close

फेसबुक पेज खोजी खोजी किन रेटिङ दिंदैछन् नेपाली ?

टेकपाना टेकपाना

जेठ १२, २०८१ १५:४४

फेसबुक पेज खोजी खोजी किन रेटिङ दिंदैछन् नेपाली ?

काठमाडौं । नेपाली प्रयोगकर्ताले विभिन्न फेसबुक पेजमा रेटिङ दिन थालेका छन् । केही ग्रुपहरूमा सञ्चारमाध्यमको नाम र फेसबुक लिङ्क राखेरै नकारात्मक रेटिङ दिने अभियान सञ्चालन गरिएको छ । कमजोर रेटिङ आउन थालेपछि अधिकांश पेज सञ्चालकले रेकमेन्डेसनको अप्सन डिसेबल गरेका छन् । 

शनिबार बिहानैदेखि आफ्नो फेसबुक पेजमा रिभ्यु आउन थालेपछि डा. ओम मूर्ति अनिलले यसको कारण सोधे । “मेरो फेसबुक पेजमा आज किन होला धेरै जनाले रिभ्यु र रेटिङ गर्न थाल्नु भएको छ ?,” फेसबुक पोस्टमा उनले लेखेका छन् । 

अहिले सार्वजनिक व्यक्तित्व र कम्पनीको पेजमा रिभ्यु आइरहेको देख्न सकिन्छ । कुनै पनि फेसबुक पेज खोल्दा त्यसको डिटेल्स सेक्सन हेर्ने हो भने रेटिङ दिएको देख्न सकिन्छ । जसले रिभ्यु डिसेबल गरेका छन्, ती पेजमा भने यो अप्सन देख्न सकिंदैन ।

फेसबुक पेज खोजी खोजी किन रेटिङ दिंदैछन् प्रयोगकर्ता ?

नागरिकता किर्ते गरेको आरोपमा कान्तिपुर मिडिया ग्रुप (केएमजी)का अध्यक्ष कैलाश सिरोहिया मंगलवार पक्राउ परेपछि सामाजिक सञ्जालतिर पनि त्यसको कुरा उठ्नु स्वाभाविक भइहाल्यो । यो घटना मत बाझिने भएर होला, पक्ष/विपक्ष लिएर कुरा गर्ने संख्या पनि त्यही अनुसार देखिए । यसपछि नै हो, नेपाली पेजमा नकारात्मक टीकाटिप्पणी गर्ने क्रम बढेको ।

अहिले विभिन्न सञ्चार संस्था, सार्वजनिक व्यक्तित्व, राजनीतिक दल लगायतका फेसबुक पेजमा नकारात्मक रिभ्यु दिने प्रवृत्ति चलेको छ । जसले गर्दा ती पेजहरूको रेटिङ घटेको छ । यहीकारण केएमजीले आफू अन्तर्गतकाे ईकान्तिपुर र अन्य फेसबुक पेजको  रिभ्यु नै डिसेबल गरिदिएको छ । यस विषयमा समाचार तथा धारणा पोस्ट गर्ने अन्य चर्चित मिडिया र व्यक्तिहरूको फेसबुक पेजमा पनि नकारात्मक​ रिभ्यु दिने अभियान सुरु भएपछि त्यस्ता पेजले यो फिचर डिसेबल गरेका छन् । 

फेसबुक पेजमा किन आवश्यक हुन्छ रेटिङ ?

