close

इन्टरनेट नहुँदा पनि अब ह्वाट्सएपबाट ठूलो साइजका फाइल शेयर गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १८:४९

इन्टरनेट नहुँदा पनि अब ह्वाट्सएपबाट ठूलो साइजका फाइल शेयर गर्न सकिने

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएप फाइल शेयर गर्ने उपयुक्त विकल्प बन्ने भएको छ । कम्पनीले ल्याउन लागेको ‘पिपल नियरबाई’ (People Nearby) फिचरसँगै इन्टरनेट नहुँदा पनि फाइल पठाउन सकिने भएको हो ।

ह्वाट्सएपको जानकारी दिने प्लेटफर्म डब्लूए बेटा इन्फोका अनुसार अहिले यो फिचर विकासकै क्रममा छ । त्यसैले यसले कसरी काम गर्छ भन्ने जानकारी बेटा टेस्टरसँग पनि छैन ।

तर, त्यसको प्रिभ्युको जानकारी भने बाहिरिएको छ । ह्वाट्सएप सेटिङभित्र उपलब्ध हुने सो फिचरमा गइसकेपछि ‘पिपल नियरबाई’ भन्ने अप्सन देखिनेछ । त्यहीँबाट ह्वाट्सएप पेयर गरिसकेपछि फाइल पठाउन सकिनेछ ।

यो अफलाइनमा समेत उपलब्ध हुने बताइएको छ । जसको सहायताले नजिकैको फोनमा लोकल नेटवर्कमार्फत फोटो, भिडिओ र अन्य किसिमका फाइल पठाउन सकिनेछ । अब आउने नयाँ अपडेटमा यो फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ ।

हालै मात्र ह्वाट्सएपले ठूला फाइल शेयर गर्नका लागि २ जीबीसम्मको फाइल पठाउन सकिने फिचर उपलब्ध गराएको छ । तर, त्यस्तो हुँदा सबैभन्दा पहिले फाइल ह्वाट्सएपको सर्भरमा जान्छ ।

त्यसपछि सोही सर्भरबाट अर्को प्रयोगकर्ताले डाउनलोड गर्नुपर्ने हुन्छ । यस्तोमा फाइल ट्रान्सफर हुने समय बढी लाग्छ । त्यसैले पनि फाइल छिटो पठाउन कम्पनीले यस्तो फिचर ल्याउन लागेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १८:४९