close

टेरामोक्स ल्याउँदा र रोक्दा दुवैमा पैसा खाने काम भयोः राप्रपा अध्यक्ष लिङ्देन

टेकपाना टेकपाना

माघ २४, २०८० १६:४

टेरामोक्स ल्याउँदा र रोक्दा दुवैमा पैसा खाने काम भयोः राप्रपा अध्यक्ष लिङ्देन

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) ल्याउँदा र रोक्दा दुवैमा पैसा खाने काम भएको आरोप लगाएका छन् । ​बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले  टेरामोक्स नेपालका लागि उपयोगी भएपनि यसमा भ्रष्टाचार भएको जिकिर गरे । 

“प्रविधि भित्र्याउनमा नै भष्ट्राचार भयो भनेर कयौं वर्षदेखि नेपालमा टेरामोक्स प्रविधि भित्र्याउनबाट रोक लगाइएको छ,” उनले भने, “यसबाट ल्याउने काममा पनि खाने र त्यो रोकेबापत पनि खाने काम भएको बुझ्न सकिन्छ । यो भन्दा अर्को लुटतन्त्र अरू के हुन सक्छ ?”

दूरसञ्चार कम्पनीको सेवा गुणस्तरीय र ग्राहकमैत्री भए नभएको टेरामोक्सले थाहा दिने उनको भनाइ थियो । “अहिले दूरसञ्चार सम्बन्धी सेवा प्रदायक संस्थाहरूले जुन सेवा दिन्छौं भनेका छन्, त्यो गुणस्तरको सेवा दिएका छन्/छैन? हामीले जुन सेवा प्राप्त गर्यौं भनेर रकम तिर्छौं, त्यो बराबरको सेवा प्राप्त गरेका छौ/छैनौ?,” उनले भने, “यो सबै कुरा थाहा पाउने यन्त्र नै टेरामोक्स हो ।” 

पछिल्लो अध्यावधिक: माघ २४, २०८० १६:४