close

जब गुगलले कम्पनी वरपर उम्रेको घाँस सफा गर्न बाख्रा भाडामा लियो...

टेकपाना टेकपाना

फागुन १५, २०८० १३:२१

जब गुगलले कम्पनी वरपर उम्रेको घाँस सफा गर्न बाख्रा भाडामा लियो...

काठमाडौं । यस्तो समय पनि थियो, जतिबेला गुगलले आफ्नो कम्पनी वरपरका ठाउँ सफा राख्न बाख्रा भाडामा लिन्थ्यो । कुरा सन् २००९ तिरको हो । गुगलको क्यालिफोर्निया स्थित मुख्यालय वरपर रहेको खाली जग्गामा उम्रने घाँसले आगलागीको जोखिम बढाएपछि कम्पनीले २०० ओटा बाख्रा भाडामा लिएको थियो ।

घाँस काट्ने मसिनले हावालाई प्रदूषित गर्ने साथै ठूलो आवाज आउने हुँदा गुगलले यस्तो जुक्ति निकालेको थियो । मसिनको प्रयोगभन्दा बाख्रालाई चरनको लागि छोड्दा वातावरण पनि स्वच्छ रहने र आफ्नो काम पनि हुने विश्वासमा कम्पनीले बाख्रा भाडामा लिएको थियाे । 

त्यतिबेला गुगलले क्यालिफोर्निया ग्रेजिङ नामक कम्पनीबाट बाख्रा भाडामा लिन्थ्यो । यसअन्तर्गत एक पटकमा २०० ओटा बाख्रा ल्याइन्थ्याे र एक हप्तासम्म त्यहाँ चरनको लाखि राखिन्थ्याे । ती बाख्राहरूको भाडा मूल्य घाँस काट्ने व्यक्तिलाई दिने मूल्य जत्तिकै पर्थ्याे । 

यसपछि क्यालिफोर्निया-आधारित अन्य कम्पनीहरूले गुगलको सिको गर्न थाले । आगलागीको खतरालाई नियन्त्रण गर्न मात्र नभई यस्तो कार्यबाट कार्बन फुटप्रिन्ट कम हुने कम्पनीहरूको विश्वास थियो । घाँस कटानका लागि बाख्राहरू प्रयोग असामान्य भएपनि वातावरणीय चिन्तालाई सम्बोधन गर्ने भने यो एक रचनात्मक तरिका थियो ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १३:४९