close

ब्राजिलको दुर्गम गाउँमा ‍स्टारलिङ्क इन्टरनेट पुगेपछि स्थानीय युवामा बस्यो पोर्न भिडिओको लत

टेकपाना टेकपाना

जेठ २६, २०८१ १६:२२

ब्राजिलको दुर्गम गाउँमा ‍स्टारलिङ्क इन्टरनेट पुगेपछि स्थानीय युवामा बस्यो पोर्न भिडिओको लत

काठमाडौं । एलन मस्कको स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा घना अमेजन वर्षा वनको दुर्गम मारुबो जनजातिमा पुगेको छ । यसले गर्दा प्रविधिको पहुँचबाट निकै टाढा रहेका मारुबो जनजाति पहिलो पटक इन्टरनेटमा जोडिन पाएका छन् । विश्वका नयाँ-नयाँ घटनाक्रम, अत्याधुनिक प्रविधि, शिक्षा र विकासबारे थाहा पाउन पाएका छन् । उनीहरूले इन्टरनेटको सकारात्मक फाइदा उठाइरहे पनि त्यसले केही सांस्कृतिक समस्या पनि निम्त्याएको छ ।

मारुबो जनजाति दुई हजार बढी मानिसहरूको आदिवासी समूह हो । गत वर्षको सेप्टेम्बरमा ब्राजिलमा सेवा सुरु हुँदा स्टारलिङ्कको लो-अर्थ अर्बिट स्याटलाइटमार्फत ती जनजातिले पनि इन्टरनेट सेवा पाए । यसो त इन्टरनेटका धेरै स्पष्ट फाइदाहरू छन् ।

उदाहरणका लागि विश्वको जुनसुकै क्षेत्रमा बसोबास गर्ने आफ्ना प्रियजनहरूसँग भिडिओ च्याट गर्न र सहायताको लागि आपतकालीन कल गर्ने अवसर पाएका छन् । “जब स्टारलिङ्कको इन्टरनेट आइपुग्यो, सबै खुसी थिए,”  न्यू योर्क टाइम्ससँगको एक अन्तर्वार्तामा ७३ वर्षीय साइनामा मारुबोले भने । 

विशेषगरी उनीहरूलाई आपतकालीन सेवा लिन धेरै नै सहज भयो । विषालु सर्पको टोकाइबाट कोही घाइते हुँदा अनलाइनबाट उनीहरू तत्कालै उद्धारका लागि  हेलिकप्टर बोलाउन सक्ने भए ।

इन्टरनेट हुनुअघि मारुबो जनजाति अर्को गाउँका अधिकारीहरूलाई सङ्केत पठाउन एमेच्योर रेडियोमा निर्भर हुन्थे । यो प्रक्रिया एकातर्फ बढी श्रम खर्च हुने किसिमको थियो भने अर्कोतर्फ कहिलेकाहीं खतरनाक सावित हुन्थ्यो । किनभने उनीहरूले चाहेकै समयमा सहायता पाउन सक्दैनथे । “त्यसैले इन्टरनेटले पहिले नै धेरैको जीवन बचाएको छ,” इन्टरनेट पहुँचले आपतकालीन अवस्थामा खेल्ने महत्त्वपूर्ण कार्यलाई जोड दिँदै जनजातिका एक सदस्यले भने । 

तर इन्टरनेटको आगमनले महत्त्वपूर्ण सांस्कृतिक समस्यालाई पनि जन्म दिएको छ । युवा पुस्ताले आफ्नो फोनमा धेरै समय बिताउने, अनावश्यक कुराकानी गर्ने, झुटा तथा भ्रामक जानकारी फैलाउने र अश्लीलता भएका सामग्रीहरू हेर्दै डिजिटल संसारलाई अँगालेका छन् । यो परिवर्तनलाई लिएर जनजाति प्रमुख र अग्रजहरू चिन्तित भएको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

मारुबो संघका प्रमुख अल्फ्रेडो मारुबोले युवाहरूमा यौन सामग्रीको प्रभावको बारेमा गम्भीर चिन्ता व्यक्त गरे । उनले युवाहरू बीच ग्रुप च्याटमा त्यस्ता फिल्म आदानप्रदान हुने गरेको बताए, जुन उनीहरूको सांस्कृतिक मान्यताहरू विरुद्ध जान्छ । “युवाहरूले यो जे गरिरहेका छन् त्यसमा हामी चिन्तित छौं,” अल्फ्रेडोले भने, “यसले गर्दा युवाहरूमा बढी आक्रामक यौन व्यवहार देखिन थालेको छ ।”

समस्या भएकै कारण त्यस क्षेत्रबाट इन्टरनेट चटक्क हटाउन भने समस्या देखिन्छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै यी जनजाति इन्टरनेटमा भावनात्मक रूपमा बढी नजिकिएका छन् । साइनामा मारुबोले इन्टरनेटका नकारात्मक पक्ष स्वीकार गर्दै बिन्ती गरे, “तर, कृपया हाम्रो इन्टरनेट नलिनुहोस् ।” यसले सांस्कृतिक अखण्डताको संरक्षण र आधुनिक प्रविधिका फाइदाहरू आत्मसात गर्ने विषय बीचको व्यापक तनावलाई प्रतिबिम्बित गरेको छ । 

जनजातिका अभिभावकबीच इन्टरनेटलाई लिएर पनि विवाद छ । इन्टरनेटले आफ्ना बालबालिकालाई शैक्षिक अवसर प्रदान गर्न सक्छ भनी उनीहरूले बुझेको भएपनि यसले परम्परागत मूल्यमान्यता र अभ्यासलाई कसरी कमजोर पार्न सक्छ भन्ने कुरामा उनीहरू चिन्तित देखिन्छन् । 

दूरवर्ती जनसङ्ख्यामा डिजिटल प्रविधिको जटिल प्रभावहरू कसरी देखिन्छन् भन्ने यो घटनाले स्पष्ट पारेको छ । 

अमेरिकी व्यवसायी एलिसन रेनेउले मारुबोलाई सञ्चार प्रदान गर्न स्टारलिङ्क एन्टेना दान दिएका थिए । इन्टरनेट भएपछि जनजातिसँग आफ्नो स्वायत्तता र सञ्चारलाई सुधार गर्ने अवसर मिलेको छ । उनीहरू आफ्नो चालचलन, रीतिरिवाज, परम्परा र संस्कृतिका बारेमा विश्वलाई जानकारी दिन सक्छन् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८१ १६:३४