close

फोटोको सट्टा कविता तयार पारिदिने अचम्मको क्यामेरा

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १०:३१

फोटोको सट्टा कविता तयार पारिदिने अचम्मको क्यामेरा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले हाम्रो वरपरका धेरै विषयमा प्रभाव पारेकोमा कुनै सन्देह छैन । हालै भने अलि अनौठो कामका लागि एआई प्रयोग भएको छ । डिजाइनर केलिन क्यारोलिन झाङ र रायन माथरले 'पोइट्री क्यामेरा' बनाएका हुन् । 

यो सामान्य पोलारोइड (इन्स्ट्यान्ट) क्यामेरा जस्तै देखिन्छ । यस प्रकारको क्यामेरामा फोटोग्राफिक फिल्म प्रयोग भएको हुन्छ । जसकारण  कसैले खिच्नासाथ तुरुन्तै फोटो प्रिन्ट हुन्छ । तर 'पोइट्री क्यामेरा' ले भने फोटो खिच्नुको सट्टा सेन्सरले खिचेका तस्वीरका आधारमा कविता लेख्ने गर्छ । जुन फोटोका रूपमा क्यामेराबाट प्रिन्ट हुन्छ ।

यसका लागि डिजाइनर झाङ र माथरले रास्पबेरी पाईमा आधारित यो क्यामेरामा ओपनएआईको च्याटजीपीटी फोर प्रयोग गरेका छन् । रास्पबेरी पाईको सिङ्गल बोर्ड कम्प्युटरले क्यामेराले खिचेको फोटो विश्लेषण गर्ने गर्छ ।

यसका लागि रङ, ढाँचा, वस्तु जस्ता भिजुअल इलिमेन्टलाई आधार बनाइएको छ । सोही भिजुअल डेटाका आधारमा फोटोमा भएको भाव तथा परिस्थिति वर्णन गर्ने र कविता लेख्ने काम जीपीटी फोरले गर्ने गर्छ ।

 

'पोइट्री क्यामेरा' ले लेखेको कविता

यसरी यो क्यामेराले फोटोभन्दा कविता प्रिन्ट गर्ने गर्छ । टेकक्रन्चका अनुसार यो क्यामेराले कुनै एक मात्र नभएर गद्य, पद्य, हाइकु लगायतका विभिन्न ढाँचामा कविता लेख्न सक्छ । यद्यपि यो क्यामेरा व्यावसायिक प्रयोगमा भने बनाइएको होइन ।

डिजाइनर झाङ र माथरले यो क्यामेरा व्यक्तिगत परियोजना भएको बताएका छन् । आफन्त तथा साथी भाइहरूले यसलाई सार्वजनिक गर्न सुझाव दिएपछि मात्र क्यामेरालाई बाहिर ल्याएको उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले यसको व्यावसायिक उत्पादनबारे अहिलेसम्म केही नसोचेको र भविष्यमा भने त्यसको सम्भावना रहेको जनाएका छन् ।

यदि कसैलाई पोइट्री क्यामेरा चाहिए उनीहरू आफ्नै पनि बनाउन सक्छन् । यसका लागि झाङ र माथरले क्यामेरा पछाडिको सबै प्राविधिक पाटो ओपन सोर्सका रूपमा सार्वजनिक गरेका छन् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १२:९