close

सारथी, टुटल, सस्तोडिल जस्ता फेलियर स्टार्टअपबाट के सिक्ने ?

जेठ ९, २०८१ १८:४

सारथी, टुटल, सस्तोडिल जस्ता फेलियर स्टार्टअपबाट के सिक्ने ?

कुनै पनि देशलाई अगाडि बढाउन स्टार्टअपहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । अझ नेपाल जस्तो देशका लागि त झनै आवश्यकता छ । अहिले नेपालमा स्टार्टअपहरू खुल्ने क्रम पनि बढेको छ । तर नेपाली स्टार्टअपहरू सञ्चालनमा आएको केही समयपछि बन्द हुने समस्या देखिन थालेको छ । यस्तो समस्या अन्य देशको भन्दा पनि बढी छ ।  

नेपालमा छोटो समयमै चर्चामा आएका टुटल, सस्तोडिल, ग्यापु, सारथी लगायतका स्टार्टअप अहिले बन्द भइसकेका छन् । यस्तै थुप्रै स्टार्टअप छन्, जो सञ्चालनमा आएको केही समयमै बन्द भए । यस्तो हुनुको एक कारण नेपालमा अलि अपरिपक्व तरिकाले स्टार्टअप सुरु हुनु पनि हो । कतिपयले कलेज पढ्दादेखि नै स्टार्टअपका लागि विभिन्न कामहरू गरिरहेका हुन्छन् ।

म जुन बेला कलेजमा थिएँ, त्यही बेला हामीले पनि भोटिङ मसिन बनाएका थियौं । त्यस्तै अहिले पनि कतिपय कलेजमा पढिरहेकाहरूले विभिन्न स्थापित ब्रान्ड बनिसकेकाहरूको जस्तै प्रोडक्ट वा प्लेटफर्म बनाउँछन् । पठाओ जस्तै राइड शेयरिङ एप, दराज जस्तै शपिङ साइट आदि बनाएँ भन्छन् । त्यो बनाउनु ठुलो कुरा होइन । तर परिपक्व नहुँदै बनाएका त्यस्ता प्रोजेक्टबारे बजारमा हल्ला फैलाइन्छ । जब सुरु गर्ने बेला आउँछ, त्यतिबेला समस्या नै समस्याले घेरिएर केही समयमै बन्द हुन पुग्छ ।

त्यसैले नेपालमा स्टार्टअप नभएका होइनन्, छन् तर अपरिपक्व तरिकाले सुरु भएका धेरै छन् । नेपालमा सानो स्तरमा सुरु गरेर सानै स्तरमा रमाउने स्टार्टअपहरू अहिले पनि फेल भएका छैनन् । तर सानोबाट सुरु गरेर ठुलो स्तरमा वा बढी फड्को मार्न खोज्ने स्टार्टअपहरू कि तत्कालै असफल हुन्छन्, कि त पछि गएर समस्यामा पर्छन् । नेपालमा आउने कुनै पनि स्टार्टअप चल्ने वा नचल्ने भन्ने विषय त्यसले अपनाएको बिजिनेस मोडेलमा पनि भर पर्छ ।

पछ्याएको बिजिनेस मोडेल गलत हुँदा पनि केही स्टार्टअपले महिनामा १० औं लाख आम्दानी गरेपनि, त्यो भन्दा बढी खर्च देखिन्छ । अनि बन्द हुन बाध्य हुन्छन् । नेपालमा ठुला कम्पनीले साना स्टार्टअप खाइदिने ट्रेन्ड सुरु हुनुमा राइड शेयरिङ स्टार्टअप टुटलको हात छ । टुटलले गुगल म्याप प्रयोग गर्थ्यो । त्यसले गर्दा टुटललाई एकैपटक ७० लाखको बिल आएको समाचार बाहिर आएको थियो ।

