close

फोटोमा किन छ जरुरी मेटाडेटा ? यस्तो छ हेर्ने, एडिट गर्ने, राख्ने र हटाउने तरिका

टेकपाना टेकपाना

फागुन ११, २०८० २०:५८

फोटोमा किन छ जरुरी मेटाडेटा ? यस्तो छ हेर्ने, एडिट गर्ने, राख्ने र हटाउने तरिका

 

काठमाडौं । चाहे तपाईं आफ्ना फोटो व्यवस्थित तवरमा राख्नुहोस् अथवा त्यसमा कपिराइट सम्बन्धी सूचना राख्नुहोस्, त्यसका लागि मेटाडेटा एकदमै महत्त्वपूर्ण हुन्छ । मेटाडेटाले कुनै पनि फोटोको विस्तृत तथा व्याख्यात्मक जानकारी दिन्छ, जसमा त्यसको क्याप्सन, शीर्षक, लेखक, कसरी उक्त तस्विर खिचियो र कानूनी जानकारी जस्ता विषयहरू रहेका हुन्छन् ।

यस बाहेक तपाईं आफ्ना कही काम अनलाइनमा राख्नु हुन्छ, यस्तोमा मेटाडेटाले फोटोको प्रयोग सम्बन्धी र त्यसमा तपाईंको स्वामित्व जनाउने प्रमाणको जानकारी समेत दिइरहेको हुन्छ । आज हामी तपाईंलाई आफ्नो फोटोमा मेटाडेटा कसरी राख्ने भन्ने बारेमा बताउँदै छौं ।

 

मेटाडेटाका प्रकार

यहाँ मेटाडेटालाई एक्सएमपी स्ट्यान्डर्डको रूपमा बताइएको छ । जब तपाईं फोटोशपमा फोटोको मेटाडेटा खोल्नु हुन्छ, त्यहाँ तपाईंले बाँयातर्फको साइडबारमा १२ प्रकार देख्न सक्नुहुन्छ । 

तपाईंले आफ्नो फोटो एडिट गर्दा यी प्रत्येक क्याटेगरी सान्दर्भिक नहुन सक्छन्, तिनको बारेमा तपाईंले थाहा पाइराख्नु पर्ने विषयहरू निम्न अनुसार छन् ।

  • बेसिक (Basic): यो सबैभन्दा महत्त्वपूर्ण मेटाडेटा हो । यसमा अथरको नाम र सम्पर्क सम्बन्धी जानकारी रहेको हुन्छ । यसका साथै यदि तपाईं उक्त तस्विर प्रयोग गर्न चाहनु हुन्छ भने कपिराइटको स्थिति र जानकारी लिन यो क्याटेगरी क्लिक गर्न सक्नु हुन्छ ।

  • क्यामेरा डेटा (Camera Data): यसमा क्यामेराले नै स्वचालित रूपमा आफैं डेटाहरू राख्ने गर्छ ।

  • ओरिजिन (Origin): यसमा उक्त ओरिजिनल फाइल कहिले तयार पारिएको थियो भन्ने जानकारी हुन्छ ।

  • आईपीटीसी (IPTC)आईपीटीसी एक्सटेन्सन (IPTC Extension): यसमा चाहिं फोटोको बारेमा बताउने इन्टरनेसनल प्रेस टेलिकम्युनिकेसन काउन्सिलको मेटाडेटा मापदण्डको विषय हुन्छ । प्रोफेसनल फोटोग्राफरले आफ्नो फोटो विश्वव्यापी रूपमा फोटो तथा न्युज एजेन्सी, म्युजियम, लाइब्रेरी र अन्य सम्बन्धित उद्योगहरूमा स्वीकृतिको लागि यो स्ट्यान्डर्ड प्रयोग गरिरहेका हुन्छन् ।

  • जीपीएस डेटा (GPS Data): यसले उक्त तस्विर कहाँ खिचिएको हो भन्ने बताउँछ ।

  • अडिओ डेटा (AudioData) भिडिओ डेटा (VideoData): यो चाहिं अडिओ र भिडिओ फाइलहरूमा मात्रै लागु हुन्छ । जसमा आर्टिस्ट, एल्बम र फ्रेमरेटको जानकारी रहेको हुन्छ ।

  • फोटोशप (Photoshop): कुनै फोटो एडिट गरिएको छ कि भनेर चेक जाँच गर्ने कार्यमा यसको प्रयोग गर्न सकिन्छ । जहाँ तपाईंले फोटोशप फाइलमा गरिएका एडिटको बारेमा देख्न सकिन्छ ।

  • डीकम (DICOM): यसमा मेडिकल मेटाडेटा समावेश रहेको हुन्छ, त्यसैले सम्भवतः तपाईंले आफ्नो फोटो वा डिजाइनका लागि यसको प्रयोग गर्नु हुनेछैन ।

  • एईएम प्रोपर्टिज (AEM Properties): यसको बारेमा पनि खासै चिन्ता लिनु पर्दैन । किन भने यो चाहिं एडोबीको इन्टरप्राइज सेवासँग सम्बन्धित छ ।

  • रअडेटा (RawData): यसले तपाईंलाई फाइलको र एक्सएमपी संरचनाको थाहा पाउने सुविधा दिन्छ । 

कुनै पनि फोटोको मेटाडेटा मध्ये केही भाग स्वतः राखिन्छ । उदाहरणको लागि फोटो खिच्न कुन क्यामेरा र लेन्स प्रयोग भएको छ भन्ने जानकारी क्यामेराले नै राखिदिन्छ । यसका साथै तपाईंको ल्यापटप अथवा पीसीले मेटाडेटा एडिट गर्छ र त्यसले नै उक्त फाइल अन्तिम पटक कहिले खोलिएको थियो भन्ने कुरा पनि बताउँछ ।

 

के फोटोबाट मेटाडेटा हटाउन सकिन्छ ?

