हाम्रो पात्रोको यूआई परिवर्तन हुँदै, अब आफैंले चाहेको फिचर मात्र राख्न सकिने
जेठ ९, २०८१ १३:२४
काठमाडौं । सबैभन्दा बढी डाउनलोड भएको नेपाली एप हाम्रोपात्रोको युजर इन्टरफेस (यूआई) परिवर्तन हुने भएको छ । मङ्गलबार सामाजिक सञ्जालमा एक डेमो भिडिओ राख्दै हाम्रोपात्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले यूआई परिवर्तन हुन लागेकाे जानकारी दिएका हुन् ।
कम्पनीका अनुसार हाम्रोपात्रोको होमपेज नयाँ डिजाइनमा आउनेछ । डेमोका रूपमा सार्वजनिक गरिएको भिडिओमा होमपेजको डिजाइन साधारण र आकर्षक देखिन्छ ।
नयाँ डिजाइन यूआईमा सबैभन्दा माथि हेडरपछि सर्चबार राखिएको छ । त्यसपछि तल प्रयोगकर्तालाई स्वागत गरिएको पोस्टर देख्न सकिन्छ । त्योभन्दा तल त्यो दिनमा के परेको छ, त्यसको जानकारी राखिएको छ । त्यसभन्दा तलपट्टि भने हाम्रोपात्रोका विभिन्न सेवाहरूको आइकन राखिएको छ ।
“यो कम्तीमा एक महिना बढीमा दुई महिनामा सार्वजनिक हुन्छ,” टेकपानासँग कुरा गर्दै हाम्रोपात्रोकी फिनटेक अपरेसन डाइरेक्टर सुदिना गौतमले भनिन्, “होमपेजमा प्रयोगकर्ताले आफूलाई राख्न मन लागेको फिचर राख्न पाउने, हटाउन मन लागेको सेक्सन हटाउन पाउने सुविधा हुन्छ ।
अहिले हाम्रोपात्रोको फुटरमा केही राखिएको छैन । अब नयाँ अपडेटमा भने फुटरबारमा होम, क्यालेन्डर, एक्स्प्लोर र थपको अप्सन हुने कम्पनीले जनाएको छ । यो अपडेट कहिलेदेखि उपलब्ध हुन्छ भन्ने स्पष्ट छैन ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ १३:२४