कुनै पनि फेसबुक पेजले दिने सेवा कत्तिको प्रभावकारी छ, त्यसबाट सेवाग्राही कत्तिको सन्तुष्ट छन् भन्ने विषय रिभ्यु हेरेर थाहा पाउन सकिन्छ । सेवाग्राहीले कुनै पनि कम्पनी वा व्यक्तिबाट कस्तो सेवा पाएका छन्, उनीहरूको व्यवहार कस्तो लाग्छ, लगायत उनीहरूसँग आफ्नो अनुभव कस्तो छ भन्ने कुरा रिभ्युका रूपमा राख्छन् ।

त्यही रिभ्युका आधारमा कतिले सो पेज रेकमेन्ड (सुझाव) गरेका छन् वा छैनन् भन्ने विश्लेषण गर्छ र फेसबुकले रेटिङ तय गर्छ । रेटिङ शून्यदेखि पाँचसम्मको हुन्छ । जति बढी भयो, त्यति नै राम्रो भन्ने हुन्छ भने जति कम भयो, सो पेजले दिने सेवा नराम्रो भन्ने साधारण बुझाइ छ । 

“हामी पेज रेटिङ दिने प्रयोगकर्ताले सेवा वा प्रडक्ट लिएको छ वा छैन भन्ने प्रमाणित गर्दैनौं,” यस विषयमा फेसबुकले हेल्प पेजमा लेखेको छ । त्यसैले यसले पेजको क्वालिटीलाई भने केही फरक नपर्ने बताइएको छ ।

तर, यसले सर्च इन्जिन अप्टिमाइजेसनमा भने असर गर्छ । सर्च इन्जिनले ग्राहकको रिभ्युकै आधारमा प्रडक्ट र सेवा सुझाव दिएको हुन्छ ।

विशेषगरी बुकिङ डटकम, ट्रिप एड्भाइजर, ईकमर्श प्लेटफर्म, फेसबुक मार्केटप्लेस आदिमा लिस्टिङ भएका सर्भिसलाई एआईले रेटिङ अनुसार र्‍याङ्किङ गर्छ । त्यसैले लोकल एसईओ पर्फर्मेन्समा रेटिङले फरक पार्छ । 

२०१० को दशकताका फेसबुकमा आएको यो फिचरले पेजको गुणस्तरबारे पनि बताउँछ । किनकी उक्त पेजबाट प्रयोगकर्ताले पाउने वस्तु/सेवाका आधारमा नै उनीहरूले रेटिङ गर्ने गर्छन् । अझ सरल तरिकाले बुझ्दा पेज कति राम्रो वा लोकप्रिय छ भन्ने कुराको मापन रेटिङ हो । यसलाई स्थिति, दर्जा, मूल्याङ्कन, वर्गीकरण मूल्याङ्कन जे पनि भन्न सकियो । 

सो कुरालाई सार्वजनिक रुपमा देखाउन फेसबुकले एक देखि पाँच ओटा स्टार (तारा) प्रयोग गरेको छ । यसमा एक भनेको सबैभन्दा खराब र पाँच भनेको उत्कृष्ट भनेर बुझिन्छ । अनि त्यसमा बिचमा अङ्कलाई सोही अनुसार बुझिन्छ । 

विशेष गरेर रेटिङले पेजको इन्गेजमेन्ट, विश्वास, भिजिबिलिटी र अर्गानिक रिचमा असर पार्छ । अर्थात् जति राम्रो रेटिङ, यी कुरामा पेज त्यति नै राम्रो हुन्छ । 

फेसबुकमा कसरी हुन्छ रेटिङको मापन ?

फेसबुकको हेल्प सेन्टर अनुसार कुनै पनि पेजको रेटिङ विभिन्न स्रोतमा आधारित हुन्छ । तर पेजको रेटिङको मूल आधार रिभ्यु (प्रतिक्रिया) र रेकमेन्डेसन (सुझाव) हो । अर्थात् कुनै पनि प्रयोगकर्ताले पेजबारे कस्तो प्रतिक्रिया र सुझाव दिन्छन्,  त्यसले पेजको रेटिङमा फरक पार्छ ।

यसअघि २०१८ मा मात्रै स्टार रेटिङ सिस्टमलाई प्रतिस्थापन गर्दै फेसबुकले रेकमेन्डेसन सिस्टम ल्याएको हो । यसपछि प्रयोगकर्ताले एकदेखि पाँच ओटा स्टारका आधारमा रेटिङ गर्नु पर्दैन । 

