काठमाडौं । अनलाइनमा समय व्यतित गर्ने बानीलाई प्रायः नकारात्मक रूपमा चित्रण गरिन्छ । तर हालैको एक नयाँ अध्ययनले इन्टरनेट प्रयोगले मानिसहरूको स्वास्थ्यलाई राम्रो बनाउने गरेको निष्कर्ष निकालेको छ ।
अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु प्रजिबिल्स्की र टिलबर्ग युनिभर्सिटीका डाक्टर म्याटी वुरेको नेतृत्वमा गरिएको एउटा विश्वव्यापी अध्ययनले इन्टरनेट प्रयोग र मानव सुखबिचको सकारात्मक सम्बन्ध रहेको देखिएको हो । उनीहरूको अध्ययन ‘टेक्नोलोजी, माइन्ड एन्ड बिहेभियर’ नामक जर्नलमा प्रकाशित छ । यो अनुसन्धान प्रविधिको प्रयोग, मनोविज्ञान र मानव व्यवहारसँग सम्बन्धित छ ।
सन् २००६ देखि २०२१ सम्म चलेको यो अध्ययनमा १५ वर्ष माथिका २४ लाख व्यक्तिहरूलाई सहभागी गराइएको थियो । ती सहभागीहरू १६८ देशबाट थिए । अध्ययनकर्ताहरूले सहभागीहरूमाथि इन्टरनेट पहुँच र प्रयोग, जीवन सन्तुष्टि, सामाजिक जीवन, जीवनको उद्देश्य, दैनिक नकारात्मक र सकारात्मक अनुभव सहितका आठ सूचकमा अध्ययन गरेका थिए ।
यस अध्ययनले इन्टरनेट पहुँच भएका वा सक्रिय रूपमा इन्टरनेट प्रयोग गर्ने व्यक्तिहरूमा जीवन सन्तुष्टि र सामाजिक सुख बढी भएको पत्ता लगाएको छ । अध्ययनमा कूल सहभागी मध्ये ८४.९ प्रतिशतले इन्टरनेटको पहुँच र प्रयोगले उच्च सुख मिल्ने, ०.४ प्रतिशतले नकारात्मक हुने र १४.७ प्रतिशतले खासै प्रभाव नपार्ने बताएका थिए ।
त्यस्तै अध्ययनले इन्टरनेट पहुँच भएकाहरूको जीवन सन्तुष्टि इन्टरनेट पहुँच नभएकाहरूको तुलनामा ८.५ प्रतिशत बढी रहेको देखाएको छ। तर त्यसको कारण र प्रभावबारे भने अध्ययनले केही पनि बताएको छैन । यसका साथै अध्ययनले मानिसहरूले इन्टरनेट प्रयोग गरेर बिताएको समय वा उनीहरूले कुन प्रयोजनमा प्रयोग गरे भन्ने कुरालाई पनि हेरेको छैन ।