काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्हरूले विदेश जाँदा ठगीमा परेका वा घुस दिन बाध्य बनाइएका नेपालीलाई ईमेल र ह्वाट्सएपमार्फत प्रमाण पठाउन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै सांसद् हरि ढकाल, शिशिर खनाल, सोविता गौतम लगायतले प्रमाण पठाइदिन अनुरोध गरेका हुन् ।
“विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घूस तिर्न बाध्य बनायो ? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई [email protected] मा पठाइदिनुहोस्,” सांसद् गौतम लेखेकी छिन्, “अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ ।”
त्यस्तै सांसद् खनालले ईलेल एड्रेस ‘[email protected]’ र सांसद् हरि ढकालले ह्वाट्सएप नम्बर ९८५११६४१६८ मा प्रमाण पठाइदिन अनुरोध गरेका छन् ।
उनीहरूको पोस्टपछि सामाजिक सञ्जालमा रास्वपासँग जोडिएका अन्य व्यक्तिले पनि आफ्नो विवरण राख्दै प्रमाण पठाइदिन आग्रह गरेका छन् ।
भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।