close

निर्वाचन आयोग र टेलिकमको कमजोरीले भोटर आईडी र सिम अर्कैको हातमा, अनि खाताबाट चोरियो ७२ हजार

टेकपाना टेकपाना

माघ २९, २०८० २१:४२

निर्वाचन आयोग र टेलिकमको कमजोरीले भोटर आईडी र सिम अर्कैको हातमा, अनि खाताबाट चोरियो ७२ हजार

काठमाडौं ।  २३ माघ २०८० को कुरा हो, बित्थडचिर गाउपालिका वडा नम्बर १ देउलेकमा पसल सञ्चालन गर्दै आएका मोहनबहादुरको सिम एक्कासी बन्द भयो । छिनमै मोबाइल बैंकिङ एपको पासवर्ड रिसेट गरेको देखियो । 

सिम कार्ड अर्कैले निकालेर खाताबाट रकम समेत झिकिएको सङ्केत पाएपछि भोलिपल्ट अर्थात् २४ माघमा उनी उजुरी दिन बझाङको प्रहरी कार्यालय पुगे । सिम लिने टेलिकम कार्यालय नजिकैको सिमावर्ती जिल्ला डडेल्धुरा रहेको भन्दै उनलाई सोही जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन भनियो । मोहनबहादुरले पनि त्यहीं गएर उजुरी दर्ता गरे । उजुरी दिएपछि जिप्रका डडेल्धुराले सोही जिल्लामा भएको टेलिकम कार्यालयमा सम्पर्क गर्‍यो । 

“पीडितबाट निवेदन आएपछि हामीले टेलिकम कार्यालयमा गएर त्यहाँको सीसीटीभी फुटेज जाँच गर्‍यौं,” जिप्रका डडेल्धुराका डीएसपी दीपककुमार कार्की कार्कीले भने, “त्यसमा मास्क लगाएका एक व्यक्तिले सिमकार्ड निकालेर लगेको देखियो । त्यसबाट मान्छे भने चिनिएको थिएन ।”

अुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । शुक्रबार बझाङकै वित्थडचिर गाउँपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय इन्जिनियर धनबहादुर बोहरालाई पक्राउ प्रहरीले गरेको हो । उनीमाथि कागजात दुरुपयोग गरी नक्कली सिमकार्ड निकालेर रकम चोरी गरेको आरोप छ ।

 

कसरी निकालियो अर्काको नाममा रहेको सिम कार्ड ?

सोही गाउँपालिकामा प्राविधिक सहायक रहेका बोहराले निर्वाचन आयोगको वेबसाइटबाट पीडित मोहनबहादुरको मतदाता परिचयपत्रको फोटो डाउनलोड गरेको बताइएको छ । आयोगको वेबसाइटमा देशभरका सबै मतदाताको नाम, उमेर, मतदाता परिचयपत्र, बुबाआमाको नाम, लिङ्ग र पतिपत्नीको नाम जोसुकैले हेर्न सकिने गरी राखिएको छ । 

उमेर थाहा भइसकेपछि जन्ममिति अनुमान गर्न धेरै मेहनत गरिरहनै पर्दैन । सामाजिक सञ्जालमा व्यक्त गरिने जन्मदिनका शुभकामनाले यसलाई अझ सजिलो बनाइदिएको छ । जन्म मिति खुलाउने बित्तिकै आयोगको वेबसाइटबाट मतदाता परिचयपत्र डाउनलोड गर्न मिल्छ ।  

थर एउटै भए पनि पसल सञ्चालक र धनबहादुरबीच त्यस्तो कुनै नाता सम्बन्ध भने छैन । मोहनबहादुर सोही गाउँपालिकामा पसल सञ्चालन गर्दै आएकाले धनबहादुरले उनलाई नजिकबाट चिनेका थिए । 

प्रहरीका अनुसार उनले गत मङ्गलबार आयोगको वेबसाइटबाट उक्त मतदाता परिचयपत्रको फोटो डाउनलोड गरिएको थियो । त्यसको फोटोकपी लिएर उनी नजिकै रहेको सिमावर्ती जिल्ला डडेल्धुराको नेपाल टेलिकम कार्यालय पुगे ।

“मोहनबहादुर पसले भएपछि धनबहादुरले पक्कै पनि उनको वालेट र बैंक खातामा पैसा छ भन्ने सोचेर आयोगको वेबसाइटबाट मतदाता परिचयपत्रको फोटो डाउनलोड गरेको देखिन्छ,” टेकपानासँग कुरा गर्दै डीएसपी कार्कीले भने, “पसल सञ्चालन गर्दै आएकाले पीडितको सम्पर्क नम्बर पनि सजिलै पाएछन् ।” 

त्यसपछि टेलिकम कार्यालयमा आरोपित धनबहादुरले आफ्नो सिमकार्ड हराएको भन्दै मोहनबहादुरको मतदाता परिचयपत्रको फोटोकपी बुझाए । टेलिकम कार्यालयले पनि उनलाई सोही नम्बरको सिमकार्ड दियो । 

उनले उक्त सिमकार्ड लिएपछि त्यसबाट खोलिएको बैंक अकाउन्ट र वालेटमा पहुँच पाए । त्यसपछि उनी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारमा रहेको मित्र मोबाइल ग्यालरी गए । 

“उहाँले म ईसेवा र मोबाइल बैंकिङ एपबाट रकम ट्रान्सफर गरिदिन्छु, मलाई नगद दिनु भनेर मोबाइल पसलेलाई भन्नु भएछ,” डीएसपी कार्कीले अगाडि भने, “पसलेले नगद नदिने, तर सामान लिने भए मिल्ने कुरा गर्नु भएछ ।”

त्यसपछि आरोपित धनबहादुरले ७० हजार रुपैयाँ बराबरको एनसेल र नमस्तेको रिचार्ज कार्ड र बाँकी दुई हजार १०० रुपैयाँ नगद लिएर गएको बताइएको छ । 

अहिले धनबहादुरमाथि ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत डडेल्धुराबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो ठगीमा निर्वाचन आयोग र नेपाल टेलिकमको कमजोरी पुनः एकपटक सतहमा आएको छ ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८० २१:४२