close

मुकेश अम्बानीको छोराको बिहेमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना

टेकपाना टेकपाना

फागुन १८, २०८० १०:५०

मुकेश अम्बानीको छोराको बिहेमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना

काठमाडौं । एसियाका सबैभन्दा धनी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको बिहेमा सहभागी हुन प्रविधि क्षेत्रका दिग्गज व्यक्तिहरू भारत आएका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स मङ्गलबार र मेटाका संस्थापक मार्क जुकरबर्ग बिहीवार भारत पुगेका हुन् ।

आजदेखि आइतबारसम्म भारतको जामनगरमा हुने अनन्तको विवाह समारोहमा सहभागी हुन प्रविधि क्षेत्रका अन्य दिग्गज व्यक्तिहरू भारत आउने क्रम जारी छ । बिजनेस इन्साइडरका अनुसार उक्त समारोहमा सहभागी हुन गुगलका सीईओ सुन्दर पिचाई, सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी अध्यक्ष जे वाई. ली, एडोबीका सीईओ शान्तनु नारायण, डिज्नीका सीईओ बब इगर सहभागी हुन लागेका छन् । 

भारत भ्रमणमा रहेका बिल गेट्सले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य दिग्गज व्यक्तिसँग भेट गरेको उल्लेख गरेका छन् । पोस्टमा बिल गेट्सले मोदीसँग सार्वजनिक हित, महिला नेतृत्वको विकास, कृषि, स्वास्थ्य, जलवायुका क्षेत्रमा एआई कसरी उपयोगी हुन्छ भन्ने विषयमा छलफल गरेको जनाएका छन् ।

भारतीय सञ्चारमाध्यममा मार्क जुकरबर्गलाई स्वागत गरिएका फोटो पनि सार्वजनिक भएका छन् । उनले भने आधिकारिक रूपमा कतै आफू भारत आएको बताएका छैनन् ।

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० १६:४६