close

यस्तो छ माइक्रोसफ्टको पहिलो एआई ल्यापटप

टेकपाना टेकपाना

चैत १०, २०८० १०:४८

यस्तो छ माइक्रोसफ्टको पहिलो एआई ल्यापटप

काठमाडौं । माइक्रोसफ्टले एआईमा आधारित आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको छ । बिहीवार एक कार्यक्रम गर्दै माइक्रोसफ्टले सर्फेस प्रो १० र सर्फेस ल्यापटप ६ सार्वजनिक गरेको हो ।

यी दुवै ल्यापटपमा इन्टेलको पछिल्लो प्रोसेसर कोर अल्ट्रा, कोपाइलट की र न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) राखिएका छन् । जसले गर्दा एआई सम्बन्धी काम गर्न यस ल्यापटपमा नयाँ अनुभव मिल्ने माइक्रोसफ्टको भनाइ छ ।

नयाँ ल्यापटप सार्वजनिक गरेपनि डिजाइन भने माइक्रोसफ्टले केही परिमार्जन गरेको छैन । यसकारण पहिल्यै बजार गइसकेको सर्फेस प्रो ९ जस्तै सर्फेस प्रो १० देखिन्छ ।

ग्राहकले यसमा कोर अल्ट्रा फाइभ १३५ यू र कोर अल्ट्रा १६५ यू मध्ये कुनै चिप राख्न सक्नेछन् । साथै सुरुमा उपलब्ध हुने ८ जीबी र्‍यामलाई बढाएर आफ्नो आवश्यकता अनुसार ६४ जीबीसम्म पुर्‍याउन सक्नेछन् ।  

यस ल्यापटपमा दुई ओटा यूएसबी-सी पोर्ट र एउटा चार्जिङ पोर्ट हुनेछन् । माइक्रोसफ्टका अनुसार एक पटकको फुल चार्जमा यस ल्यापटपले १९ घण्टासम्म ब्याट्री ब्याकअप दिन सक्छ । ल्यापटपलाई प्रयोगकर्ताले टच, भोइस र सर्फेस स्लिम पेनले चलाउन सक्छन् । 

१३ इन्चको डिस्प्लेमा आउने यसको क्यामेरा भने निकै सुधार गरिएको कम्पनीले जनाएको छ । यस ल्यापटपको क्यामेराले १४४० पिक्सेल रेजाेलुसनको भिडिओ खिच्नसक्ने कम्पनीको भनाइ छ ।

त्यस्तै फाइभजी सपोर्ट गर्ने पनि कम्पनीले बताएको छ, जुन पहिलो पटक उपलब्ध हुने कम्पनीले जनाएको छ । 

८ जीबी र्‍याम र २५६ एसएसडी भएको यस ल्यापटपको सुरुवाती मूल्य अन्तर्राष्ट्रिय बजारमा एक हजार ९९९ डलर पर्ने बताइएको छ । तर यसमा ओलेड स्क्रिन आउने भनेर चर्चा चलेपनि माइक्रोसफ्टले एलसीडी नै चलाएको छ ।

यद्यपि सामान्य उपभोक्तालाई लक्षित गर्दै २० मेमा हुने हार्डवेयर एन्ड एआई इभेन्टमा माइक्रोसफ्टले नयाँ घोषणा गर्न सक्ने द भर्जले उल्लेख गरेको छ । 

त्यस्तै सर्फेस ल्यापटप ५ को तुलनामा सर्फेस ल्यापटप ६ पनि करिब उस्तै देखिन्छ । यसमा भने इन्टेलको कोर अल्ट्रा एच सिरिजलाई चिपका रुपमा माइक्रोसफ्टले प्रयोग गरेको छ । यसमा ग्राहकले कोर अल्ट्रा फाइभ १३५ एच र कोर अल्ट्रा सेभेन १६५ एच मध्ये कुनै एक चिपसेट छान्न सक्छन् ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८० १०:५७