कुनै पनि पेजको रेटिङ देखिनका लागि एड्मिनले रेकमेन्डेसन अलाउ गरेको हुन पर्छ । यसका साथै पर्याप्त रेकमेन्डेसन नभएको पेजमा समेत रेटिङ देखिँदैन ।

सम्झनु पर्ने कुरा के छ भने कुनै पनि प्रयोगकर्ताले पेजको रेकमेन्डेसन गर्दै छ भने उसले अडियन्स छान्न पाउँछ । जस्तै: उसले शेयर गरेको रेकमेन्डेसन फेसबुकमा सबै साथीले हेर्ने कि निश्चित साथीले हेर्ने, आफैं निर्धारण गर्न सक्छन् । तर सार्वजनिक रुपमा शेयर गरिएका रेकमेन्डेसन मात्र पेजको समग्र रेटिङका लागि समेटिन्छ । 

यसका साथै प्रयोगकर्ताले दिएको प्रतिक्रिया नितान्त स्वतन्त्र हुन्छ । त्यसमा फेसबुकले कुनै प्रमाणीकरण गर्दैन ।

फेसबुक पेजको रेटिङ हेर्न के गर्ने ?

-कुनै पनि पेज गएर प्रोफाइलमा जानुहोस् ।

-त्यहाँ पेजबारे इन्ट्रो, लोकेसन, फोन नम्बर, ईमेल लगायतका विवरण देखिन्छन् । त्यसैमा पेजको रेटिङ र रेटिङ गर्नेको संख्या देखिन्छ । यदि कुनै पनि पेजले रेटिङ प्राप्त गरेको छैन भने ‘नट यट रेटेड’ भन्ने देखिन्छ ।

कसरी रेटिङ दिने ?

-कुनै पनि पेजमा गएर प्रोफाइलमा जानुहोस् ।

-त्यहाँबाट रेटिङमा क्लिक गर्नु होस् । (पेजको रेटिङ र रेटिङ गर्नेको संख्या)

-अब त्यहाँ माथि उक्त पेज रेटिङ गर्ने हो भनेर प्रश्न सोधिएको हुन्छ । यदि गर्ने भए ‘एस’ र नगर्ने भए ‘नो’मा क्लिक गर्नुहोस् ।

-’एस’ क्लिक गर्दा नयाँ इन्टरफेस आउँछ । त्यहाँ तपाईंले आफ्नो रिभ्यु लेख्न कोठा र रेकमेन्डेसनको अडियन्स छान्ने विकल्प देख्नुहुन्छ । 

-अडियन्समा तपाईंले पब्लिक, फ्रेन्डस्, स्पेसिफिक फ्रेन्ड्स, वन्ली मी जस्ता विकल्प छान्न सक्नुहुन्छ । अनि तपाईंको रिभ्यु कम्तीमा पनि २५ क्यारेक्टरभन्दा लामो हुन पर्छ ।  यति गरेपछि ‘शेयर’मा क्लिक गर्नुहोस् ।

-त्यहाँ तपाईंलाई फोटो राख्ने विकल्प आउँछ । त्यसपछि आफ्नो रिभ्युमा फोटो राख्न चाहनुहुन्न भने ‘स्किप’ गर्नुहाेस् । 

यसरी तपाईंले कुनै पनि पेजलाई रेटिङ गर्न सक्नुहुन्छ ।

पेजको रेटिङ कसरी बन्द गर्ने ?

-पेजको सेटिङमा जानुहोस् । 

-प्राइभेसी हुँदाै 'पेज एन्ड ट्यागिङ' सेटिङमा जानुहोस् । 

-अब तपाईंले पेजको रिभ्यु अरुलाई गर्न दिने/नदिने भन्ने विकल्प देख्नुहुन्छ, त्यसलाई अफ गरिदिनुहोस् ।

यसरी तपाईंले कुनै पनि पेजमा रेटिङ दिनबाट रोक्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ १८:११