close

घरमै बसेर अफिसको काम गर्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

टेकपाना टेकपाना

चैत ४, २०८० ८:१४

घरमै बसेर अफिसको काम गर्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । कोभिड महामारीका कारण हामीले काम गर्ने शैली परिवर्तन भएको निश्चित छ । त्यस्तोमा अहिले रिमोट वर्किङ कल्चर निकै फस्टाउँदो छ । रिमोट वर्क अर्थात् कार्यालयमा नगई आफू बसेको ठाउँबाटै काम गर्नु हो ।

अझ कतिपय कम्पनीले त कामका लागि हाइब्रिड मोडल पनि अपनाउन थालेका छन् । अर्थात् केही कर्मचारीलाई कामका लागि कार्यालय बोलाउने त केहीलाई रिमोट वर्कमा लगाउने । 

नेपालमा समेत केही आईटी कम्पनीहरूले यो मोडल अपनाउन थालेका छन् । अझ आउटसोर्सिङ अथवा फ्रिल्यान्सिङ गरिरहेकाले प्राय: रिमोर्ट वर्क नै अपनाउने गर्छन् । तर घरबाट काम गर्दा विभिन्न समस्या आउन सक्छन् । किनकी घरमा काम गर्ने वातावरणदेखि अवस्था अनुकूल हुन सक्छ । साना साना कुराहरूले पनि कामलाई असर पार्न सक्छ । 

त्यस्तोमा आज हामी रिमोट वर्कलाई प्रभावकारी बनाउने त्यसबारे चर्चा गर्दै छौं:

लक्ष्य निर्धारण गर्नु

रिमोट वर्कलाई अझ बढी प्रभावशाली बनाउन सजिलैसँग भेट्न सकिने लक्ष्य राख्नु लाभदायी हुन्छ । त्यस्ता लक्ष्य विशिष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, सान्दर्भिक र समय सापेक्ष हुन जरुरी छ ।

त्यसरी लक्ष्य निर्धारण गर्दा तपाईंले व्यवस्थित तरिकाले काम गर्न सक्नुहुन्छ । अन्यथा कुन काम गर्ने भनेर तपाईं अलमलमा पर्न सक्नुहुन्छ । लक्ष्य निर्धारण गर्नु आफैंमा चुनौती हो । तर त्यसरी काम गर्दै जाँदा नतिजा पनि सकारात्मक देखिन थाल्छ ।

दुई मिनेटको नियम

यस नियमको अर्थ साना साना काम थाँती नराखी तिनलाई क्षणभरमै सक्नु हो । चाहे यो ईमेलमा जवाफ फर्काउने विषयमा होस् या कुनै महत्त्वपूर्ण कुरा टिपोट गर्नेमा, यो नियमका अनुसार ती काम फत्ते गरिहाल्नु पर्छ ।

यदि कुनै कार्य पूरा हुन दुई मिनेट वा कम समय लाग्छ भने ती तुरुन्तै गर्नुपर्छ । यसले त्यस्ता साना काम याद गरिरहनु पर्ने झन्झटबाट मुक्त गराउँछ । यो नियमको मूल अर्थ यही हो ।

ठूलो स्क्रिन राख्ने

कुनै पनि सूचना मोबाइलमा हेर्नु र ठूलो डेस्कटपमा हेर्नु अवश्य फरक छ । भन्नुको तात्पर्य यदि तपाईंले ठूलो स्क्रिनमा बसेर काम गर्नुहुन्छ भने एउटै ठाउँमा धेरै सूचना हेर्न सक्नुहुन्छ ।

त्यस्तै साना साना अक्षर हेर्न आँखालाई हुने प्रभाव पनि कम हुन्छ । यसका लागि एकैपटकमा धेरै काम गर्न पनि सकिने फाइदा त छँदै छ । अहिले बजारमा घुमाउरो डिजाइनका भएका थुप्रै ब्रान्डका मनिटर पाइन्छन् । 

काम गर्ने ठाउँ निश्चित गर्नु

घरबाटै काम गर्ने भएता पनि तपाईंले यसका लागि एउटा निश्चित ठाउँ बनाउनु पर्छ । यो कुरा प्रत्यक्ष रूपमा प्रभावकारितासँग पनि जोडिएको हुन्छ । त्यसरी कामका लागि भनेर एउटा ठाउँ निश्चित गर्दा काम गर्ने मानसिकता पैदा हुन्छ ।

ध्यान भङ्ग गर्ने कुरा हटाउनु

विभिन्न एपको नोटिफिकेसन होस् वा अन्य वस्तुहरू, यदि काम गर्न तपाईंलाई असर पुर्‍याउँछ भने तिनलाई हटाउनु नै राम्रो हुन्छ । किनकी त्यस्ता ध्यान भङ्ग गर्ने कुराले तपाईंलाई आफ्नो लक्ष्य प्राप्त गर्न अवरोध पुर्‍याउँछन् ।

यसकारण ध्यान भङ्ग गरिरहने स्रोत पहिचान गरेर काम गर्ने समयमा कम्तीमा तिनलाई हटाउनुहोस् । 

तारहरू व्यवस्थित गर्नुहोस्

घरमा काम गर्दा अवश्य पनि कार्यालयको जस्तो व्यवस्थित वातावरण नहुन सक्छ । यद्यपि तपाईंले आफ्नो काम गर्ने टेबलाई व्यवस्थित गर्न सक्नुहन्छ । यदि अनावश्यक धेरै तारहरू छन् भने पनि तिनले एउटा समयमा काम गर्न बाधा पुर्याउँछन् ।

यसकारण सकेसम्म तपाईंले डिजिटल डिभाइसका तारहरू व्यवस्थित गर्नु जरुरी छ । यसो गर्दा काम गर्ने ठाउँ सफा देखिनुका साथै कुनै पनि प्रकारको अवरोध आउँदैनन् ।

यी बाहेक दैनिकी बनाउनु, विभिन्न प्रोडक्टिभी एप प्रयोग गर्नु, ब्लु रेबाट बच्नु लगायतका अन्य उपायहरू पनि रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८० ८:१४