गुगलको म्याप प्रयोग गरेर व्यवसाय लामो समयसम्म जान सक्छ कि सक्दैन भनेर मूल्याङ्कन गर्नुपर्ने थियो । तर त्यसो नगरी आएकाले टुटललाई गाह्रो भयो । त्यसैबिच पठाओ आयो । पठाओले गुगल म्याप हेर्नको लागि मात्रै प्रयोग गर्छ । हामीले लोकेसन खोज्दा कहिलेपनि गुगल म्याप आउँदैन, उनीहरूको आफ्नै म्याप आउँछ । लोकेसन भेटिंदैन । त्यसमा लोकेसन थपेपछि पठाओले डेटा बटुलिरहेको हुन्छ । 

नेपालमा धेरै ठुलो लगानी भएको कम्पनी आयो भने पनि त्यसले सानो लगानीको स्टार्टअपलाई खाइदिन्छ । पठाओको फिचर र बिजेनस मोडेलले टुटललाई खाइदियो । अब नेपालमा मैले पठाओलाई तल पार्नु छ भने त्यसको भन्दा पनि ठुलो लगानी ल्याउनुपर्छ । अर्बौंको लगानी ल्याएर अर्को कम्पनी खोलें भने मैले त्यहाँ नेपालभरका राइडरलाई पठाओ भन्दा राम्रो अफर दिएमा उनीहरू मसँग आउँछन् ।

महिनामा तोकिएको रकम कमाउन नसके बाँकी रहेको रकम कम्पनीले राखिदिन्छ भन्यो भने सबै राइडर मसँग आउँछन् । तर राइडरको नपुगेको रकम थपिदिन मसँग पर्याप्त लगानी हुनुपर्‍यो । यसरी टन्नै पैसा भएको कम्पनीले अर्को कम्पनीलाई डुबाइदिन्छ । सस्तोडिल पनि शीर्ष प्लेटफर्म बनेको थियो । तर सर्भर लागत व्यवस्थापन गर्न गाह्रो भएर बन्द हुन पुग्यो ।

अहिले 'दराज' एप अन्तर्राष्ट्रिय स्तरको छ । त्यो एप चलाउने तरिका, सामानको ट्र्याक गर्ने फिचर अलि एक्सप्रेसको जस्तो छ । त्यसैले सस्तोडिल प्रयोग गर्ने मानिसहरू कम हुँदै गए । यस्तै कुराहरूले फरक पार्छ ।

कुनै पनि व्यवसायको प्रतिस्पर्धामा आइसकेपछि 'एक्स्ट्रा' हुनुपर्छ । मेरो नजरमा यी स्टार्टअप मात्रै नभई यिनले अपनाएका बिजनेस मोडेल फेल भएका हुन् । बिजनेस सुरु गर्नुअघि नै कुनै एप तथा स्टार्टअपले कसरी आम्दानी गर्छ भन्नेमा स्पष्ट हुनु पर्छ । आम्दानी भएपनि त्यसबाट फाइदा कति भयो भन्ने हुन्छ । नेपालमा मैले आइडिया मात्रै भनिदिन्छु । आइडियाको भरमा पैसा लगानी गरिदिने मान्छे भेटिन्छन् । यहाँ लगानी खोज्न सजिलो छ । 

बिना योजना सुरु गरिएका स्टार्टअप फेल भएका छन् । अन्य देशमा त्यस्तो हुँदैन । सफ्टवेयर स्टार्टअप केही न केही मात्रामा बढ्ने सम्भावना छ भने मात्रै लगानीकर्ताले लगानी गर्छन् । त्यसो गर्दा कम्पनी पनि अगाडि बढ्न सक्छ । नाफा पनि कमाउँछ ।