तपाईं वा अन्य कसैले नहटाएसम्म फोटो फाइलमा मेटाडेटा रहिरहन्छ । यतिसम्म कि तपाईंले फाइलको प्रकार नै परिवर्तन गर्नु भयो भने पनि मेटाडेटा त्यससँगै रहन्छ । यदि तपाईंले आफ्नो फोटो साइटमा पोस्ट गर्नु भयो र अर्को कसैले त्यसलाई डाउनलोड गर्‍यो भने उनीहरूले फोटोशप वा अन्य एडिटिङ सफ्टवेयर प्रयोग गरी मेटाडेटा चेक गर्न सक्छन् ।

यस्ता केही स्टोरेज सर्भिस, सामाजिक सञ्जाल एप र अन्य वेब सर्भिस रहेका छन्, जसले आंशिक वा पूर्ण तवरमा फोटोको मेटाडेटा मेटाइदिन्छन् । त्यसमध्ये केहीले क्यामेराको जानकारी जस्ता मेटाडेटा डिफल्ट रूपमा राख्छन् । इन्स्टाग्राम जस्ता अन्य साइटले भने सम्पर्क सम्बन्धी जानकारी र कपिराइट सम्बन्धी विवरण समेतको सबै मेटाडेटा स्पेस जोगाउनका लागि हटाइदिन्छन् ।

यदि तपाईं केकति जानकारी संरक्षण गरेर राखिएको हुन्छ भन्ने कुरा परीक्षण गरेर हेर्न चाहनु हुन्छ भने कुनै साइटमा आफ्ना केही फोटो अपलोड गर्नुहोस् र तिनलाई डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ कति मेटाडेटा बाँकी छ भन्ने कुरा हेर्न सक्नु हुन्छ । यदि तपाईं आफ्नो गोपनीयता जोगाउन चाहनु हुन्छ भने मेटाडेटाले तपाईंको बारेमा के कति जानकारी खुलासा गरिदिन्छ भन्ने कुरा थाहा पाउन जरुरी छ । 

 

फोटोशपमा कसरी एडिट गर्ने फोटोको मेटाडेटा ?

तस्विरको मेटाडेटा हेर्न चाहनु हुन्छ ? फोटोशपमा त्यसका लागि के गर्ने भन्ने जानकारीका लागि निम्न अनुसार अगाडि बढ्न सक्नु हुन्छ ।

  • सबैभन्दा पहिला आफूले मेटाडेटा हेर्न चाहेको तस्विर खोल्नुहोस् ।

  • त्यसपछि फाइल मेनुमा जानुहोस् र फाइल इन्फोमा क्लिक गर्नुहोस् । यसको साटो तपाईंले विन्डोजमा कन्ट्रोल, अल्ट, शिफ्ट र आई बटनलाई म्याकमा कमान्ड, अप्सन, शिफ्ट र आई बटन एकसाथ दबाउन पनि सक्नु हुन्छ ।

  • यहाँबाट तपाईंले मेटाडेटा कपी गर्न अथवा एडिट गर्न सक्नु हुन्छ ।

  • कुनै किसिमको परिवर्तन गरिसकेपछि सेभ गर्नका लागि ओके बटनमा क्लिक गर्नुहोस् ।

 

फोटोशपबाट मेटाडेटा बिनाको फाइल कसरी एक्सपोर्ट गर्ने ?

यदि तपाईं आफ्नो फोटो कुनै साइटमा अपलोड गर्न चाहनु हुन्छ भने पक्कै पनि त्यसमा रहेको मानिसको नाम जस्ता मेटाडेटा हटाउन खोज्नु हुन्छ होला । 

त्यसका लागि म्यानुअल्ली एडिट गरिरहनुको साटो तपाईंले फोटोशपको एक्सपोर्टएज फिचर प्रयोग गर्न सक्नु हुन्छ । त्यसका लागि निम्न अनुसारको प्रक्रिया अपनाउनु होस् ।

१. फाइल मेनु खोल्नुहोस् र एक्सपोर्ट हुँदै एक्सपोर्ट एजमा जानुहोस् ।

२. मेटाडेटा मुनी रहेको नन् अप्सन छान्नुहोस् ।

३. एक्सपोर्टमा क्लिक गर्नुहोस् ।

यस बाहेक तपाईं मेटाडेटा एडिट गर्न वा हटाउने अनलाइन टुल र डेस्कटप तथा मोबाइल एप समेत प्रयोग गर्न सक्नु हुन्छ । 

