ४० प्रतिशतले घटेको छ । शुक्रबार पेटीएमको शेयर ४८७ भारुमा कारोबार भइरहेको छ, जुन एक वर्षयताकै सबैभन्दा न्यून हो ।

भारतको डिजिटल भुक्तानी बजारमा पेटीएमको हिस्सा १६/१७ प्रतिशत रहेको छ । यस्तोमा रिजर्व बैंकको आदेशका कारण करोडौं मानिसहरू प्रभावित हुन सक्छन् ।

आरबीआईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, "पेटीएमको अडिट रिपोर्ट र बाह्य अडिटरको रिपोर्टमा पेटीएमले लगातार रूपमा नियमहरू उलङ्घन गरेको पाइएको छ । त्यसैले बैंकिङ नियमन ऐनको ३५ (ए) नियम अनुसार फेब्रुअरी २९ पश्चात् पेटीएम पेमेन्ट बैंक ग्राहकमा कुनै पनि क्रेडिट डिपोजिट, कारोबार, वालेट, फास्ट ट्यागको प्रयोग गर्न सक्ने छैन ।"

पेटीएमले आफ्ना ग्राहकको ब्यालेन्स निकाल्न र त्यसको प्रयोग गर्ने पूर्ण सुविधा दिनुपर्ने विषय समेत विज्ञप्तिमा उल्लेख छ । "यी सुविधा ती ग्राहकहरूका लागि समेत हुनेछ, जोसँग पेटीएम सेभिङ र करेन्ट अकाउन्ट छ अथवा जसले फास्ट ट्याग प्रयोग गर्दछन्," भारतको केन्द्रीय बैंकले भनेको छ ।

यसको अर्थ २९ फेब्रुअरी पश्चात् पेटीएम पेमेन्ट बैंक लिमिटेडका ग्राहकले यसको प्रयोग गर्न पाउने छैनन् र आरबीआईले पेटीएमलाई १५ मार्चसम्म नोडल अकाउन्ट सेटल गर्न समेत भनेको छ ।

 

के छ पेटीएमको प्रतिक्रिया ?

पेटीएमको मातृ कम्पनी वन९७ कम्प्युनिकेसनले पेटीएम पेमेन्ट बैंक आरबीआईको निर्देशन पालना गर्नका लागि काम चलिरहेको जनाएको छ । उसले भनेको छ, "एक पेमेन्ट कम्पनी भएको नाताले वन ९७ केवल पेटीएम पेमेन्ट बैंक मात्र नभई कयौं बैंकसँग मिलेर काम गर्छ । हामी यो प्रक्रियालाई तीव्र बनाइरहेका छौं र जबदेखि रोक लागु हुनेछ, तबसम्म हामी पूर्ण रूपमा आफ्ना साझेदार बैंकमा निर्भर भइसक्ने छौं ।"

भविष्यमा वन९७ पेटीएमको साटो अन्य बैंकसँग मिलेर काम गर्ने उल्लेख छ ।

 

के हो पेटीएम पेमेन्ट बैंक ?

पेटीएम अन्तर्गत तीन प्रकारका सेवा छन्, पेटीएम पेमेन्ट बैंक, पेटीएम वालेट र यूपीआई । पेटीएम पेमेन्ट बैंकमा केवल रकम जम्मा गर्न सकिन्छ । तर यसले ऋण दिन भने पाउँदैन ।

त्यस्तै डेबिट कार्ड जारी गरेपनि क्रेडिट कार्ड जारी गर्नका लागि कुनै लेन्डर नियामकसँग सौदाबाजी गर्नुपर्ने हुन्छ । साधारण अर्थमा यो एउटा यस्तो बैंक अकाउन्ट हो, जसमा पैसा राख्न सकिन्छ ।

त्यसबाट साधारणतया मर्चेन्टहरूलाई भुक्तानी गर्न सकिन्छ । यसरी भुक्तानी गर्दा मर्चेन्टको पेटीएम अकाउन्ट हुँदै उनीहरूको बैंक खातामा रकम ट्रान्सफर हुन्छ । त्यसआधारमा पेटीएम आफ्ना ग्राहकलाई क्रेडिट प्वाइन्ट दिन्छ ।

पेटीएमको मातृ कम्पनी वन९७ सँग प्रिपेड पेमेन्ट इन्ट्रुमेन्ट (पीपीआई) को लाइसेन्स रहेको छ, सोही लाइसेन्स अन्तर्गत सन् २०१७ मा पेटीएम पेमेन्ट बैंक सुरु भएको हो ।

 

ग्राहकको वालेट र यूपीआईमा कस्तो असर पर्ला ?

२९ फेब्रुअरीसम्म पेटीएमका सबै सेवा सामान्य तवरमा चल्नेछन् । त्यसपछि पेटीएम वालेट र यूपीआई सेवा प्रयोग गर्ने ग्राहकका लागि केही परिवर्तन हुनेछ । पेटीएम वालेटमा रकम भएका ग्राहकले त्यसलाई अन्यत्र ट्रान्सफर गर्न सक्नेछन् ।

तर वालेटमा थप रकम भने जम्मा गर्न सकिने छैन । यद्यपि कुनै थर्ड पार्टी बैंकसँग आफ्नो पेटीएम अकाउन्ट लिङ्क गरेका ग्राहकले पेटीएम वालेट र यूपीआई पेमेन्ट प्रयोग गर्न सक्नेछन् ।

तर पेटीएम बैंकसँग लिंक गरिएका वालेटका प्रयोगकर्ताले भने उक्त सुविधा पाउने छैनन् । २९ फेब्रुअरी पश्चात् भने बैंक अकाउन्ट र वालेट दुवैमा पेटीएमबाट रकम प्राप्त गर्न सकिने छैन ।

 

के हो फास्टट्याग ?