स्टार्टअपमा मेरो अनुभव

विगत १५ वर्षदेखि म सफ्टवेयर डेभलपमेन्ट इन्डस्ट्रीमा काम गरिरहेको छु । सन् २००९ मा मैले स्नातकोत्तर गरेको थिएँ । सुरुमा आईटी कलेजहरूमा पढाएँ । त्यसपछि मैले काठमाडौंमा एन्डमाइन नेपाल भन्ने अस्ट्रेलियनका लागि काम गर्ने कम्पनीमा ६/७ वर्ष काम गरें । बिचमा अन्य स्टार्टअप कम्पनीमा पनि काम गरें । अहिले क्वालालम्पुरको कस्टेला स्टार्टअप कम्पनीमा सुरुआत चरणदेखि नै काम गर्दै आइरहेको छु । त्यसले फिल्ड सर्भिसमा काम लाग्ने सास (सफ्टवेयर एज अ सर्भिस) प्रोडक्टहरू बनाउँछ । जसको क्लाइन्ट मलेसिया, सिंगापुर, अस्ट्रेलिया लगायत छन् । मैले नेपालबाटै उक्त कम्पनीमा मोबाइल एपको डिपार्टमेन्ट हेर्छु । 

नेपालका स्टार्टअप र बाहिरका स्टार्टअप दुवैमा काम गरेको अनुभव छ । बाहिरको स्टार्टअपको सन्दर्भमा मेरो कम्पनीले अहिले सफ्टवेयर डेभलप गरेर बिक्री गरिरहेको छ । तर यो स्टार्टअप कम्पनी सुरु गरेको पहिलो वर्ष हामीले नदेखिने रूपमा सफ्टवेयरलाई बलियो बनाएर परिपक्व बनायौं । बाहिरको कम्पनीले प्रोडक्ट बनाएपछि एक/दुई जना क्लाइन्टलाई समात्छ । उनीहरूको प्रतिक्रिया लिन्छ । त्यति बेलासम्म बजारमा कुनै हल्ला भएकै हुन्न । बिस्तारै आम्दानी गर्दै जान्छ । सानो बजेटमा स्टार्टअप खोलेर रातदिन मेहनत गर्नुपर्ने हुन्छ ।

स्टार्टअप कम्पनीमा काम गर्ने स्टाफहरूलाई धेरै प्रेसर हुन्छ । थोरै पैसामा थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने हुन्छ । कतिपय स्टार्टअपमा सञ्चालक नै डेभलपर हुन्छ । उसको शिक्षा पनि त्यही क्षेत्रको भइदियो भने उसले आफूले पनि पछि मेहनत गर्न सक्छ । एउटा तहमा पुगेपछि आम्दानी देखाउँछ ।

मेरो स्टार्टअपले महिनामा यति लाख रुपैयाँ आम्दानी गर्न सक्छ भन्ने भएपछि बल्ल साझेदार खोज्दै हिँड्छ । त्यसलाई फन्ड रेज गर्ने भनिन्छ । स्टार्टअपको लागि ठुला लगानीकर्ता खोज्नुपर्‍यो भने अहिले मेरो स्टार्टअपले यति क्लाइन्टहरू बनाएको छ, यसले यति आम्दानी गर्छ भनेपछि बल्ल लगानीकर्ताले धेरै लगानी गर्छन् । नेपालमा स्टार्टअप भन्ने बित्तिकै प्रविधिसँग सम्बन्धित छन् ।

त्यस्ता स्टार्टअप तीनदेखि पाँच जना मिलेर सुरु गर्छन् । धेरै खर्चिलो हुने भएकोले धेरै जना कर्मचारी राख्न सकिंदैन । सुरुमै धेरै कर्मचारी राख्न धेरै लगानी आउनुपर्छ । लागत र मुनाफा नहेरीकन धेरै रकम लगानी गरेर स्टार्टअप सुरु गर्‍यो भने फेल हुने जोखिम हुन्छ । कतिपय स्टार्टअप साथीसँग मिलेर खोलिएका हुन्छन् । तर उनीहरू सफ्टवेयर डेभलपर मात्रै हुन्छन् । त्यसपछि त्यहाँ मार्केटिङको काममा कमजोरी देखा पर्न थाल्छ ।

