close

कमजोर पासवर्ड राखे एआईले केही सेकेन्डमै पत्ता लगाइदिने !

टेकपाना टेकपाना

फागुन २९, २०८० १३:३६

कमजोर पासवर्ड राखे एआईले केही सेकेन्डमै पत्ता लगाइदिने !

काठमाडौं । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का सम्भावित क्षेत्रहरू निरन्तर अन्वेषण भइरहेका छन् । एआई कस्तो क्षेत्रमा सदुपयोग गर्न सकिन्छ भन्ने बहस एकातिर भइरहेको छ भने अर्कोतर्फ यसले पार्ने नकारात्मक प्रभावबारे उत्तिकै चर्चा भइरहेको छ ।

पछिल्ला केही महिना साइबर सुरक्षाको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग हुनसक्ने सम्भावनाबारे छलफल भइरहेको छ । हालै ‘होम सेक्युरिटी हिरोज’ नामक संस्थाले एक अध्ययन रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार एआईले अधिकांश प्रयोगकर्ताले राख्ने सामान्य किसिमका पासवर्ड एक मिनेटभन्दा पनि कम समयमै पत्ता लगाउन सक्छ । 

अध्ययनका क्रममा एआईले एक मिनेटभन्दा पनि कम समयमा ५० प्रतिशत पासवर्ड क्र्याक गरेको रिपोर्टमा उल्लेख छ । यसका लागि पासजीएन (PassGAN) नामको पासवर्ड क्र्याकर प्रयोग गरेर एक करोड ५६ लाख ८० हजार बढी पासवर्डमा परीक्षण गरिएको थियो । ​एआईले त्यसमध्ये ५१ प्रतिशत पासवर्ड एक मिनेटभन्दा कम समयमै पत्ता लगाएको थियो ।

त्यस्तै ६५ प्रतिशत पासवर्ड एक घण्टाभन्दा कम समयमा र ८१ प्रतिशत पासवर्ड एक महिनाभन्दा कम समयमा क्र्याक गर्न सकिने तथ्य रिपोर्टले सार्वजनिक गरेको छ । 

एआईले अधिकांश पासवर्ड एक मिनेटभन्दा पनि कम समयमै पत्ता लगाउन सक्छ भन्ने तथ्य सार्वजनिक गर्दै गर्दा तपाईंले के कुरा ख्याल गर्नुपर्‍यो भने यो प्रयोगकर्ताले राख्ने सामान्य किसिमका पासवर्डहरूमा लागू हुन्छ । अर्थात् जो प्रयोगकर्ताले अनुमान लगाउन सकिने किसिमका पासवर्ड राखेका हुन्छन् त्यस्ता पासवर्ड एआईले केही सेकेन्डमै पत्ता लगाउन सक्छ ।

त्यसका लागि  रिपोर्टमा प्रयोगकर्तालाई जटिल र अनुमान लगाउन नसकिने किसिमको पासवर्ड राख्न सुझाव दिइएको छ । विशेषगरी फोन नम्बर वा जन्ममिति जस्ता विवरण पासवर्डका रूपमा राख्दा जोखिम हुन्छ । यस्ता जोखिम कम गर्नका लागि प्रयोगकर्ताले १८ क्यारेक्टरसम्मको पासवर्ड राख्नुपर्छ । त्यसमा पनि पासवर्ड अक्षर, अङ्क र सङ्केतको मिश्रण हुनुपर्छ । यस्ता पासवर्ड पहिचान गर्न एआई वा अन्य पक्षलाई बढी समय लाग्ने रिपोर्टमा उल्लेख छ । 

सो रिपोर्टमा पनि १८ क्यारेक्टरसम्मका पासवर्ड एआई पासवर्ड क्रयाकरबाट सुरक्षित हुने  उल्लेख छ । यस्तो पासवर्ड पत्ता लगाउनका लागि एआईलाई कम्तिमा पनि १० महिनाको समय लाग्ने भनिएको छ । त्यसमा पनि अक्षर, अङ्क, सङ्केत, क्यापिटल र स्मल लेटरको मिश्रणको पासवर्ड राख्दा त्यसलाई क्रयाक गर्न अर्बौं वर्ष लाग्न सक्ने रिपोर्टमा उल्केख छ । यस्ता पासवर्ड बढीभन्दा बढी सुरक्षित मानिन्छ । 

कसरी जोगिने ?

एआई पासवर्ड क्र्याकरबाट सुरक्षित रहनका लागि तपाईंले सामान्य पासवर्ड राख्न कम गर्नुपर्छ । विशेषगरी आफ्नो फोन नम्बर, जन्ममिति वा क्रमशः अङ्कहरू मिलाएर पासवर्ड राख्न हुँदैन । पासवर्ड कम्तीमा पनि १५ क्यारेक्टरसम्मको हुनुपर्छ । त्यसमा पनि अक्षर, अङ्क, सङ्केत छ्यासमिस शैलीमा राख्नुपर्छ । यस्ता पासवर्ड कसरी सम्झिने भन्ने द्विविधा छ भने तपाईंले पासवर्ड मेनेजर प्रयोग गर्न सक्नुहुन्छ । 

उक्त अध्ययनले पासवर्ड कम्तीमा पनि हरेक छ महिनामा परिवर्तन गर्न सुझाव दिएको छ । तपाईंले आफ्नो पासवर्ड एआईले कति समयमा पत्ता लगाउन सक्छ भन्ने थाहा पाउन यहाँ क्लिक गरेर जाँच गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० १४:५७