close

ब्रेकअपपछि एन्ड्रोइड फोनमा यसरी लुकाउनुहोस् आफ्नो 'एक्स'का फोटो

टेकपाना टेकपाना

फागुन ७, २०८० १२:२६

ब्रेकअपपछि एन्ड्रोइड फोनमा यसरी लुकाउनुहोस् आफ्नो 'एक्स'का फोटो

काठमाडौं । ब्रेकअपपछि पनि फोनले तपाईंको एक्स अर्थात् पूर्व प्रेमि-प्रेमिकाको याद दिलाइरहेको हुन सक्छ । फोनलाई त्यस्ता पीडादायी सम्झना दिलाइरने कार्यबाट रोक्न सक्नु हुन्छ । 

अहिलेका अधिकांश आधुनिक फोनहरूले सबै प्रकारका रोचक कोलाज र स्लाइडशो स्वचालित रूपमा तयार पारिदिन्छन् ।  यदि सम्झना सुखद छ भने त यस्ता कुरा गज्जबै लाग्छन्, तर पीडादायी ब्रेकअप भएको छ भने अवश्य पनि त्यो घाउ कोट्टियोस् भन्ने चाहनु हुन्न ।

आज हामी तपाईंलाई एन्ड्रोइड फोनमा आफ्नो एक्सको फोटो कसरी लुकाउने भन्ने विषयमा बताउँदै छौं । बजारमा विभिन्न कम्पनी तथा ब्रान्डका एन्ड्रोइड फोनहरू छन्, त्यस्ता फोन निर्माता कम्पनीहरूले आआफ्नै भर्सनका फोटो ग्यालरी एप बनाएर राखेका हुन्छन् ।

त्यसैले एन्ड्रोइड फोनअनुसार एक्सको फोटो लुकाउने वा हटाउने प्रक्रिया वा चरण केही फरक पर्न सक्छ । तर यहाँ भने अधिकांश एन्ड्रोइड फोनहरूलाई ध्यानमा राख्दै त्यसको प्रक्रिया बारे बताउँदै छौं । एन्ड्रोइड प्रयोगकर्ताले गुगल फोटोजलाई आफ्ना फोटो तथा भिडिओको ब्याकअपको रूपमा प्रयोग गरिरहेका हुन्छन् ।

तर यसले कुनै व्यक्तिका सबै फोटोहरू स्वतः डिलिट गर्ने सुविधा भने दिंदैन । यद्यपि त्यसमा एक्सका फोटोहरू तुरुन्तातुरुन्ती लुकाउने केही तौरतरिका भने उपलब्ध छन् ।

 

गुगल फोटोजबाट कुनै निश्चित व्यक्तिलाई कसरी लुकाउने ?

आफ्नो क्यामेरा रिलबाट कुनै व्यक्तिका सम्पूर्ण फोटो लुकाउनका लागि गुगल फोटोज खोल्नुहोस् र माथि दायाँ कुनामा रहेको प्रोफाइल आइकनमा जानुहोस् । अब त्यहाँबाट फोटोज सेटिङ्स (Photos settings) भएर प्रिफरेन्सेस (Preferences), मेमोरी (Memories) हुँदै हाइड पिपुल एन्ड पेट्स (Hide People and pets) मा पुग्नहोस् ।

यसले तपाईंको फोटोहरूमा पहिचान गरेका सबै व्यक्तिलाई एउटा ग्रिडमा देखाउँछ । त्यहाँबाट आफूले लुकाउन चाहेको व्यक्ति छनौट गर्नुहोस् ।

यति गरेपछि तपाईंले उक्त व्यक्तिको तस्विर मेमोरी अथवा गुगल फोटोजले तयार पारेका अन्य हाइलाइटमा देख्नु हुनेछैन ।

 

गुगल फोटोजबाट कुनै निश्चित मितिमा खिचिएका फोटो डिलिट गर्न

गुगल फोटोजले वर्षको निश्चित दिनमा खिचिएका फोटोहरूलाई लिएर समेत मेमोरीहरू तयार पारिरहेको हुन्छ । यसले तपाईंको एक्ससँगको वार्षिकोत्सव, जन्ममिति वा जीवनमा उल्लेखनीय रहेका अन्य कुनै पलहरूलाई स्लाइडशोमा हेर्ने सुझाव समेत दिन सक्छ ।

तपाईंले गुगल फोटोजलाई  यस किसिमका मेमोरीहरू तयार पार्ने कार्यबाट समेत रोक्न सक्नु हुन्छ । यसका लागि गुगल फोटोजमा माथि दायाँ कुनामा रहेको प्रोफाइल आइकनमा जानुहोस् र त्यहाँबाट फोटोज सेटिङ, प्रिफरेन्सेस, मेमोरी हुँदै हाइड डेट्समा जानुहोस् । अब त्यहाँ आफूले हटाउन चाहेको मिति राख्नुहोस् ।

यसो गर्दा गुगल फोटोजले मेमोरी तथा स्लाइडशो बनाउने क्रममा त्यस्ता दिनहरूमा खिचिएका फोटोहरूलाई छोडिदिन्छ ।

 

कुनै निश्चित व्यक्तिका सम्पूर्ण फोटो अर्काइभमा राख्न के गर्ने ?

यदि तपाईं आफ्नो एक्सको कुनै पनि तस्विर हेर्न चाहनु हुन्न, तर ती फोटो तत्कालै डिलिट गरिहाल्न पनि मन छैन भने गुगल फोटोजको अर्काइभ फिचरको सहारा लिन सक्नु हुन्छ । यसले त्यस्ता फोटोलाई छुट्‍टै फोल्डरमा सार्छ र तिनलाई गुगल फोटोजले तयार पार्ने कुनै मेमोरीमा समावेश हुनबाट रोक्छ ।

यसका लागि गुगल फोटोज एप खोल्नुहोस् र आफ्नो एक्सको कुनै फोटोमा केही बेर थिचेर राख्नुहोस् । त्यसपछि स्क्रोल गर्दै आफूले देख्न नचाहेका सबै फोटोहरू छनौट गर्दै जानुहोस् ।

सबै फोटो छानिसकेपछि तल पुछारमा रहेको टुलबारलाई दायाँतर्फ ठेल्नुहोस् र अर्काइभ छान्नुहोस् ।

 

एक्सका सबै फोटो एकसाथ डिलिट गर्न

यो चाहिं आणविक हतियार जस्तै विकल्प हो, तर आईफोनको फोटोजको तुलनामा गुगल फोटोजमा यसका लागि केही म्यानुअल काम गर्नुपर्ने हुन्छ । यहाँ तपाईंले आफ्नो एक्सका सम्पूर्ण फोटो म्यानुअल्ली छानेर तल पुछारमा रहेको  डिलिट विकल्प रोज्नुपर्ने हुन्छ ।

यसरी डिलिट गरेपनि ती फोटो बिन फोल्डरमा बसिरहेका हुन्छन्, गुगल फोटोजको लाइब्रेरी ट्याबहुँदै बिनमा जानु भयो भने त्यसमा तपाईंले पहुँच पाउन सक्नु हुन्छ । रिमुभ गरिएका फोटोहरू ६० दिनपछि सदाका लागि डिलिट भएर जानेछन् ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० १५:०