फरक क्षेत्रका साथीहरू मिलेर खोलेको स्टार्टअप सफल हुने सम्भावना बढी हुन्छ । मेरो पृष्ठभूमि र मैले गरेको स्टार्टअप एउटै हो भने भोलि स्टाफहरू नहुँदा पनि मैले मेहनत गरेर एक्लैले पनि स्टार्टअप बनाएर ठुलो व्यवसाय गर्न सक्छु । अहिले 'फोटो पीईए' भन्ने एउटा अनलाइन एप छ । जुन फोटोशप जस्तै छ । यो स्टार्टअप सुरु गर्नेले एक्लैले यो एप बनायो अनि आफैंले सार्वजनिक गर्‍यो । अहिले त्यसले लाखौं रुपैयाँ कमाइरहेको छ ।

मेरो पढाइ स्टार्टअपसँग सम्बन्धित भयो भने सफल हुन्छ । स्टार्टअप सुरु गर्न आर्थिक अवस्था एकदमै महत्त्वपूर्ण हुन्छ । कलेज सकिने बित्तिकै स्टार्टअप गर्न जति सजिलो हुन्छ, उमेर सकिएपछि, परिवार ठुलो भएपछि गाह्रो हुन्छ । स्टार्टअप सुरु गर्दा १/२ वर्ष त चल्दैन, घाटामा गएको हुन्छ ।

त्यति बेला परिवार कसरी चल्छ भन्ने कुरामा आर्थिक अवस्थाले धेरै भूमिका खेल्छ । स्टार्टअपमा रातबिरातसम्म पनि खटेर काम गरिन्छ । जति पनि युवा हुन्छन्, उनीहरूले खटेर एउटा स्तरसम्म ल्याउँछन् । त्यसपछि मात्रै विभिन्न स्टाफ, एचआर लगायतका कर्मचारी राखेर कम्पनी बन्ने हो । 

जटिल सरकारी प्रक्रिया 

मैले हार्डवेयर स्टार्टअपमा केन्द्रित हुने सोच बनाएको थिएँ । त्यसका लागि मैले अनुसन्धान गरें । त्यस क्रममा स्टार्टअप खोल्नेबारे सरकारको नीति त्यति नराम्रो पाइनँ । मैले घरमा बसेर एकैछिनमा कम्पनी दर्ता गर्न सक्छु ।

मैले कम्पनीको अडिट लगायत सबै कुरा एकछिनमै गर्न सक्छु । नेपालमा अवसरहरू छन् । मैले मेहनत गर्दा पनि सरकारले सर्त अनुसार कर छुट दिन्छ । कृषि लगायत अन्य अनुसन्धानमा आधारित स्टार्टअपमा कर पनि छुट दिएको छ । तर अहिलेको बजार भनेको यी दुई ओटा क्षेत्रलाई मात्रै हेरेर हुँदैन । .

सुरुको दुई वर्ष स्टार्टअपले वृद्धि गर्ने चरण हो । बच्चाजस्तै हुन्छ स्टार्टअप, धेरै ख्याल राख्नुपर्छ । सुरुमा करको लाभ सबै स्टार्टअपलाई दिने, त्यसपछि बल्ल निश्चित कर तिर्नुपर्ने भन्ने कानुन विदेशतिर हुन्छ । सिंगापुरतिर-दुबईतिर कर एकदम कम लाग्छ । पहिले वृद्धि हुनु पर्‍यो । राम्रो आइडियामा सरकारले लगानी गरिदिएको हुन्छ । यस खाले वातावरण नेपालमा छैन ।

नेपालमा जति गर्ने हो, आफैंले गर्नुपर्छ । सरकारको यो जटिल प्रक्रियासँग लड्दै अगाडि बढ्नुपर्छ । मैले कुनै आइडियामा काम गरें भने त्यो विदेशतिर नौलो हुँदैन । विदेशतिर सामान्य मानिन्छ, तर नेपालमा नौलो हुन्छ । किनकि नेपाल भर्खर म्यानुअलबाट अटोमेटेड सिस्टममा जाँदै छ ।

