close

जेनेरेटिभ एआई प्रयोग गरी बिक्सबीलाई थप स्मार्ट बनाउँदै सामसङ

टेकपाना टेकपाना

चैत २१, २०८० ११:१७

जेनेरेटिभ एआई प्रयोग गरी बिक्सबीलाई थप स्मार्ट बनाउँदै सामसङ

काठमाडौं । सामसङ फोनमा उपलब्ध भर्चुअल असिस्टेन्ट ‘बिक्सबी’ अब थप स्मार्ट बन्ने भएको छ । जेनेरेटिभ एआईको क्षमतालाई विस्तार गर्दै सामसङले बिक्सबीलाई थप सुविधायुक्त बनाउन लागेको हो । 

सामसङको मोबाइल बिजनेस तर्फका कार्यकारी उपाध्यक्ष वुन–जुन चोईले सीएनबीसीसँग कुरा गर्दै जेनेरेटिभ एआईकाे क्षमतालाई बिक्सीमा राख्न गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् । यसको मतलब जेनेरेटिभ एआई र एलएलएम (लार्ज ल्याङ्ग्वेज मोडेल) का कारण भ्वाइस असिस्टेन्ट भविष्यमा थप स्मार्ट हुन सक्छ ।

कम्पनीले अहिले बिक्सबीलाई ग्यालेक्सी एआई फिचरहरूमार्फत अपग्रेड गरिरहेको छ । तर जेनेरेटिभ एआईतर्फ यसको भ्वाइस असिस्टेन्टमा खासै ध्यान पुगेको थिएन । 

सामसङले पहिलोपटक बिक्सबी २०१७ मा ग्यालेक्सी एस ८ सिरिजसँगै सुरू गरेको थियो । त्यसबेलादेखि स्मार्ट टिभी र हाेम अप्लायन्सहरूमा बिक्सबीको प्रयोगलाई रुचाइएको थियो ।

अब जेनेरेटिभ एआई र एलएलएमको उदयसँगै बिक्सबीको गेम प्लानलाई पुनः परिभाषित गर्ने समय आएको चोइ बताउँछन्, जसले गर्दा जेनेरेटिभ एआईका कारण बिक्सबी थप स्मार्ट बन्न सक्छ । 

सामसङ ग्यालेक्सी एस२३ अल्ट्राले बिक्सबीमा टेक्स्ट–टु–स्पीच प्रयोग गर्दै कल रिसिभ गर्न र मेसेजहरू बन्द गर्ने लगायतका केही नयाँ फिचरहरू राखिदिएको छ ।

हाल, प्रयोगकर्ताहरू सामसङको ग्यालेक्सी एआईको ह्याण्ड्स–फ्रि चलाउन बिक्स्बीमाथि निर्भर छन् । तर जेनेरेटिभ एआईको साथमा यसले थप जिम्मेवारी बहन गर्न सक्छ । 

सामसङले २०२३ जुलाईमै ग्यालेक्सी अनप्याक्ड इभेन्टमा बिक्सबीका लागि एआई अपग्रेड गर्ने संकेत दिएको थियो । टेकरडारका अनुसार जुन्होपार्क, सामसङका उपाध्यक्ष र ग्लोबल प्रोडक्ट प्लानिङका निर्देशकले कार्यक्रममा बिक्सबीमा जेनेरेटिभ एआईका बारेमा जानकारी दिएका थिए । 

सामसङको स्मार्ट होम अप्लाइन्सहरूका बिक्सबीमा जेनेरेटिभ एआई उपलब्ध छ । तर यसले च्याटजीपीटीको आधारमा कम काम गर्न सक्छ । तर तपाईंको मोबाइल र स्मार्टवाचमा जेन एआई समावेश बिक्सबी गेम चेन्जर हुन सक्छ ।

तपाईंले जिममा वेट लिफ्ट गर्दै गर्दा लाइभ फिडब्याक पाउन सक्नुहुनेछ । साथै तपाईँले मोबाइललाई ब्याट्री सेभिङ मोडमा जान टिप्स दिन वा फोटोलाई राम्रो बनाउने तरिकाबारे यसलाई सोध्न सकिन्छ । 

अहिले च्याटजीपीटीले क्रान्ति ल्याइदिएको छ । सबैलाई आफ्ना उत्पादनहरूमा जेनेरेटिभ एआईलाई कसरी समावेश गर्न सकिन्छ भन्नेबारे सोच्न बाध्य बनाइदिएको छ । सामसङ ढिलै भएपनि जेन–एआईको प्रयोग गरी डिजिटल असिस्टेन्टलाई थप परिमार्जन गर्न तत्पर भएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८० ११:१७