काठमाडौं । म्यानमारमा नेपाली सफ्टवेयर तथा प्रविधि प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । याङ्गुनमा रहेको नेपाली राजदूतावासले शुक्रबार ‘नेपाल-म्यानमार व्यापार सम्बन्धः सफ्टवेयर व्यवसायको प्रवर्द्धन’ कार्यक्रमको आयोजना गरेको हो ।
याङ्गुनको चात्रियम होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यानमार निर्यात गर्न सम्भावित क्षेत्र पहिचान गरी दुई देशका आईटी सम्बन्धित सरोकारवालाहरूबिच सम्बन्ध स्थापित गर्नु रहेको थियो ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराएका थिए । नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको चर्चा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्र आन्तरिक रूपमा विकसित तथा पूर्ण रूपमा भरपर्दो रहेको उल्लेख गरे ।
राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात ५० करोड अमेरिकी डलरबाट २५ अर्ब अमेरिकी डलर पुर्याउनुका साथै १५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको जानकारी गराएका थिए ।
साथै, नेपाल-म्यानमार व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एकअर्काको आईटी र फिनटेक उत्पादन तथा सेवाहरू, उद्यमीहरूको सञ्जाल बढाउन र अत्यावश्यक सेवाहरू प्रदान गरी यस क्षेत्रलाई अझ मजबुत बनाउन जरुरी रहेको उनको भनाई थियो ।
त्यस्तै, याङ्गुन क्षेत्रका मुख्यमन्त्री यु सोइथेनले नेपाली आईटी कम्पनीहरूलाई म्यानमारमा स्वागत गर्दै दुई देशका आईटी क्षेत्रहरू बीचको सहकार्यलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै आफ्नो मन्तव्यमा यूएमएफसीसीआईका अध्यक्ष यु आए विनले नेपाली आईटी क्षेत्रले व्यवसाय, प्रक्रिया र आउटसोर्सिङमा गरेको प्रगतिको प्रशंसा गरे । कार्यक्रमले सेवा व्यापारका चुनौती पहिचान गर्न, सफ्टवेयरको मागलाई आपूर्तिसँग आबद्ध गर्न र म्यानमारको बैंकिङ, लघुवित्त र रेमिट्यान्स क्षेत्रमा सान्दर्भिक सफ्टवेयरको सम्भावित प्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवासी नेपाली भेषराज खतिवडाले आफ्नो अनुभव साट्दै नेपाली कम्पनीहरूलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गरे ।
त्यसैगरी, यूएमएफसीसीआईका संयुक्त महासचिव र म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए) का अध्यक्ष आङ्गजेयर लुइनले कार्यक्रमबाट म्यानमारको व्यापार शृङ्खला, आईटी कम्पनीहरू, बैंक, लघुवित्त र वित्तीय संस्थालाई नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीबारे सूचना प्रवाह भएको बताए ।
फिनटेक अलायन्स नेपालका प्रतिनिधिहरूले हाल नेपालबाट निर्यात भइहरेको आईटी उद्योगको विकासबारे प्रकाश पार्दै नेपाली आईटी कम्पनीहरूले प्रदान गर्ने विभिन्न सेवाहरूको जानकारी दिएका थिए । म्यानमारको केन्द्रीय बैंकका उप गभर्नर डा लिन आङले नेपाली आईटी कम्पनीहरूले प्रदर्शन गरेको कोर बैंकिङ सफ्टवेयर, वालेट, कम्प्लायन्स सोलुसन, केवाईसी व्यावस्थापन, रेमिट्यान्स सफ्टवेयर, पेइङ रिसिभिङ एपीआई सफ्टवेयर, माइक्रो फाइनान्स संस्था र सहकारीले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल बैंकिङ सफ्टवेयर बारेमा गहिरो चासो देखाएका थिए ।
कार्यक्रमको अवसरमा विभिन्न १३ ओटा नेपाली कम्पनीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरेका थिए । जसमा बिट्सक्राफ्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनी, डिजिटल एज नेपाल, इन्फिकेयर, इन्फो डेभलपर्स, आईमार्क, आईएमएस सफ्टवेयर, खल्ती प्रोडक्ट, वन प्वाइन्ट फाइनान्सियल सर्भिसेज, सिल्क इनोभेसन, सिनर्जी टेक सफ्टवेयर, टेकमाइन्ड सोलसुसन र एमबैंक टेक्नोलोजी सहभागी रहेका थिए ।