सरकारी नीति र करमा केही छुट दिने हो भने नेपालमा सजिलो हुन्छ । सरकारले कानूनमा हेर्‍यो भने विभिन्न अफरहरू, ऋणमा पनि सहुलियत पाउने कुरा नेपालमा आउँछन् । तर त्यसको फाइदा कसले लिएको छ भन्ने थाहा हुँदैन ।

बैंकमा गएर तोकिएको मात्रामा ऋण पाउने भनिएको हुन्छ । तर बैंकमा जाँदा बैंकले थाहा छैन भनिदिन्छ । नेपालको कर्मचारीतन्त्र पनि जटिल छ । कर्मचारीहरूलाई काम गराउन गाह्रो छ । जनताको सेवकको रूपमा नभई जनतालाई नै नोकरको रूपमा व्यवहार गरिरहेका हुन्छन् । त्यसले गर्दा उनीहरू जनताले गर्न खोजेको कुरामा गम्भीर छैनन् । 

मैले हार्डवेयर स्टार्टअपको लागि डिभाइस डेभलप गर्दैछु । त्यसको लागि मैले सानो सानो नेपालमा नपाइने, पाइए पनि महंगो पर्ने सरसामग्री चीनबाट आयात गर्दैछु । अलिएक्सप्रेस लगायत अन्य अनलाइनबाट अर्डर गरेको छु । त्यो सामान हुलाकमा आउँछ । अब हुलाकबाट मलाई 'तपाईको सामान आयो' भन्यो । म लिन गएँ । मैले दुई डलरमा ल्याएको सामानमा मलाई ८० रुपैयाँको कर लगाइदियो । त्यसले गर्दा मैले बनाउन लागेको हार्डवेयर महंगो पर्न गयो । यसरी सरकारको तहबाट जनताहरू अगाडि बढुन् भन्नेमा ध्यान दिइएको छैन ।

सरकारले ठुल-ठुला कुरामा ध्यान दिइरहेको हुन्छ । ससाना कुरामा मतलबै गरेको हुँदैन । ससाना पार्ट्स बेच्नको लागि अनलाइनबाट मगाइएको त हुँदैन । एक डलर, दुई डलरमा ल्याएका सामानमा पनि कर लगाइदिन्छ । त्यसरी कर तिरेर ल्याएको सामानबाट डिभाइस बनाउँदा त्यो सामान चीनको भन्दा महँगो पर्न जान्छ । यसरी यहाँ बिजनेस गर्न धेरै सामान ल्याउँदा धेरै कर पर्छ ।

त्यो सामान जति मेहनत गरेर बनाए पनि कम दाममा निकाल्न खोज्छु भन्दा पनि चीनको भन्दा महंगो नै परिदिन्छ । मैले प्रोडक्ट बनाएर बजारमा लगेर बजार लिइरहेको बेलामा चीनले त्यहि बनाइदियो र एकैपटक हजार पिस ल्याइदियो भने झन् सस्तो बनिदिन्छ । त्यसरी सस्तोमा बेचिदियो भने म डुब्छु । त्यसैले सरकारको ससाना छिद्रहरू छन् भन् त्यसलाई सुधार त गर्नैपर्छ । 

जनस्तरको दबाब

अहिले जो मान्छे सरकारमा पुग्छ, उनीहरूलाई यो क्षेत्रको बारेमा त्यति धेरै ज्ञान नभएको हुन सक्छ । जो मान्छेसँग यो बारेमा ज्ञान छ, उनीहरू सरकारमा पुगेकै हुँदैनन् । सरकार र जानकारबीच अहिले एक खालको कम्युनिकेसन ग्याप देखिन्छ । जति पनि कानुन छन्, पुराना सोचाइबाट बनेका छन्, ति परिवर्तन भइसकेका छैनन् । अहिलेका नीति निर्माताले अहिलेको अर्थतन्त्रको वृद्धि कसरी हुन्छ भनेर बुझ्न सकिरहेको जस्तो देखिंदैन । अहिले चीनमा घरघरमा साना साना स्टार्टअप खुलेका देखिन्छन् ।

