close

पेट्रोलियम गाडीको साटो ईभी चढ्नु बालबालिकाको स्वास्थ्यका लागि राम्रो हुने

टेकपाना टेकपाना

फागुन ९, २०८० १४:१७

पेट्रोलियम गाडीको साटो ईभी चढ्नु बालबालिकाको स्वास्थ्यका लागि राम्रो हुने

काठमाडौं । पेट्रोलियमको साटो विद्युतीय सवारी साधन (ईभी) प्रयोग हुन थाले धेरै मानिसहरूको स्वास्थ्यका लागि वरदान साबित हुने एक अध्ययनले निष्कर्ष निकालेको छ । अमेरिकन लङ्ग एसोसिएसनको उक्त अध्ययनले विशेषगरी बालबालिकाका लागि ईभीका फाइदाहरू धेरै रहेको उल्लेख गरेको छ ।

सन् २०३५ मा बिक्री हुने सम्पूर्ण नयाँ सवारी साधन टेलपाइपबाट शून्य उत्सर्जन गर्ने किसिमका हुने अवधारणामा रहेर यो अध्ययन गरिएको हो । जसले बालबालिकामा हुने दम रोगको आक्रमण २७ लाखले र ब्रोन्काइटिस नामक कडा किसिमको खोकीका केस एक लाख ४७ हजारले घट्ने निष्कर्ष निकालेको छ ।

ईभी मात्र बिक्री हुने अवस्थाले २६ लाख ७० हजार माथिल्लो श्वासप्रश्वासका र १८ लाख ७० हजार तल्लो श्वासप्रश्वासका घटना रोक्नेछ । र, शिशु मृत्युदरका घटना ५०८ ले घट्नेछन् ।

"ईभीमा स्विच गर्दा बच्चाहरूमा हुने विशेष प्रभावलाई सतहमा ल्याउनु महत्त्वपूर्ण थियो, किनभने बालबालिकाको शरीर वयस्कहरूको तुलनामा फरक दरमा विकसित हुन्छ," अमेरिकन लङ्ग एसोसियसनका लागि स्वस्थ वायु सम्बन्धी राष्ट्रिय सहायक उपाध्यक्ष लौरा केट बेन्डरले भनेकी छिन् ।

"बालबालिकाहरू वायु प्रदूषणको बढी जोखिममा छन्, उनीहरूको फोक्सो बढ्ने क्रममा हुन्छ," उनले एक अन्तर्वार्तामा भनेकी छिन्, "म भन्न सक्छु कि दमसँगै हुर्किने बालबालिकाहरूलाई उनीहरूका अभिभावकले थुप्रै पल्ट इमर्जेन्सीमा भर्ना गर्नुपर्ने हुन्छ ।"

कम्बस्चन इन्जिन गाडी जलवायु परिवर्तनका ठूला कारक हुन्, जो विश्वव्यापी एक चौथाइभन्दा बढी उत्सर्जनका लागि जिम्मेवार छन् । त्यसैले त विश्वभरका सरकारहरूले वायुमण्डलमा धेरै कम प्रदूषण उत्सर्जन गर्ने विद्युतीय सवारी साधनतर्फको रूपान्तरणलाई बढावा दिन खोजिरहेका छन् ।

जसले वायुमण्डलमा निकै कम मात्रामा प्रदूषण उत्सर्जन गरिरहेका हुन्छन् । यसरी पेट्रोलियम गाडीबाट विद्युतीय गाडीमा स्विच हुँदा बालबालिकाले निकै धेरै लाभ उठाउन सक्छन्, खासगरी जो बच्चा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिममा बढी हुन्छन् ।

सन् २०३५ सम्म अमेरिकामा बिक्री हुने सबै कार विद्युतीय हुने र २०४० सम्ममा ठूला सवारी साधन समेत विद्युतीयमा रूपान्तरण हुने मानिन्छ । खासगरी ठूला सवारी साधन विद्युतीय ग्रिडबाट सञ्चालित हुनेछन्, ती पनि जीवाश्म इन्धन रहित हुन् ।

"हामी यी दुईलाई अविभाज्य देख्छौं," बेन्डर विद्युतीय र शून्य उत्सर्जन ग्रिडको बारेमा भन्छिन् । "त्यसैले यसबाट तपाईंले निकै ठूलो सम्भावित स्वास्थ्य लाभ प्राप्त गर्नु हुनेछ ।"

ईभी मात्र बिक्री हुने अवस्था निश्चय नै कठिन हुनेछ, खासगरी प्लग-इन कारको महँगो मूल्य, चार्जिङको उपलब्धता र विश्वसनीयताको चिन्ताका कारण । तै पनि विद्युतीय सवारी साधनको बिक्री वर्षैपिच्छे बढ्दै गएको छ, सन् २०२३ मा विश्वभर बिक्री भएका कूल सवारीसाधन मध्ये आठ प्रतिशतभन्दा बढी विद्युतीय रहेका थिए ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८० १४:१७