close

चन्द्रमामा खेती गर्ने योजनामा नासा

टेकपाना टेकपाना

चैत २२, २०८० ११:५६

चन्द्रमामा खेती गर्ने योजनामा नासा

काठमाडौं । चन्द्रमामा मानव बस्ती बसाउने योजना नयाँ होइन । विभिन्न देशले यान पठाएर चन्द्रमामा जीवन विकासको सम्भावना खोजिरहेका छन् । यसैसाथ चन्द्रमामा खेती गर्ने योजनामा समेत थुप्रै अध्ययन भइरहेका छन् । यसैबीच हालै नासाले चन्द्रमामा खेती गर्ने सम्भावनाको अध्ययन गर्न विशेष उपकरण छनौट गरेको छ । 

दुई वर्षपछि नासाले ‘आर्टेमिस ३’ अन्तर्गत चन्द्रमाको सतहमा पठाउन छानेका तीन उपकरणमध्ये लुनार इफेक्ट्स अन एग्रिकल्चर फ्लोरा (एलईएएफ)ले चन्द्रमामा खेतीको सम्भावना अध्ययन गर्ने नासाले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ । 

नासाका अनुसार लुनार इफेक्ट्स अन एग्रिकल्चर फ्लोरा (एलईएएफ)ले चन्द्रमाको सतहको वातावरणले बालीहरूमा पार्ने प्रभावका बारेमा अध्ययन गर्नेछ । यसले विरुवामा हुने फोटोसिन्थेसिस प्रक्रियाका साथै अन्तरिक्षबाट आउने विकिरणहरूले विरुवाको वृद्धिविकासमा पर्ने प्रभावका बारेमा अध्ययन गर्नेछ ।

साथै यसले चन्द्रमाको गुरुत्वाकर्षणको प्रणालीमा पर्ने प्रभावहरूका बारेमा समेत यस उपकरणले अध्ययन गर्ने नासाले उल्लेख गरेको छ । 

एलईएएफ उपकरणले संकलन गरेको चन्द्रमामा विरुवा वृद्धिविकासको डेटा र वातावरणीय डेटाहरूबाट चन्द्रमामा मानव जीवनको सम्भावना र मानव जीवनलाई आवश्यक पर्ने पोषणहरूबारे समेत अध्ययन गर्न मद्दत पुग्ने नासाले जनाएको छ ।

हाल यस एलईएएफ उपकरणमाथि कोलोराडोमा स्पेस ल्याब टेक्नोलोजीका क्रिस्टिन एस्कोबरको नेतृत्वमा थप अध्ययन अनुसन्धान भइरहेको छ । 

नासाको आर्टेमिस मिसनले चन्द्रमामा ५० वर्षपछि फेरि मानिसलाई पुर्‍याउने लक्ष्य लिएको छ । नासाले सन् १९६९ देखि १९७२ को बीचमा केही अपोलो मिसन चन्द्रमामा पठाएको थियो । अन्तिम पटक सन् १९७२ मा अपोलो १७ मिसन अन्तर्गत जीन कार्ननले पाइला टेकेदेखि हालसम्म कुनै मानिस चन्द्रमामा पुगेका छैनन् । यस्तोमा नासाले आर्टेमिस मिसन अन्तर्गत चन्द्रमामा फेरि मानिसलाई पुर्‍याउन योजना बनाएको हो ।

यस मिसनमार्फत चन्द्रमामा पठाउन नासाले चार एस्ट्रोनटहरूलाई छानेको छ । यसपटक नासाले चन्द्रमामा पठाउन छानेका चार जनामध्ये एक महिला एस्ट्रोनट क्रिस्टिना कोक रहेकी छन् । उनी चन्द्रमाको मिसनका लागि छानिएकी पहिलो महिला हुन् । 

आर्टेमिस मिसनमार्फत वैज्ञानिकहरू केही अनुसन्धान गर्न खोजिरहेका छन् । यस मिसनअन्तर्गत चन्द्रमामा पुग्ने चार जना एस्ट्रोनटहरू तत्काल पृथ्वीमा फर्किने छैनन् । उनीहरूले १० दिन चन्द्रमामा बिताउने लक्ष्य लिएका छन् । उनीहरू चन्द्रमामा लुनार बेस बनाएर बस्नेछन् ।

यस दौरान एस्ट्रोनटहरू चन्द्रमाको सतहमा केही गहन अध्ययनहरू गर्नेछन् । यस मिसनमार्फत चन्द्रमामा माइनिङ गर्ने समेत नासाको योजना छ । चन्द्रमाको सतहमा प्लाटिनम, सिलिकन, आइरन, टाइटेनियम, अमोनिया लगायत खनिज पदार्थ पाइन्छन् । 

यही मिसन अन्तर्गत नासाले आर्टेमिस ३ योजनामार्फत चन्द्रमाको सतहमा पठाउनको लागि तीन उपकरणहरू छनौट गरेको हो । ती लुनार इन्भाइराेमेन्ट मोनिटरिङ स्टेसन (एलईएमएस), लुनार इफेक्ट्स अन एग्रिकल्चर फ्लोरा (एलईएएफ) र लुनार डाइलेक्ट्रिक एनालाइजर (एलडीए) रहेका छन् ।

यी तिनै उपकरणहरू आर्टेमिस ३ अन्तर्गत २०२६ मा उडान गर्न चयन गरिएको हो, जसको मद्दतले चन्द्रमाका बारेमा थप अध्ययन गर्न सकिने छ । 

चन्द्रमाको साउथ पोल नजिकै स्थापना गरिने यी तीन उपकरणहरूले चन्द्रमाको वातावरण, चन्द्रमाको भित्री भाग र चन्द्रमामा मानिसको उपस्थितिलाई कसरी कायम राख्ने भन्ने विषयमा अध्ययन गर्नेछ । जुन अध्ययनले ग्रहहरूको प्रक्रिया बुझ्न, चन्द्रमाको लुनार पोलार भोलाटाइल्स र सम्भावित समस्याहरूको समाधानका लागि सहयोग गर्नेछ ।

नासाको यो मिसनबाट प्राप्त हुने डेटाको मद्दतले मंगल ग्रहको अध्ययनका लागि बेस बनाउने नासाले विश्वास लिएको छ । साथै मंगल ग्रहको अध्ययन गर्न एस्ट्रोनट पठाउन र अध्ययन गर्न यो अध्ययन सहयोगी हुने नासाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १२:१०