close

लाइसेन्समा प्रिन्ट नहुने समस्या समाधान गर्न मद्रास सेक्युरिटीले माग्यो ५२ लाख रुपैयाँ

टेकपाना टेकपाना

फागुन ११, २०८० १०:३४

लाइसेन्समा प्रिन्ट नहुने समस्या समाधान गर्न मद्रास सेक्युरिटीले माग्यो ५२ लाख रुपैयाँ

काठमाडौं । सवारी चालक अनुमति पत्र छपाइका लागि जर्मनीबाट ल्याइएको कार्डमा प्रिन्ट नहुने समस्या देखिएपछि प्रिन्ट गर्ने कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले अतिरिक्त रकम माग गरेको छ । यातायात व्यवस्था विभागसँगको अनौपचारिक छलफलमा एमएसपीले कार्डको स्पेसिफिकेसन मिलाउन ४० हजार डलर (करिब ५२ लाख रुपैयाँ) माग गरेको हो ।

टेकपानासँग कुरा गर्दै विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले उक्त कम्पनीले रकम माग गरेको बताए । “म्युहलबौयर आईडी सर्भिस जीएमबीएच र मद्रास सेक्युरिटीबीच बार्गेनिङ चलिरहेको छ,” उनले भने, “स्पेसिफिकेसन मिलाउन मद्रासले रकम माग गरेको छ । तर, यसका लागि नेपाल सरकारको पैसा उनीहरूलाई जाँदैन ।”

रिजालले विभाग, म्युहलबौयर र मद्रासका प्रतिनिधि बसेर यो विषय समाधान गर्न छलफल गरिरहेको बताए । “हामी सम्झौताभन्दा बाहिर जान मिल्दैन । म्युहलबौयरले नै अर्को प्रिन्टरबाट छपाएर त्यही ल्याबटेस्टका लागि पठाउने योजना भएको छ,” उनले भने ।

रिजालका अनुसार म्युहलबौयरले मद्रासको प्रिन्टर पर्सनलाइज हुनेबेलासम्मका लागि प्रिन्ट गरेर ल्याबटेस्टमा पठाउने सहमति भएको छ । उनले अगाडि भने, “कार्डमा अलि अलि प्राविधिक त्रुटि त होला । भर्सन नमिलेको भन्छन् । चिपको भर्सन अपडेट भएकाले स्याम्पल र अहिलेको वास्तविकमा आएको कार्डको स्पेसिफिकेसन फरक परेको भन्ने छ । प्रविधिमा अलिकति फेरबदल हुन्छ । अलि समय लाग्छ ।”

चिप स्पेसिफिकेसन विपरीत आएको भन्दा पनि अपडेटेड भर्सनमा आएको रिजालको जिकिर छ । म्युहलबौयरले २७ पुसमा नेपालमा छ लाख कार्ड पठाएको थियो । सबैभन्दा पहिले कार्डको गुणस्तर र अन्य सुरक्षा पक्ष परीक्षण गर्न १०० ओटा कार्ड भारत पठाइएको थियो ।

तर, त्यसपछि पठाइएका कार्डमा प्रिन्ट नहुने समस्या देखिएको रिजालको भनाइ छ । विभिन्न सञ्चार माध्यमले मद्रास प्रिन्टर्सले विभागलाई पत्र पठाएको दाबी गरे पनि रिजालले कुनै पत्र नआएको बताए । 

यो पनि पढ्नुहोस्

ड्राइभिङ लाइसेन्सका लागि ल्याइएका ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नहुने समस्या

ट्रायल पास भएको लामो समयसम्म पनि सेवाग्राहीले किन पाउँदैनन् लाइसेन्स ?

गुणस्तर परीक्षणका लागि आज १५० ओटा ड्राइभिङ लाइसेन्स प्रिन्ट गरिँदै

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १३:२४