काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रममार्फत मेयर चिरीबाबु महर्जनले एलएमसी अलर्ट नामक मोबाइल एप सुरु गरेका हुन् ।
यो मोबाइल एपबाट प्रयोगकर्ताले महानगरलाई विभिन्न अलर्ट तथा गुनासो टिपाउन सकिने बताइएको छ । एप खोलेर तीन पटक ट्याप गर्दा महानगर भित्रका कुनै पनि समस्या, विपद् वा गुनासो सोझै महानगर प्रहरीको कन्ट्रोल रूमसम्म पुग्ने दाबी गरिएको छ ।
यस्तै एम्बुलेन्स, दमकल, शव बाहन आवश्यक पर्दा समेत एपमार्फत् नै अनुरोध गर्न सकिनेछ । यसबाहेक सडक बत्ती बिग्रिएको, ढल फुटेको, कालोबजारी, स्वीकृति बिना निर्माण भइरहेका संरचना, फुटपाथ व्यापार, अनधिकृत विज्ञापन, सार्वजनिक जग्गा अतिक्रमण जस्ता गुनासो तथा उजुरी पनि एपबाटै टिपाउन सकिनेछ ।
इन्टरनेट नभएको अवस्थामा पनि एपले एसएमएस मार्फत महानगरसम्म सूचना पुग्ने बताइएको छ ।
महानगरपालिका भित्रका समस्या छिटो छरितो रूपमा सम्बोधन गर्न यो मोबाइल एपले सहयोग पुर्याउने विश्वास लिइएको छ । एन्ड्रोइडका लागि यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।