close

चिनियाँ एपस्टोरबाट एप्पलले हटायो ह्वाट्सएप र थ्रेड्स

टेकपाना टेकपाना

बैशाख ८, २०८१ १२:७

चिनियाँ एपस्टोरबाट एप्पलले हटायो ह्वाट्सएप र थ्रेड्स

काठमाडौं । एप्पलले चिनियाँ एपस्टोरबाट मेटाका ह्वाट्सएप र थ्रेड्स एप हटाएको छ । चिनियाँ सरकारको इन्टरनेट नियमन गर्ने निकायको निर्देशनपछि एप्पलले एपस्टोरबाट ती एप हटाएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार अहिले चीनमा ह्वाट्सएप र थ्रेड्स दुवैलाई ब्लक गरिएको छ । “हामी असहमत हुँदा पनि हामी आफूले काम गर्ने देशको कानून पालना गर्न बाध्य छौं”, एप्पलका प्रवक्ताले सीएनएनसँग भने, “चीनको साइबरस्पेस प्रशासनले उनीहरूको राष्ट्रिय सुरक्षा चिन्ताको आधारमा चीनको स्टोरफ्रन्टबाट यी एपहरू हटाउन आदेश दिएको छ । जहाँ यी एपहरू देखा पर्छन्, त्यहाँका सबै स्टोरफ्रन्टमा एप डाउनलोडका लागि उपलब्ध छन् ।

मेटाका यी दुई एप चीनमा ब्लक गरिएको भए पनि भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरी त्यसमा पहुँच पाउन सक्छन् । चीनले मेटाका यी दुई एपमाथि प्रतिबन्ध लगाएसँगै चीन ठूला प्रविधि कम्पनीहरूबाट टाढिंदै गएको दृष्टान्त थप प्रस्ट भएको छ । 

यसरी मेसेजिङ एपमा सरकारले प्रतिबन्ध लगाउँदा व्यवसायीहरू मारमा पर्ने, विदेशमा भएका आफन्त वा साथीभाइसँग सम्पर्क गर्न सकस हुने व्यवसायीले सीएनएनसँग बताए । अहिले भीपीएन प्रयोग गरेर ह्वाट्सएपमा पहुँच पाइरहेको भए पनि त्यसमा अपडेट आउँदा समस्या हुने व्यवसायीको तर्क छ । 

सीएनएनका अनुसार चिनियाँ एप स्टोरमा एक्स, फेसबुक, इन्स्टाग्राम र मेसेन्जर जस्ता प्लेटफर्म उपलब्ध छन् । एप्पलका लागि चीन विश्वको दोस्रो ठूलो बजार हो । त्यहाँ पछिल्लो समय आईफोनको बिक्री भारी सङ्ख्यामा घट्दै गइरहेको छ ।

२०२४ को पहिलो त्रैमासिकमा चीनमा आईफोनको बिक्री १० प्रतिशतले घटेको रिपोर्ट बाहिरिएको थियो । त्यस देशमा बढेको प्रतिस्पर्धा, अमेरिकी कम्पनी भएकाले सरकारले गर्ने व्यवहारले गर्दा एप्पलले बजरमा अस्तित्व कायम गर्न संघर्ष गरिरहेको छ । 

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावे, साओमी र वनप्लस जस्ता ब्रान्डले आफ्नो दायरा विस्तार गरिरहेका छन् । आफ्नै देशमा बनेको ब्रान्ड भएकाले पनि एप्पलको तुलनामा स्थानीय ब्रान्ड चिनियाँ नागरिकको रोजाइमा पर्ने गरेको अनुसन्धानले देखाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ १२:९