close

त्रिविले भन्यो- ‘भौतिक उपस्थितिमै पठनपाठन गर्नू, अनलाइन कक्षा नलिनू

टेकपाना टेकपाना

माघ २१, २०८० १०:१२

त्रिविले भन्यो- ‘भौतिक उपस्थितिमै पठनपाठन गर्नू, अनलाइन कक्षा नलिनू

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतको डीन कार्यालयले अनलाइनबाट पठनपठान सम्बन्धमा कुनै व्यवस्था नभएको भन्दै भौतिक उपस्थितिमै पठनपाठन गर्न निर्देशन दिएको छ । आफू मातहतका कतिपय विभाग/क्याम्पस/कलेजले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने भन्दै भर्ना सम्बन्धी सूचना प्रकाशित गरेपछि डीन कार्यालयले त्रिविमा यस्तो व्यवस्था नभएको बताएको हो ।

हालै एक सूचना जारी गर्दै डीन कार्यालयले सत्रान्त प्रणाली अनुसार सञ्चालित स्नातकोत्तर (एमए), अधिस्नातक (पीजीडी) र स्नातक (बीए/बीसीए/बीएसडब्लू) तहका शैक्षिक कार्यक्रमहरू सेमेस्टर प्रणाली सञ्चालन कार्यविधि, २०७४ अनुसार भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था भएको स्पष्ट पारेको छ ।

‘अनलाइन कक्षा सञ्चालन सम्बन्धमा डीन कार्यालयबाट कुनै निर्णय नभएको र यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्यम (अनलाइन) को प्रविधिबाट गरिने कक्षा सञ्चालन एवं खुला तथा दूरशिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०७७ अनुसारको प्रक्रिया पूरा नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन नगर्नु नगराउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

सूचनामा अगाडि भनिएको छ, ‘यदि कहीं कतैबाट अनलाइन कक्षा सञ्चालन भए गरेको पाइएमा त्यस्ता विभाग क्याम्पसरकलेज नै जिम्मेवार हुने र त्यसरी अध्ययन गरेका विद्यार्थीहरूको सत्रान्त परीक्षा सञ्चालन गर्न डीन कार्यालय बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ 

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १०:१२