close

प्रविधिमा रुचि राख्नु हुन्छ ? हेर्नुहोस् यी १० चलचित्र

टेकपाना टेकपाना

माघ २७, २०८० १९:४०

प्रविधिमा रुचि राख्नु हुन्छ ? हेर्नुहोस् यी १० चलचित्र

काठमाडौं । द्रुत गतिको आजको संसारमा प्रविधि मानव जीवनबाट अलग हुन नसक्ने निश्चित छ । मानिसले सञ्चार गर्ने, काम गर्ने र मनोरञ्जन गर्ने तरिकालाई प्रविधिले परिवर्तन गरेको छ ।

यदि तपाईं प्रविधिमा रुचि राख्ने अथवा चलचित्र मन पराउने व्यक्ति हुनुहुन्छ भने यो लेख तपाईंका लागि उपयुक्त छ । प्रविधिलाई मुख्य विषयवस्तु बनाएर बनाइएका राम्रा १० ओटा चलचित्रको सूची तयार पारेका छौं । यी चलचित्रले मनोरञ्जन दिने मात्र नभइ प्रविधिको संसार र समाजमा यसको प्रभावको बारेमा बुझ्ने मौका दिन्छन् ।

१. द सोसल नेटवर्क, २०१० (The Social Network)

यो चलचित्र तपाईं हामीले नै चलाउने फेसबुकसँग सम्बन्धित छ । मार्क जुकरबर्गले कसरी फेसबुक बनाए भन्ने ‍कथा यस चलचित्रले देखाएको छ । सामाजिक सञ्जालको संसार अथवा प्रविधिलाई लिएर बन्ने महत्वाकांक्षाका कारण उत्पन्न हुने व्यक्तिगत र नैतिक दुविधाबारे कथा केन्द्रित छ । 

बेन मेजरिचले २००९ मा लेखेको पुस्तक ‘द एक्सिडेन्टल बिलियनियर्स’ मा आधारित यस चलचित्र डेभिड फिन्चरले निर्देशन गरेका हुन् । चलचित्रमा जेसी आइजेनबर्ग, एन्ड्रयू गारफिल्ड, जस्टिन टिम्बरलेक लगायतका कलाकारकाे अभिनय छ । तर यो चलचित्र बनाउने परियोजनामा न त जुकरबर्ग, न त फेसबुकका अन्य कर्मचारीहरू नै ​संलग्न थिए । 

२. द पाइरेट्स अफ सिलिकन भ्याली, १९९९ (The Pirates of Silicon Valley)

सन् १९९९ मा रिलिज भएको द पाइरेट्स अफ सिलिकन भ्याली’ एक बायोग्राफिकल ड्रामा हो । मार्टिन बर्कले निर्देशन गरेको यस चलचित्रले एप्पल, माइक्रोसफ्ट जस्ता सफ्टवेयर कम्पनीहरू कसरी सफल भए भन्ने पाटो देखाउँछ ।

यसमा एप्पलका स्टिभ जब्स र माइक्रोसफ्टका बिल गेट्सले पर्सनल कम्प्युटर बनाउनेबारे कसरी सोचे भन्ने कुरा देखाइएकाे छ, जुन कम्प्युटर आजभोलि अधिकांशले प्रयोग गर्छन् । 

३. द इन्टर्नशिप, २०१३ (The Internship)

२०१३ मा रिलिज भएको ‘द इन्टर्नशिप’ कमेडी चलचित्र हो । शान लेवीले निर्देशन गरेको यो चलचित्रले जागिरबाट भर्खरै निकालिएका दुई ठूला सेल्सम्यानहरू गुगलमा इन्टर्नशिपका लागि गएको कथा भन्छ ।

गुगलमा उनीहरूले आफूहरूभन्दा कान्छा, प्रतिभावान् र दक्ष युवा समूहसँग प्रतिस्पर्धा तथा काम गर्नुपर्ने हुन्छ । त्यस समयमा के के हुन्छ भन्ने कुरामा नै कथा अघि बढ्छ । प्राविधिक सीप सिक्नका लागि आफू बुढो भइसकेँ भनेर सोच्नेहरूका लागि यो चलचित्र सन्देशमूलक हुन सक्छ ।

४. द इमिटेसन गेम, २०१४ (The Imitation Game)

दोस्रो विश्वयुद्धको क्रममा गणितज्ञ एलन ट्युरिङ (बेनेडिक्ट कम्बरब्याच) ले एक टोलीलाई जर्मन एनिग्मा कोड क्र्याक गर्न नेतृत्व गरेकाे कथा यस चलचित्रमा छ । मोर्टेन टिल्डमले निर्देशन गरेको यो चलचित्र एन्ड्रयू होजेसद्वारा लिखित ‘एलन ट्युरिङ: द एनिग्मा’ जीवनीमा आधारित छ ।

त्यस्तै चलचित्रले एलजीबीटी ( LGBTQ+) समुदायको कथा पनि सँगै भनेको छ । त्यस समयमा क्षमता हुँदा पनि अल्पसंख्याक समुदायका कारण भोग्नुपरेका पीडा यस चलचित्रले देखाएको छ । 

५. ब्लेड रनर, १९८२ (Blade Runner)

सन् १९८२ मा निर्माण भएको यो चलचित्र रिडले स्कटले निर्देशन गरेका हुन् । यो चलचित्र एक्सन-प्याक मात्र नभइ पहिचान, नैतिकता र प्रविधिको सेरोफेरोमा बनेको छ । अर्थात् विज्ञानमा आधारित चलचित्र हो याे । 