 

विन्डोजबाट मेटाडेटा हेर्ने र थप्ने तरिका

तपाईंसँग रहेको कम्प्युटरमा फोटोशप छैन भने पनि तपाईंले कुनै पनि फोटोको मेटाडेटा हेर्न र एडिट गर्न सक्नु हुन्छ । त्यसका लागि निम्न अनुसारको प्रक्रिया अपनाउनु होस् । 

१. तस्विरमा राइट-क्लिक गर्नुहोस् र प्रोपर्टिजमा जानुहोस् । 

२. त्यहाँ रहेको डिटेल्स ट्याब छान्नुहोस् । 

३. डिस्क्रिप्सन, ओरिजिन लगायतका मेटाडेटा राख्नुहोस् । 

यदि तपाईं मेटाडेटा हटाउन चाहनु हुन्छ भने प्रोपर्टिज विन्डोको तल रहेको रिमुभ प्रोपर्टिज एन्ड पर्सनल इन्फर्मेसनमा क्लिक गर्न सक्नु हुन्छ । त्यसपछि कुन डेटा डिलिट गर्न चाहेको हो छान्न सक्नु हुन्छ । 

 

म्याकमा मेटाडेटा हेर्ने र एडिट गर्ने कसरी ? 

म्याकमा मेटाडेटा हेर्न र एडिट गर्न तपाईंले फोटोज एप प्रयोग गर्न सक्नु हुन्छ । तर यसका लागि तपाईंले फोटोहरू यो एपमा इन्पोर्ट अर्थात् तानेर ल्याउनु पर्ने हुन्छ । 

त्यसका लागि निम्न अनुसार गर्नुहोस् । 

१. सबैभन्दा पहिला फोटोलाई फोटोज एपमा इम्पोर्ट गर्नुहोस् । 

२. त्यसलाई खोल्नुहोस् र टुलबारमा रहेको इन्फर्मेसन आइकनमा  क्लिक गर्नुहोस् । 

३. अब फोटोको शीर्षक, विवरण, किवर्ड लगायतका मेटाडेटा हेर्न र एडिट गर्न इन्फो प्यानल छान्नुहोस् । 

विन्डोज अथवा म्याक कम्प्युटरमा मेटाडेटा हेर्ने र एडिट गर्ने अप्सन सीमित छन्, त्यसैले यदि तपाईं आफ्नो कलाकारिताको सुरक्षा गर्न चाहनु हुन्छ भने त्यसका लागि पर्याप्त नहुन सक्छन् । 

 

केके मेटाडेटा थप्न जरुरी हुन्छ ?

बेसिक क्याटेगरीमा रहेको अथर खण्डमा आफ्नो नाम लेख्नुहोस् । त्यसपछि कपिराइटेड छान्नुहोस् र कपिराइटनोटिसका लागि आफ्नो सम्पर्क सम्बन्धी जानकारी थप्नुहोस् । यसो गर्दा तपाईंको फोटो कपिराइट लाग्नेगरी सूचीकृत हुन्छ । 

आफ्नो फोटोको जानकारी क्रमबद्ध रूपमा राख्नका लागि ओरिजिन खण्डमा आफूले चाहेको कुनै पनि विवरण समावेश गर्न सक्नु हुन्छ । त्यसमा तपाईं तस्विरमा भएको को हो, तपाईं के मनाउँदै हुनु हुन्थ्यो, त्यो समयमा सबै जना कति वर्षका थिए लगायतका जानकारी राख्न सक्नु हुन्छ । यसलाई पहिले पहिले फोटोको पछाडि भागमा नोट लेखे जस्तै गरी राख्ने प्रचलनको डिजिटल संस्करण पनि मान्न सक्नु हुन्छ । यसका साथै तपाईंले हरेक जानकारी क्रमबद्ध रूपमा राख्नका लागि विभिन्न फोटो अर्गनाइजर एप समेत प्रयोग गर्न सक्नु हुन्छ । 

यदि तपाईं कुनै न्युज एजेन्सीलाई आफ्नो फोटो बिक्री गर्न चाहनु हुन्छ अथवा तिनलाई पेसागत रूपमा राख्न चाहनु हुन्छ भने आईपीटीसी र आईपीटीसीएक्सटेन्सन क्याटेगरीमा सम्भव भएसम्म धेरै सूचना तथा जानकारीहरू राख्नु होस् । तपाईं मेटाडेटा कसरी राख्ने भन्ने कुरा कसरी तय गर्नु हुन्छ भन्दा पनि यो काम गरेको कुरा भने निश्चित गर्नुहोस् । 

तपाईं फोटो पब्लिस गर्ने उद्देश्य राख्नुहोस् अथवा आफ्नै लागि भनेर सुरक्षित नै किन नराख्नुहोस्, यदि कुनै फोटोमा तपाईं वर्षौंपछि फर्केर आइपुग्नु भयो भने तपाईंले त्यो कहिले र कहाँ खिचेको भन्ने कुरालाई लिएर अचम्मित हुनुपर्ने अवस्था आउन सक्छ । 

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० २१:३