कसैले चार्जर मात्रै, कसैले पावरब्याङ्क मात्रै, कसैले खेलौनालाई सोचेर प्रोडक्ट बनाएर एउटा फ्याक्ट्री खोल्छ । उनीहरूले विश्वभर बेचिदिन्छन् । नेपालमा त्यस्तो खालको अवसर कसरी सिर्जना गर्ने होला भन्ने सोचेको देखिंदैन । अब नयाँ पुस्ताका नेताहरूले बुझ्न सक्छन् । उनीहरूले त्यो कुरालाई उठाएको देखिन्छ, तर उनीहरू आफैं अल्पमतमा हुन्छन् । त्यसैले उनीहरूले उठाएको कुरा कहिल्यै पारित हुँदैन ।

यही कुरालाई नेतृत्व तहमा पुगेकाहरूलाई शक्तिशाली कम्पनीले चाह्यो भने सल्लाह गरेर परिवर्तन गर्न सक्छन् । नेपालका ठुलाठुला बैंकिङ नियम कानुनहरू ठुलाठुला घरानाले प्रभावमा पार्न सक्छन्। कतिपय बिजनेस गर्नेहरू लाभ देखेर नै राजनीतिको क्षेत्रमा लागेका हुन्छन् ।

व्यावसायिक व्यक्तिले सबै राजनीतिक दलसँग बराबरको सम्बन्ध राखेको भए हुन्थ्यो । जो मान्छे नजिक हुन्छ, उसले दलको वा आफ्नो फाइदा हुने किसिमले काम गरेको हुन्छ । जस्तै नेपालमा सुनमा लगानी गर्नै मिल्दैन । मैले सुनमा लगानी गर्दा गहनाको रूपमा मात्रै लगानी गर्न सक्छु । गहनामा लगानी गर्छु भन्दा जर्ती ज्याला भनेर कति धेरै लिइदिन्छ । फेरि बेच्ने बेलामा आज १ लाख ३० हजार तोलामा सुन किनभने त्यसलाई भोलि बेच्दा १ लाख ३० हजार पाउन सुनको तोलाको १ लाख ६० हजार हुनुपर्छ । त्यत्रो फरक हुने गरी हिसाब गरेको हुन्छ ।

अरू अरू कुराले गर्दा सुन चाँदी व्यवसायीले आफूलाई फाइदा हुने किसिमले कानून बनाएका छन् । यसरी सरकारले कुनै समूह विशेषलाई हेरेर नियम बनाउँछ । तर यी सबैका बाबजुद सरकारको कानून नै नभएपनि वा सपोर्ट बिना पनि सफल हुन सकिन्छ भन्ने उदाहरण हामीले देख्न सक्छौँ । उदाहरणका लागि १० वर्ष अघि पठाओ जस्तो एप बनाउँ भन्दा यो गैरकानुनी हुन्छ भन्ने डर लाग्थ्यो । त्यसपछि टुटल आयो ।

धेरै मान्छेले प्रयोग गर्न थालेपछि सरकारले रोक्छु भन्दा पनि सकेन । त्यसरी नै हामीले मानिसहरूको ट्रेन्ड परिवर्तन गरिदिनुपर्छ । पहिले पहिले डिजिटल पेमेन्ट गरेको मानिंदैन भनिन्थ्यो होला । ईसेवा आइसकेपछि धेरैले प्रयोग गर्न थालेपछि सरकारले स्वतः नियम बनाउन बाध्य भयो । यसरी नियम परिवर्तन हुन जरूरी छ । टुटल आउँदा निजी गाडीले मान्छे बोक्न नपाउने भन्ने नियम थियो । तर कसैले पनि उसलाई रोक्न सकेन । यही किसिमले सरकारलाई दबाब पर्‍यो भने राम्रो हुन्छ । 

