काठमाडौं । कक्षा १२ को परीक्षाका क्रममा परीक्षा केन्द्रका केन्द्राध्यक्ष बाहेक अरू कसैले मोबाइल फोन लैजान नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै केन्द्राध्यक्ष बाहेक अन्यलाई परीक्षा हलमा फोन लैजान निषेध गरेको हो ।
"केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीहरू समेतको मोबाइल जफत गरी कारबाही गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै अब उप्रान्त समेत परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइएको छ," बोर्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गरिने बोर्डले जनाएको छ । त्यसका साथै बोर्डले केन्द्राध्यक्षहरूलाई सोही अनुसार काम गर्न निर्देशन दिएको छ ।