भारत सरकारको नियम अनुसार सबैजसो कारको अगाडि विन्डशिल्डमा फास्टट्याग राखिएको हुन्छ । फास्ट ट्याग एक विद्युतीय टोल सङ्कलन प्रणाली हो, जसको सञ्चालन त्यहाँको नेसनल हाइवे अथोरिटी अफ इन्डियाले गर्छ ।

हरेक टोल बुथमा प्रिपेड वालेटको माध्यमबाट टोल शुल्क बुझाउन सकिन्छ । तर आरबीआईको फैसलासँगै आगामी १ मार्चदेखि पेटीएमको फास्ट ट्याग सेवामा बाँकी रहेको आफ्नो रकम प्रयोग गर्न त सकिनेछ । तर त्यसमा थप रकम भने राख्न मिल्ने छैन ।

 

त्यहाँका व्यवसायले पेटीएम मार्फत भुक्तानी लिन सक्लान् ?

हाल पेटीएम पेमेन्ट बैंक अकाउन्टमा रकम प्राप्त गर्ने भारतका पसल व्यवसायले त्यसैगरी भुक्तानी लिन सक्ने छैनन् । किन भने उक्त अकाउन्टमा क्रेडिट अर्थात् रकम जम्मा गर्न अनुमति नै हुने छैन ।

तर अन्य कम्पनीका क्यूआर स्टिकर भएका व्यापार व्यावसायले भने भुक्तानी लिन सक्छन् ।

 

भारतको फिनटेक बजारमा कस्तो असर पर्ला ?

आरबीआईको यस प्रकारको कारबाहीले फिनटेक क्षेत्र नै समाप्त पार्ने प्रतिक्रिया भारत पेका संस्थापक अशनीर ग्रोभरले दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भनेका छन्, "मैले बुझ्नै सकिरहेको छैन, स्पष्ट रूपमा आरबीआई फिनटेको व्यवसाय नै चाहँदैन । यस प्रकारका गतिविधिले यो क्षेत्र समाप्त हुनेछ । अर्थ मन्त्रालय, अर्थ मन्त्री र प्रधानमन्त्रीले यो मामिलामा हस्तक्षेप गर्न आवश्यक छ । आज आईआईएम-आईआईटी आफ्ना छात्रछात्राहरूलाई रोजगारी दिन सङ्घर्ष गरिरहेका छन् । यस प्रकारको हद पार गर्ने कार्य देशका लागि राम्रो होइन । दुनियाँमा यूपीआईको बखान गर्नु र त्यसको सुरुवात गर्नेहरूलाई सजाय दिनु ठीक होइन ।"

त्यस्तै बैंकहरूलाई डिजिटल वित्तीय सेवा दिने कम्पनी प्लुटोनका सहसंस्थापक रजत गुलाटीले बीबीसीसँग भनेका छन्, "यसबाट आरबीआईले फिनटेक कम्पनीहरूलाई यो सन्देश स्पष्ट रूपमा दिएको छ कि नियमनबाट जोगिनु असम्भव छ । यदि तपाईंहरू पेमेन्टसँग सम्बन्धित सेवा दिइरहनु भएको छ भने प्रयोगकर्ताको अधिकार रक्षा गर्नका लागि जो नियम बनेका छन्, ती तोड्न पाउनु हुन्न । मार्च २०२२ मा आरबीआईले पेटीएम पेमेन्ट बैंकमाथि नयाँ ग्राहक जोड्न रोक लगाएको थियो । अहिले गहिरो छानबिन तथा बाह्य अडिटरहरूको रिपोर्ट आएको छ, जसमा नियमहरू उलङ्घन गरेको विषय स्पष्ट भएपछि आरबीआईले यो फैसला लिएको हो ।"

"यसबाट फिनटेक बजारमा के हुनेछ भने जो कम्पनी नियमसम्मत रूपमा काम गरिरहेका छन्, उनीहरूका लागि आरबीआईको यो फैसलाले एक स्वीकृतिको रूपमा काम गर्नेछ । र यसबाट ग्राहकलाई पनि उनीहरूको हितको रक्षाका लागि आरबीआई उपस्थित छ भन्ने लाग्नेछ । हुन त एक दुई दिन यो विषयमा चर्काचर्की होला, तर अब यो फैसलाले लामो समयका लागि यो बजारमा स्थिरता र सुधार ल्याउनेछ ।"

 

पेटीएमका शेयरधनी लगानीकर्ता तनावमा

आरबीआईले पेटीएमलाई आदेश दिएयता कम्पनीको शेयरको मूल्य तीव्र रूपमा घटिरहेको छ, जुन अझै घट्ने बताइन्छ । यसबाट कम्पनीका शेयरधनीलाई असर पर्ने कुरा निश्चित छ ।

पेटीएमका तीन अङ्ग छन् र त्यसमध्ये एक अङ्ग बन्द हुने भइसकेपछि त्यसको असर समेत ठूलो हुनेछ । तर कम्पनीको सबैभन्दा महत्त्वपूर्ण सेवा पेटीएम वालेट र यूपीआई जारी रहेको खण्डमा शेयरको गिरावट रोकिन्छ कि रोकिन्न भन्ने कुरा भने आगामी दिनमा देखिनेछ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १२:४६