close

जब विद्यार्थीको साटो पढ्न रोबोट स्कुल जान थाल्यो…

टेकपाना टेकपाना

बैशाख ३१, २०८१ १४:५२

जब विद्यार्थीको साटो पढ्न रोबोट स्कुल जान थाल्यो…

काठमाडौं । अहिले सामाजिक सञ्जालमा विद्यार्थीको साटो पढ्न रोबोट स्कुल गएको भिडिओले चर्चा पाइरहेको छ । जर्मनीको एक विद्यालयका लेनस नाम गरेका ७ वर्षीय बालक मुटु र फोक्सोसम्बन्धी रोगले थला परेपछि उनको साटो स्कुलमा रोबोट गइरहेको भिडिओमा देखाइएको छ । 

हुन त कोभिड महामारीपछि विश्वव्यापी रूपमा अनलाइन कक्षा लिने प्रचलन बढेको छ । भौतिक कक्षा सम्भव नहुने वा तुलनात्मक रूपमा कम खर्चमा अध्ययन गर्न चाहनेका लागि यो उपयुक्त विकल्प पनि हो । 

तर, ७ वर्षीय ती बालकलाई त्यसरी अनलाइन क्लासमा सहभागी हुन झन्झट लाग्यो । जसले गर्दा उनले भौतिक रूपमै कक्षामा गएर अध्ययन गरेको अनुभव पाउन रोबोटको सहारा लिए । “सुरुमा त मलाई मेरो साटो रोबोट स्कुलमा गएर पढ्ने र मैले केही गलत बोल्छु कि भन्ने कुराले  गाह्रो लागेको थियो,” स्थानीय डीडब्लू न्युजसँग कुरा गर्दै ती बालकले भने, “किनभने त्यो मेरा लागि नयाँ थियो । कहिलेकाहीं कनेक्सन राम्रो हुन्थेन । तर, दिनानुदिन त्यसरी नै पढ्न थालेपछि अहिले बानी परेको छ ।”

डीडब्लू न्युजका अनुसार उक्त रोबोट विद्यार्थीको बेन्चमा राखिन्छ । त्यसपछि उक्त रोबोट उता घरमा रहेका लेनसको ट्याब्लेटमा कनेक्ट हुन्छ । उनी ट्याब्लेटबाटै त्यसलाई नियन्त्रण गर्न सक्छन् । ट्रयाकप्याडबाटै रोबोटमा भएको क्यामेरा आफूले चाहेको ठाउँमा मोड्न सक्छन् । साथीहरू र शिक्षकले बोलेको उनी सुन्न पाउँछन् र उनले बोलेको आवाज रोबोटबाट निस्किन्छ । उनी कक्षाको कुन भागमा हेर्न खोजिरहेका छन् भन्ने सबै ट्याब्लेटबाटै नियाल्न सकिन्छ ।

अनलाइन कक्षामा पढ्ने मात्र हुन्छ । शिक्षकका कुरा सुन्नुपर्ने हुन्छ । त्यसपछि मात्र विद्यार्थीले आफ्नो कुरा राख्न सक्छ । तर, रोबोट प्रयोग गरेपछि ती विद्यार्थीलाई अन्तरक्रिया गर्न सहज भएको छ । छोरालाई कोठामा आफू एक्लै भएको महसुस नै नभएको उनकी आमाले बताएकी छिन् । 

“एकान्तमा बसेर पुस्तक पढ्दा उसलाई त्यति रमाइलो लाग्दैन थ्यो होला,” उनकी आमा भन्छिन्, “तर, यसबाट साथीहरूसँग अन्तरक्रिया गर्न, साथीहरूसँग छलफल गरेर ग्रुप वर्क गर्न उसलाई सहज भएको छ ।”

लेनस मुटु र फोक्सोको बिरामी भएकाले उनी त्यति सहजै हिड्न सक्दैनन् । विद्यालयमा एलिभेटर नभएकाले उनलाई आफ्नो कक्षामा पुग्न पनि सकस हुने उनकी आमा सुनाउँछिन् । त्यस्तै हरेक विषयका लागि छुट्टाछुट्टै क्लास परिवर्तन गर्नुपर्ने भएकाले पनि उनलाई भौतिक कक्षामा उपस्थित हुन गाह्रो छ । 

रोबोटले ती विद्यार्थीलाई कक्षाकोठामै गएर पढेको जस्तो अनुभव दिन मात्रै सघाएको छैन । त्यस अलावा उनलाई साथीहरूसँग घुलमिल हुन, आफ्ना कुराहरू राख्न पनि मद्दत गरेको छ । 

“जुममा कुरा गर्दा आफूलाई त्यहीं भएको जस्तो अनुभव हुँदैन,” ती बालक भन्छन्, “तर, यो रोबोट भएपछि मलाई हरेक समय म साथीहरूसँगै छु जस्तो लाग्छ । साथीहरूसँगै बसेर पढिरहेको छु जस्तो लाग्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८१ १४:५२