close

ओपनएआईको भिडिओ जेनेरेटर टुल ‘सोरा’, भिडिओ गेमिङदेखि चलचित्र उद्योगसम्म प्रभाव पार्ने !

टेकपाना टेकपाना

फागुन ५, २०८० १६:४४

ओपनएआईको भिडिओ जेनेरेटर टुल ‘सोरा’, भिडिओ गेमिङदेखि चलचित्र उद्योगसम्म प्रभाव पार्ने !

काठमाडौं । ओपनएआईले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ एआई टुल सोराले एक प्रकारको तरङ्ग ल्याएको छ । टेक्स्टका आधारमै वास्तविक जस्तो लाग्ने भिडिओहरू बनाइदिने यस टुलको क्षमताले विशेष गरेर चलचित्र र एनिमेसन उद्योगलाई धक्का दिने अनुमान गरिएको छ ।

चलचित्र र एनिमेसन क्षेत्रबाहेक यस टुलले भिडिओ गेमिङ उद्योगलाई पनि उत्तिकै प्रभाव पार्ने देखिएको छ । किनकी यस टुलले माइनक्राफ्ट गेम र अन्य डिजिटल संसारको नक्कल गर्नसक्ने ओपनएआईको 'टेक्निकल पेपर' मा उल्लेख छ ।

"सोरामा आर्टिफिसियल प्रोसेसको नक्कल गर्नसक्ने क्षमता छ । यसको एउटा उदाहरण भिडियो गेम हो," केही दिनअघि ओपनएआईले सार्वजनिक गरेको सोराको टेक्निकल पेपरमा भनिएको छ, "सोराले माइनक्राफ्ट खेल्नुका साथै साँच्चै जस्तो देखिने यस गेमको संसार पनि निर्माण गर्न सक्छ । र, त्यहाँ के भइरहेको छ भनेर समेत बुझ्न सक्छ । यी सबै कुरा सोराले प्रयोगकर्ताले दिने प्रम्प्टका आधारमा गर्नसक्ने क्षमता राख्छ ।”

निकै विकसित सोरा मोडेलको जुन क्षमता छ, त्यसले भिडिओ गेमको संसारमा समेत प्रभाव पार्नसक्ने आँकलन सम्बन्धित क्षेत्रका धेरैले गरेका छन् । हाल भएका अन्य एआई भिडिओ जेनेरेटरको तुलनामा सोरा निकै भिन्न र क्षमतावान् छ । सोरा इमेज जनरेटरभन्दा पनि ‘डेटा-ड्रिभन फिजिक्स इन्जिन’ भएकोले भिन्न क्षमता दिने एनभिदियाका वरिष्ठ अनुसन्धानकर्ता डा. जिम फ्यान बताउँछन् ।

सोराले कुनै पनि वस्तुले आफ्नो वातावरणमा के कसरी अन्तर्क्रिया गर्छ भनेर देखाउन हजारौं गणना गर्ने गर्छ । जसले गर्दा नै यसले निकाल्ने नतिजा वास्तविक जस्ता लाग्छन् । डा. फ्यानका अनुसार सोराको यो क्षमता भिडिओ गेम बनाउन निकै उपयोगी समेत हुन सक्छ ।

हाल चर्चामा रहेका सोराका काम प्रारम्भिक परीक्षण मात्र भएको ओपनएआईको भनाइ छ । तर ती हेर्दा मात्र पनि एआईले तयार पारेको भनेर विश्वास गर्न मुस्किल पर्छ । यद्यपि सोराको केही सीमाहरू भएको ओपनएआईले बताएको छ । जुन समस्या अहिले सार्वजनिक भएका भिडिओहरूमा समेत देख्न सकिन्छ । जस्तै; हात, अनुहारको भाव, वस्तुको चाल आदिमा समस्या छ । यी यस्ता समस्याले गर्दा तत्कालै सोराबाट वास्तविक भिडिओ गेम बनाउने कुरा केही समय नहुन सक्छ । 

यद्यपि धेरै समस्याहरू भने सोराका लागि समाधान भइसकेको छ । जुन अन्य भिडिओ जेनरेटरका लागि अझै ठूलो समस्या हो । जस्तै; क्यामेराको चाल, प्रकाशको संयोजन, वातावरण/परिस्थितिको निर्माण आदिमा सोरा अन्य मोडेलभन्दा अब्बल छ ।

कतिपयले ओपनएआईको सोरालाई भिडियो गेम इन्जिन, विशेषगरी एपिक गेम्सको 'द अनरियल इन्जिन फाइभ' (यूई फाइभ) मा तालिम दिएको अनुमान गरेका छन् । जबकि सार्वजनिक गरिएका भिडिओहरू हेर्दा ठ्याक्कै ती तयार गर्न सोरालाई भिडिओ गेम इन्जिनमा नै तालिम दिइएको भन्न सकिँदैन । तर उस्तै प्रकारका डिजिटल संसारमा तालिम दिइएको भने हुन सक्छ ।

अहिलेसम्म यी हल्लाबारे ओपनएआईले आधिकारिक रूपमा केही बाेलेको छैन । ​

यूई फाइभ प्रयोग गरी ‍फोर्टनाइट, रेमनेन्ट टू, टेक्केन एट जस्ता चर्चित गेम र कतिपय अवस्थामा सिनेमा समेत बनाइएका छन् । यसकारण सोरालाई केमा तालिम दिइएको थियो भनेर प्रश्न उठ्नु स्वाभाविक नै छ । यसअघि ओपनएआईले न्यू योर्क टाइम्सका लेखहरूमा जीपीटी- टू र जीपीटी - थ्रीलाई तालिम गराएको भनेर मुद्दा समेत खेप्नु परेको थियो । आउँदा दिनमा फेरि ओपनएआईसँग उही घटना नदोहोरिएला भन्न सकिन्न ।

सोरा निर्माण गर्न कुन जीपीटी मोडेल प्रयोग गरिएको छ भनेर समेत अहिलेसम्म ओपनएआई खुलाएको छैन । त्यस्तै जीपीटी- फोरलाई तालिम दिन प्रयोग गरिएको डेटाबारे पनि ओपनएआई खुल्न सकेको छैन ।

यसअघिको जीपीटी- टूलाई भने ओपनएआईले वेबटेक्सको डेटासेटमा तालिम दिएको थियो । गिटहबमा सार्वजनिक गरिएको डेटा अनुसार वेबटेक्स्टले नेटफ्लिक्सबाट मात्रै ४२ हजार पटक जानकारी कपि गरेको थियो । 

सार्वजनिक रूपमा उपलब्ध हुन बाँकी सोराले अहिले जुन उत्साह र खतरा दुवै एकै पटक पैदा गरेको छ, त्यसले कस्तो रूप लिन्छ भनेर हेर्न बाँकी नै छ । तर गेम डेभलपरहरूले यस टुललाई आफ्नो फाइदाका लागि प्रयोग गर्न पनि सक्छन् । जसरी अन्य क्षेत्रमा चर्चित एआई मोडेलहरूको प्रयोग भइरहेको छ । तथापि फिल्म मेकिङसँगै गेमिङलाई सोराले प्रभाव भने अवश्य पार्ने देखिन्छ ।

-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

ओपन एआईले ल्यायो लेखेकै भरमा वास्तविक जस्तै भिडिओ बनाइदिने एआई टुल सोरा

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १७:२४