close

नेपाली अक्षर राखेर मोबाइलबाटै ग्राफिक्स बनाउन कुन एप उपयुक्त ?

टेकपाना टेकपाना

चैत १८, २०८० १६:४१

नेपाली अक्षर राखेर मोबाइलबाटै ग्राफिक्स बनाउन कुन एप उपयुक्त ?

काठमाडौं । फोटोमा शब्द राख्नुपर्ने अवस्था जहिले पनि आउन सक्छ । विशेषगरी शुभकामना दिंदा, आफ्ना भनाइहरू राख्दा, समाचारका लागि फिचर फोटो बनाउँदा वा युट्युबको थम्बनेल बनाउँदा फोटोमा शब्द राख्नुपर्ने हुन्छ ।

यसो त फोनकै डिफल्ट फोटो एडिटरमा पनि फोटोमा शब्द राख्न सकिन्छ । तर, त्यसमा अरू विकल्प नहुँदा फोटो त्यति स्तरीय देखिंदैन । आज हामी फोनबाटै आकर्षक शैलीमा फोटोमा शब्द राख्न कुन एप उपयोगी हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौं । 

१) पिक्सेल ल्याब 

फोटोमा शब्द राखेर एडिट गर्न उपयुक्त हुने एप हो, पिक्सेल ल्याब । यसलाई अनलाइन वा अफलाइन जस्तो अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । यसमा तपाईंले त्यहाँ दिइएका विभिन्न टुल प्रयोग गरेर आफ्नो डिजाइन आफैंं बनाउनुपर्ने हुन्छ । अन्य प्लेटफर्म जस्तो पिक्सेल ल्याबमा अरूको टेम्प्लेटमा एडिट गर्न सकिंदैन ।

यसको फाइदा भनेको तपाईंले आफूले चाहेको फन्ट इन्स्टल गरेर यसमा प्रयोग गर्न सक्नुहुन्छ । विशेषगरी नेपाली फन्ट पनि प्रयोग गर्न सकिने भएपछि तपाईंका लागि यो एप बढी उपयुक्त हुन सक्छ ।

फिचर फोटो, युट्युब थम्बनेल वा अन्य सामग्री बनाउनका लागि यो एप उपयोगी हुन्छ । हामीले पिक्सेल ल्याबमा कसरी फन्ट इन्स्टल गरेर प्रयोग गर्ने भन्ने सामग्री यसअघि नै राखिसकेका छौं । उक्त सामग्री यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ । 

२) क्यान्भा 

क्यान्भा वेब र मोबाइल एप दुवैमा उपलब्ध छ । इन्टरनेटको पहुँचमा रहिरहनेलाई यो एप बढी उपयुक्त हुन सक्छ । यसमा तपाईंले आफैं आफ्नो नयाँ डिजाइन पनि तयार पार्न सक्नुहुन्छ । त्यसबाहेक पहिले नै उपलब्ध भइसकेका टेम्प्लेट प्रयोग गर्छु भन्नुभयो भने त्यसको सुविधा पनि छ ।

यसमा ग्राफिक्स डिजाइनका लागि आवश्यक पर्ने इलिमेन्ट त्यहीभित्रबाट खोज्न सकिन्छ । त्यस्तै आफूले चाहेका फन्ट पनि प्रयोग गर्न सकिन्छ । तर, त्यसका लागि प्रिमियम सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । निःशुल्क प्रयोग गर्नका लागि पनि तपाईंले अधिकांश फिचरहरू प्रयोग गर्न सक्नुहुन्छ ।

यो एप अफलाइन हुँदा प्रयोग गर्न सकिंदैन । क्यान्भा वेबसाइटमा प्रयोग गर्न यहाँ र एन्ड्रोइडमा प्रयोग गर्न यहाँ तथा आईओएसमा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

३) पिक आर्ट 

पिक आर्ट क्यान्भा र पिक्सेल ल्याब दुवैका फिचर भएको एप हो भन्दा फरक पर्दैन । यसमा पनि तपाईंले अरू कसैले पहिले नै बनाइसकेका टेम्प्लेटमा एडिट गर्न सक्नुहुन्छ । यसमा पनि आफ्नै फन्ट अपलोड गर्ने सुविधा दिइएको छ । त्यसैले तपाईंले आफूलाई उपयुक्त लाग्ने फन्ट डाउनलोड गरेर यो एपमा राखि प्रयोग गर्न सक्नुहुन्छ ।

यसको सकारात्मक पक्ष भनेको फन्टहरू थम्बनेल र अन्य सामग्रीका लागि आवश्यक पर्ने किसिमको बनाएर राखिएको हुन्छ । त्यसबाट तपाईंले आफूलाई उपयुक्त हुने स्टाइल छान्न सक्नुहुन्छ । अन्य प्लेटफर्म जस्तै यसमा पनि केही प्रिमियम फिचरहरू छन् । ती फिचर प्रयोग गर्नका लागि तपाईंले शुल्क तिर्नुपर्ने हुन्छ । यसलाई अनलाइन वा अफलाइन दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।

पिक आर्टलाई पनि वेब र मोबाइल एप दुवैमा प्रयोग गर्न सकिन्छ । वेबमा प्रयोग गर्न यहाँ, एन्ड्रोइड प्रयोगकर्ताले यहाँ तथा आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

४) एडोबी एक्सप्रेस 

क्यान्भा र एडोबी एक्सप्रेस लगभग उस्ताउस्तै प्लेटफर्म हुन् । तर, यो एडोबीको प्लेटफर्म भएकाले क्यान्भाभन्दा बढी फन्ट तथा अन्य केही फिचरहरू बढी छन् । यसमा पहिले उपलब्ध टेम्प्लेटमा पनि एडिट गर्न सकिन्छ । साथै तपाईं आफैंले नयाँ डिजाइन बनाएर प्रयोग गर्न सक्नुहुन्छ ।

एडोबी एक्सप्रेस वेबमा प्रयोग गर्न यहाँ र एन्ड्रोइडमा प्रयोग गर्न यहाँ तथा आईओएसमा यहाँ क्लिक गरेर इन्स्टल गरी प्रयोग गर्न सक्नुहुन्छ । अफलाइन हुँदा यस एपका केही सीमित फिचर मात्र प्रयोग गर्न सकिन्छ । अनलाइनमा भने तपाईंले सबै फिचर प्रयोग गर्न पाउनुहुन्छ । तर, त्यसका लागि तपाईंले प्रिमियम सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८० ९:१४