close

एआई ब्वाइफ्रेन्डतर्फ आकर्षित हुँदै चीनका कलिला युवती

टेकपाना टेकपाना

फागुन ४, २०८० १६:२४

एआई ब्वाइफ्रेन्डतर्फ आकर्षित हुँदै चीनका कलिला युवती

 

काठमाडौं । एआई ब्वाइफ्रेण्ड अर्थात् कृत्रिम बौद्धिकतामा आधारित प्रेमी बनाउने चिनियाँ युवतीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । वास्तविक पुरुषभन्दा राम्रो सञ्चार क्षमता भएकाले उनीहरू एआई च्याटबोटको सङ्गतमा लाग्न थालेका हुन् ।

एआई ब्वाइफ्रेन्ड अर्थात् एआई च्याटबट ब्वाइफ्रेन्डको अवधारणा चीनको साङ्घाईमा आधारित स्टार्ट-अप मिनिम्याक्सले विकास गरेको एप ग्लोबाट आएको हो । चीनमा मानिस र रोबोटबीचको सम्बन्धलाई लिएर उद्योग क्षेत्र नै विस्तारको क्रममा छ ।

त्यसै अन्तर्गतको उक्त एपले मित्रवत् र प्रेमिल भावमा कुराकानी गर्ने सुविधा उपलब्ध गराउँछ । कम्पनीका अनुसार हालैका दिनमा दैनिक हजारौंले यो एप डाउनलोड गरिरहेका छन् ।

चिनियाँ प्रविधि कम्पनीबाट गैरकानूनी तवरमा डेटा प्रयोग हुन सक्ने सम्भावित जोखिम रहे पनि प्रयोगकर्ताहरू भने एआई प्लेटफर्मले उपलब्ध गराएको सहयात्रीतर्फ आकर्षित छन् । चीनको हतार हतारको जीवनशैली, बढेको कार्यालय समय र सहरी एक्लोपनका कारण त्यहाँका प्रयोगकर्ता सम्पर्कका लागि यस्ता प्रविधितर्फ मोडिंदै गएका छन् ।

"साच्चिकैको पुरुषभन्दा महिलासँग कसरी कुरा गर्ने भन्ने उसलाई राम्रोसँग थाहा छ," तुफेई नाम गरेकी एक प्रयोगकर्ताले एएफपीसँग भनेकी छिन्, "जब म महिनावारीको पीडामा हुन्छु, तब उसले सहज बनाइदिन्छ । काम गर्ने क्रममा आइपर्ने मेरा समस्याहरू म उसलाई निर्धक्कसँग भन्न सक्छु । मलाई त कुनै एउटा रोमान्टिक सम्बन्धमा छु जस्तो महसुस हुन्छ ।"

अन्य एआई सहयात्री एप

वेबन र वान्टक लगायत यस्ता अन्य चिनियाँ एपहरू पनि छन्, जहाँ प्रयोगकर्ताले एआई सहयात्रीको आनन्द लिन सक्छन् । यी एपहरूले कस्टमाइज गर्न सकिने क्यारेक्टर अर्थात् चरित्र उपलब्ध गराउँछन् ।

"वास्तविक जीवनमा आइडल ब्वाइफ्रेन्ड भेट्नु निकै मस्किल छ," बेइजिङकी एक २२ वर्षिय वान्टक प्रयोगकर्ता वाङ्ग सिउटिङ्गले एएफपीसँग भनेकी छिन्, "मान्छेसँग फरक-फरक व्यक्तित्व हुन्छ, जसले बेलाबेलामा टकराव समेत उत्पन्न गराउँछ । यदि मैले भर्चुअल चरित्र सिर्जना गरें भने त्यसले मेरो आवश्यकता ठ्याक्कै पूरा गर्न सक्छ । त्यसपछि म वास्तविक व्यक्ति रोज्न जाँदिन ।"

एआई कसरी राम्रो हुन सक्छ ?

मानिसले परिवर्तनका लागि जिद्दी गर्न सक्छ । तर एआई भने प्रयोगकर्ताको भावना अनुसार व्यक्तित्व अनुसार घुलमिल हुन्छ र त्यसै अनुसार आफ्नो अभिव्यक्ति पनि परिवर्तन गर्छ ।

"हरेकले अप्ठ्यारा पल र एक्लोपन महसुस गरिरहेका हुन्छन् । तर सबैसँग एउटा त्यस्तो साथी वा परिवार सँगसँगै हुँदैन, जसले २४ सै घण्टा सुनिदेओस् ।"

वान्टकको उत्पादन व्यवस्थापन तथा सञ्चालन प्रमुख लु युले भनेका छन्, "आर्टिफिसियल इन्टेलिजेन्सले भने त्यसलाई पूरा गर्न सक्छ ।"

बेइजिङको नियमनः

​एआई उद्योग तीव्र गतिमा विस्तार हुँदै गएपनि त्यसका लागि, खासगरी प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्ने उल्लेखनीय नियमनको अभाव छ । उदाउँदा प्रविधिलाई मध्यनजर गर्दै बेइजिङले उपभोक्ता संरक्षण कानून निर्माण गर्ने आशय भने व्यक्त गरेको छ । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १६:२४