काठमाडौं । कहिलेकाहीँ सक्षम हुँदा हुँदै पनि मान्छे सपनासम्म पुग्न सक्दैन । अमेरिकी नागरिक एड ड्वाइट त्यस्तै परिस्थितिमा पुगेका थिए । उनको पूरा नाम एडवर्ड जोसेफ ड्वाइट जुनियर हो ।
१९३३ मा जन्मेका उनी मूर्तिकार, लेखक, पाइलट र अन्तरिक्ष यात्री हुन् । उनलाई अमेरिकी वायुसेना प्रशिक्षण कार्यक्रममा प्रवेश गर्ने पहिलो अफ्रिकी-अमेरिकी नागरिक भनेर समेत चिनिन्छ । तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको कार्यकालमा उनी नासाको प्रारम्भिक अन्तरिक्ष यात्रीका आकांक्षी समेत थिए । तर विभिन्न कारणले गर्दा सन् १९६३ को अन्तरिक्ष समूहमा उनलाई छनोट गरिएन । त्यो कुरा विवादास्पद समेत बन्यो ।
अन्तरिक्षसम्म पुग्ने उनको सपना ९० वर्षको उमेरमा पूरा भएको छ । गत १९ मेमा जेफ बेजोसको ब्लु ओरिजिनको रकेटमार्फत उनी अन्तरिक्ष पुग्न सफल भएका हुन् । जसले उनलाई अन्तरिक्ष पुग्ने सबैभन्दा वृद्ध व्यक्ति समेत बनाएको छ । यसअघि त्यो कीर्तिमान क्यानेडियन नागरिक विलियम शाटनरको नाममा थियो । २०२१ मा रेकर्ड बनाएका शाटनर एड ड्वाइटभन्दा दुई महिना कान्छा छन् ।
यसअघि कीर्तिमान राखेका शाटनरको पृष्ठभूमि अन्तरिक्ष विज्ञानसम्बन्धी थिएन । शाटनर चलचित्रसँग सम्बन्धित व्यक्ति थिए । एड ड्वाइट भने अन्तरिक्षसँग व्यक्ति नै हुन् । जीवनको उत्तरार्द्धमा त्यो सफलता पाउँदा उनले ‘परिवर्तनकारी अनुभव’ भएको प्रतिक्रिया दिएका दिए । अन्तरिक्ष यात्रीको प्रशिक्षण समाप्त भएको ६० वर्षपछि उनले मौका पाएका हुन् । तर उनको सफलता अन्तरिक्ष पर्यटनका कारण सम्भव भएको हो ।
विज्ञानको चरम विकासका कारण अन्तरिक्ष पर्यटन नयाँ युगमा प्रवेश गरिसकेको छ । पहिले पहिले वैज्ञानिकहरू मात्र अन्तरिक्ष पुग्न सम्भव थियो । अहिले पैसा भए सामान्य मान्छेहरू पनि अन्तरिक्षमा पुग्न सक्छन् । एड ड्वाइट पनि अन्य पाँच यात्रुहरूसँग केही मिनेटका लागि ब्लु ओरिजिन क्याप्सुलबाट अन्तरिक्ष गएका थिए । त्यहाँ उनीहरूले करिब १० मिनेटका लागि समय बिताएका थिए ।
त्यस्तै एड ड्वाइट सम्मिलित उक्त उडान यसअघि सन् २०२२ मा भएको दुर्घटना पछिको पहिलो थियो । यसअघि गत डिसेम्बरदेखि ब्लु ओरिजिनले उडान सुरु गरेपनि मान्छेहरूलाई सहभागी गराइएको थिएन । एड ड्वाइटले रेकर्ड बनाएको उडान ब्लु ओरिजिनको सातौं उडान हो ।
पछिल्लो समय ब्लु ओरिजिन सहित ‘भर्जिन ग्यालेक्टिक’ नामक कम्पनीले अन्तरिक्ष पर्यटनलाई अगाडि बढाइरहेका छन् । यसले गर्दा नयाँ कीर्तिमान कायम हुने अथवा रहर भएकाहरू अन्तरिक्ष जान सम्भव भएको छ ।