close

एक महिने निःशुल्क बेसिक कम्प्युटर ट्रेनिङ हुँदै

टेकपाना टेकपाना

फागुन २९, २०८० १७:१८

एक महिने निःशुल्क बेसिक कम्प्युटर ट्रेनिङ हुँदै

काठमाडौं । एसएसआईटी कम्प्युटर इन्स्टिच्युटले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने भएको छ । कीर्तिपुर बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले कम्प्युटर सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । 

एक महिनासम्म सञ्चालन हुने तालिममा सहभागीले कम्प्युटरको आधारभूत पक्षबारे सिक्न पाउने इन्स्टिच्युटका प्रबन्ध निर्देशक सागर क्षेत्रीले बताए ।

“कीर्तिपुरमा अधिकांश सुदूरपश्चिम र मध्यपश्चिमका विद्यार्थीहरू बस्नुहुन्छ,” टेकपानासँग कुरा गर्दै क्षेत्रीले भने, “उहाँहरूलाई नै लक्षित गरेर एक महिनासम्म निःशुल्क कम्प्युटरसम्बन्धी तालिम दिन लागेका हौं । भौतिक रूपमा उपस्थित हुनसक्ने जोकोही तालिममा सहभागी हुन सक्नुहुनेछ ।”

यो तालिम १ चैतदेखि सुरु हुनेछ । बिहान ६ बजेदेखि ८ बजेसम्म दुई शिफ्ट र अपरान्ह ५ बजेदेखि ६ बजेसम्म अर्को शिफ्ट गरी तीन शिफ्टमा कक्षा सञ्चालन हुनेछ ।

इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने समय छानेर तालिममा सहभागी हुन पाउनेछन् । यसअन्तर्गत सहभागीले वर्ड, एक्सेल, पावरपोइन्ट, ईमेल मार्केटिङ, नेपाली र अङ्ग्रेजी टाइपिङ सिक्न सक्नेछन् ।

“हामीले झन्डै ४०० जनालाई तालिम दिने योजना बनाएका छौं,” क्षेत्रीले भने, “सहभागीका लागि हामीले इन्स्टिच्युटमै कम्प्युटरको व्यवस्था गरेका छौं । उहाँहरूले तालिम सकिएपछि सर्टिफिकेट पनि पाउनुहुन्छ ।”

तालिम भौतिक रूपमा सञ्चालन हुने भएकाले सहभागी हुन इच्छुक व्यक्ति कीर्तिपुर टाउनप्लानिङमा रहेको एसएसआईटीको कार्यालयमा जानुपर्ने हुन्छ । गुगल म्याप्समा इन्स्टिच्युटको ठेगाना थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० १७:३५