close

बिजुलीको पोलमा बीवाईडी ईभी ठोक्किंदा इन्टरनेट सेवा प्रभावित

टेकपाना टेकपाना

बैशाख २९, २०८१ १२:४१

बिजुलीको पोलमा बीवाईडी ईभी ठोक्किंदा इन्टरनेट सेवा प्रभावित

काठमाडौं । शनिवार बिहानदेखि ललितपुरको कुपन्डोल क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको छ । बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको विद्युतीय कार बीवाईडी एट्टो थ्री अनियन्त्रित भई सडक छेउमा भएको पोलमा ठोक्किंदा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार गाडी दुर्घटनापछि त्यस क्षेत्रमा इन्टरनेट सेवा ठप्प भएको छ ।

“अहिले मर्मतको काम भइरहेको छ,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक सुवेदीले भने, “दुर्घटनाले गर्दा सीसीटिभी र इन्टरनेटको तार काटिएको छ । त्यसैले यी दुवै सेवा प्रभावित भएका छन् ।”

इन्टरनेट प्रदायक संघ, नेपाल (आईस्पान)का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काका अनुसार कार दुर्घटनापछि लबिम मल आसपासमा पनि इन्टरनेट सेवा प्रभावित भएकाे छ । शीघ्र मर्मतका लागि अहिले विभिन्न इन्टरनेट सेवा प्रदायकका प्राविधिक खटिएकाे उनले जनाए ।

त्यस्तै ललितपुरका अन्य क्षेत्रमा पनि आज इन्टरनेट सेवा अवरुद्ध भएको छ । दिउँसो ३ बजे हुने मच्छिन्द्रनाथ रथयात्राका लागि त्यहाँको तार काटिंदा इन्टरनेट सेवा अवरुद्ध भएको प्रहरी उपरीक्षक सुवेदीले सुनाए ।

रथ यात्रा हुने बाटोमा पर्ने तारहरू काट्दै मिलाउँदै लैजाने उनको भनाइ छ । ललितपुर प्रविधि कम्पनीहरूको हब भएको क्षेत्र पनि हो । इन्टरनेट सेवा अवरुद्ध हुँदा त्यहाँका कम्पनीलाई प्रत्यक्ष-अप्रत्यक्ष असर पर्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८१ १२:४६