काठमाडौं । यदि कुनै पनि चिज उचित रूपमा प्रयोग गरिएन भने त्यसको नकारात्मक असर देखिन थाल्छ । सामाजिक सञ्जालको हकमा समेत यही नियम लागु हुन्छ । जहाँ तपाईंको सानो लापरबाहीले समेत तपाईंलाई भारी नोक्सानी ब्यहोर्नुपर्ने हुन सक्छ ।
यस्तोमा सामाजिक सञ्जाल प्रयोग गर्दा सावधानी अपनाउन जरुरी हुन्छ । सामाजिक सञ्जाल आजको समयमा अनलाइन ठगी तथा धोकाधडीको सबैभन्दा सजिलो तरिका बनिसकेको छ । सामाजिक सञ्जालबाट आम प्रयोगकर्तालाई भारी नोक्सान पुर्याउने गरिएको छ ।
वास्तवमा ह्याकरले फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालबाट तपाईँका निजी तथा व्यक्तिगत जानकारी चोर्ने गर्छन् र त्यसपछि तपाईंको साथी बनेर तपाईंलाई नै ठग्ने काम गर्छन् । यस्तोमा तपाईंले सामाजिक सञ्जालको विषयलाई लिएर सावधान हुनुपर्छ ।
सामाजिक सञ्जालमा यसरी हुन्छ ठगी
स्क्यामर अर्थात् ठगहरूले सामाजिक सञ्जालबाट तपाईंको नजिकका साथीहरूलाई पहिचान गर्छन् र त्यसपछि तपाईंलाई मेसेज गरेर भन्छन्ः "म तपाईंको साथी बोल्दैछु, मेरो एक्सिडेन्ट भयो, फोन फुट्यो र सिम कार्डले काम गरिरहेको छैन । म अस्पतालमा भर्ना भएको छु । मलाई पैसा ट्रान्सफर गरिदिनु होस् ।" यस्ता अनेकौं प्रकारका बहाना बनाएर तपाईंसँग पैसा लुट्ने जुक्ति निकाल्छन् ।
यति भनेपछि केही मानिसहरूले अनुरोध गरिएको नम्बरमा रकम ट्रान्सफर गरिदिन्छन् । स्क्यामर तथा ठगहरूले तपाईंसँग यस्ता कुरा गर्छन् कि, जसबाट तपाईंलाई त्यो आफ्नै साथी हो भन्ने भान पर्छ । कतिपय हकमा त तपाईंको फ्रेन्ड लिस्टमा भएको नजिकको आफन्त वा साथीभाइकै फेसबुक अकाउन्ट ह्याक गरिएको हुन्छ ।
त्यस बाहेक तपाईंको चिनजानकै व्यक्तिको नाममा नक्कली सामाजिक सञ्जाल अकाउन्ट समेत खोल्न पछि पर्दैनन् । आजको दिनमा अनलाइन गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड बनाउने कार्यबाट समेत टाढा बस्नुपर्ने हुन्छ । किनकि यस प्रकारले हनी ट्र्याप अर्थात् माया जालमा फसाएर ब्ल्याकमेल गरी रकम असुल्ने दाउ खोजिरहेका हुन्छन् ।
यस प्रकारले अधिकांश मामिला प्रहरीसम्म पुग्न समेत पाउँदैनन् । समाज तथा घरपरिवारमा आफ्नो इज्जत प्रतिष्ठा गुम्ने डरले हनी ट्रयापका मामिला प्रहरीसम्म पुग्दैनन् । जसबाट अपराधी सहजै बच्न तथा उम्किएर भाग्ने गर्छन् ।
जोगिने कसरी ?
यदि जरुरी छैन भने सकेसम्म आफ्नो सामाजिक सञ्जाल अकाउन्ट पब्लिक नगर्नुहोस् । गर्नै परे पनि आफ्नो व्यक्तिगत पहिचान खुल्ने गरी गोप्य जानकारी छरपस्ट ढङ्गले राख्ने तथा शेयर गर्ने काम नगर्नुहोस् ।
यो गर्दा कुनै अन्जान व्यक्तिले तपाईंको सामाजिक सञ्जाल अकाउन्टबाट व्यक्तिगत जानकारी हात पार्न सक्दैन । यस बाहेक अपरिचित व्यक्तिले पठाएको फ्रेन्ड रिक्वेस्ट वा मेसेज रिक्वेस्ट स्वीकार नगर्नुहोस् ।
यदि आफ्नो फ्रेन्ड लिस्टमा कुनै अन्जान व्यक्ति जोडिएको छ भने हटाइहाल्नुहोस् । नजिकको वा चिनजानकै व्यक्तिको नाममा नक्कली अकाउन्ट बनाएर समेत यस्ता ठगहरूले सामाजिक सञ्जालमा तपाईंमाथि निगरानी राखिरहेका हुन सक्छन् भन्ने कुरामा ध्यान दिनुहोस् । कसैलाई पनि आफ्नो फोनमा आएको ओटीपी कोड वा बैंकिङ विवरण नदिनुहोस् ।
कुनै अपरिचित स्थानमा भएको वाई-फाई नचलाउनु होस् । अर्काको कम्प्युटरमा आफ्नो सामाजिक सञ्जाल अकाउन्ट लगइन गर्ने काम बिर्सिएर पनि नगर्नुहोस् । सामाजिक सञ्जालमा आफ्नो बारेमा कम भन्दा कम जानकारी मात्र राख्नुहोस् । अनलाइन डेटिङ वा फ्रेन्ड बन्ने साइट तथा एपहरू प्रयोग गर्नुहुन्छ भने अतिरिक्त रूपमा सावधान रहनुहोस् ।