चलचित्रमा २०१९ ताकाको लस एन्जलसको कथा देखाइएको छ । चलचित्रमा रिक डेकार्ड मुख्य पात्र हुन्छन् । जो पूर्व सेना हुन् । हिंस्रक एन्ड्रोइडहरूको समूहलाई मार्न उनी एक विशेष एजेन्ट बन्छन् । चलचित्रको बाँकी कथा त्यही घटनामा केन्द्रित छ ।

६. वार गेम्स, १९८३ (WarGames)

१९८३ मा बनेको वार गेम्स अमेरिकी टेक्नो-थ्रिलर चलचित्र हो, जसलाई जोन बाधमले निर्देशन गरेका छन् । चलचित्रले गल्तिवश सैनिकको सुपर कम्प्युटर ह्याक गर्न पुगेको एउटा युवाको कथा भन्छ । 

कम्प्युटर ह्याकिङ, सूचना प्रविधि, साइबर सुरक्षाको अवधारणालाई अमेरिकामा लोकप्रिय बनाउन यो चलचित्रले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । त्यस्तै चलचित्रले युद्धमा प्रविधिको प्रभाव र जिम्मेवार प्रयोगको महत्त्वबारे प्रश्न खडा गर्न सफल भएको छ ।

७. एक्स मेशिना, २०१४ (Ex Machina)

२०१४ मा रिलिज भएको एक्स मेशिना साइन्स फिक्सन तथा मनोवैज्ञानिक चलचित्र हो । एलेक्स गारल्याण्डले निर्देशन गरेको चलचित्रले राम्रो जीवन जिउन मानिसले आर्टिफिसियल इन्टेलिजेन्स लगायतका प्रविधि प्रयोग गरेको देखाएको छ ।

कथा भने एक जना प्रोग्रामरको वरिपरि घुम्छ, जो निकै विकसित मानवीय एआईसँग अन्तरक्रिया गर्न सक्छ । समग्रमा चलचित्रले एआईको अवधारणा र यसले पार्ने नैतिक दुविधाहरूको पाटो देखाउँछ ।

८. म्याट्रिक्स, १९९९ (the Matrix)

सन् १९९९ मा रिलिज भएको द म्याट्रिक्स साइन्स फिक्सन चलचित्र हो । वाचोव्स्कीद्वारा निर्देशित चलचित्र एक कम्प्युटर प्रोग्रामरकाे वरपर घुम्छ । उ सहित अन्य मानिसहरूलाई म्याट्रिक्स भनिने सिमुलेटेड रियालिटीमा मसिनहरूले नियन्त्रणमा राखेका हुन्छन् ।

तर एक दिन उसले आफ्नो जीवन भ्रम भएको तथा वास्तविक संसार मानिस र मेसिनबीचको युद्धले ध्वस्त भएको थाहा पाउँछ । त्यसपछि उसले के गर्छ भन्ने घटनामा चलचित्रको कथा बढेको छ ।

९. हर, १०१३ (Her) 

हर, २०१३ मा रिलिज भएको अमेरिकी साइन्स फिक्सन तथा रोमान्टिक ड्रामा चलचित्र हो । स्पाइक जोन्जेको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र धेरैले मन पराएका छन् । 

चलचित्रमा भविष्यबारे देखाइएको छ, जहाँ मानिसहरूले एआईसँग भावनात्मक सम्बन्ध बनाउने गर्छन् । तर ‍प्रविधिमय संसारमा मानव सम्बन्धको सीमा कति भन्नेबारे चलचित्रले सोच्न बाध्य समेत पार्छ ।

१०. जब्स, २०१३ (Jobs)

यो फिल्म २०१३ मा रिलिज भएको थियो । यो बायोग्राफिकल ड्रामा फिल्म हो । जोशुआ माइकल स्टर्नको निर्देशन रहेको चलचित्र एप्पलका सहसंस्थापक स्टिभ जब्ससँग सम्बन्धित छ । चलचचित्रमा जब्सको विद्यालय जीवनदेखि आइपडको आविष्कारसम्मको कथा देखाइएको छ ।

स्टिभ जब्स संसारभरका प्रोग्रामरका ‍लागि प्रेरणा बनेका छन् । त्यो अर्थमा यो चलचित्र वास्तवमै प्रेरणादायी छ । चलचित्रले जब्सको सफलताको कथा मात्र देखाएको छैन । बरु संसार परिवर्तन गर्ने जब्सको दृष्टिकोण र प्रेरणा समेत देखाएको छ ।

यी बाहेक थुप्रे चलचित्र छन्, जो प्रविधिसँग सम्बन्धित छन् । द क्रियटर (२०२३), स्पेस ओडिसी (१९६८), टर्मिनेटर (१९८४), एआई आर्टिफिसियल इन्टेलिजेन्स (२००१), ह्याकर (१९९५), रोबोट एन्ड फ्य्रान्क (२०१२), गुगल एन्ड द वर्ड ब्रेन (२०१३) प्रविधिसँग सम्बन्धित केही राम्रा चलचित्र हुन् । 

यो पनि पढ्नुहोस् 

प्रविधि क्षेत्रलाई नजिकबाट अध्ययन गर्न चाहनुहुन्छ ? उपयोगी हुन सक्छन् यी ९ पुस्तक

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १२:१४