स्टार्टअपका लागि नेपालमा सम्भावनाका क्षेत्र

नेपालमा अहिले फिनटेक, स्मार्ट एग्रिकल्चर आदि क्षेत्रमा आधारित स्टार्टअप आवश्यक छन् । तर अहिले राइडशेयरिङ, फुड डेलिभरी लगायत स्टार्टअप धेरै मात्रामा आइरहेका छन् । इकमर्समा पनि आए,  कति आएर पनि बन्द भइसके । मार्केटप्लेसमा 'दराज'को जस्तै शपिङ प्लेटफर्म स्टार्टअप आउने हो भने दराजको भन्दा फरक अवधारणामा आउनुपर्छ । फिनटेक स्टार्टअपहरू नेपालमा त्यति धेरै छैनन् । पीटुपी लेन्डिङ भन्ने हुन्छ

नेपालमा पैसा सापटी लिनुपर्‍यो भने बैंकमा जान्छौं । विदेशतिर बैंकमा जानुपर्दैन । सापटी लिने र दिनेलाई जोड्ने सिस्टम हुन्छ । त्यसलाई पीटुपी लेन्डिङ भनिन्छ । नेपालमा त्यससँग सम्बन्धित कानून नै छैन जस्तो छ । विदेशतिर यो एकदमै सफल भएको छ । त्यस्तै स्मार्ट एग्रिकल्चर जस्ता स्टार्टअपहरू सुरु हुनुपर्छ । म्यानुअल तरिकाले खेती गर्दा उत्पादन कम हुने भएकोले यस्ता स्टार्टअपको खाँचो पर्छ ।

नेपालमा अहिले खाद्यान्न, तेल जस्ता कुनै चिज प्रशोधन गरेर उत्पादन गरेर विदेश पठाउँदा म डुब्छु । सफल हुँदैहुँदैन । किनकि भारतबाट जानुपर्छ । भारतले कर बढाइदिने बित्तिकै बजारमा प्रतिस्पर्धा गर्नै सक्दैन । त्यसैले विदेशमै खोल्नुपर्‍यो । वाईवाईले भारतमा उत्पादन गर्छ । त्यसैले उसलाई सीमाले नछेक्ने, कसैको स्वीकृति लिनु पनि लिनुनपर्ने हुन्छ । स्टार्टअप भनेको सफ्टवेयर र आईटी नै हो । यस्तोमा सास प्रोडक्टहरू बनाउनुपर्छ । अकाउङ्टिङ, भाटभटेनीमा प्रयोग हुने बिलिङ जस्ता ठुलाठुला कम्पनीले प्रयोग गर्ने इन्टरप्राइज सफ्टवेयर 

अन्तर्राष्ट्रियकरण गरेर विदेशतिर बेच्न सक्ने धेरै सम्भावना छ । यसका लागि स्टार्टअपले भारतसँग सहमति गर्नु पर्दैन । सेल्स फोर्स भन्ने हुन्छ । यस्ता खालका प्रोडक्टहरू बनाउन सकिन्छ । यसमा विदेशीहरूले प्रति ग्राहकको आधारमा चलाएबापत लाइसेन्स लिन सकिन्छ । त्यस्तै हार्डवेयर र आईओटी भन्ने आएको छ ।

हार्डवेयर भन्ने बित्तिकै मैले घरलाई कस्तो डिभाइस प्रयोग गरेर सुरक्षा दिन सक्छु भन्ने वा इन्टरनेटको प्रयोग गरेर सीसीटिभी क्यामेरा हेर्ने चलन आएको छ । मेरो घरमा चोर पस्यो भने इन्टरनेटबाट घरमालिकलाई पुग्नुपर्‍यो । यस्तो खाले प्रविधिलाई आईओटी (इन्टरनेट अफ थिङ्ग्स) भनिन्छ । नेपालमा अहिले यसखाले स्टार्टअपको सम्भावना छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ १८:१९