काठमाडौं । “यो जोर्डन (छोरो)को कोठा हो । यो अझै पनि पहिलेकै जस्तो छ । मैले यहाँ केही पनि गरेको छैन,” जोर्डनकी आमा जेन बुटा आफ्नो छोरालाई सम्झिंदै भन्छिन् ।
जेनका छोरा जोर्डन खेल मन पराउने एक १७ वर्षीय लोकप्रिय किशोर थिए । उनी स्कुलमा पढिरहेका थिए ।
“अझै पनि मलाई उसको बास्ना आउँछ । त्यसैले म अझै पनि यो ढोका बन्द गरेर राख्छु । उसको पसिना र अत्तरको बास्ना अझै पनि यो कोठामा छ । म अझै पनि यी सबै चिज यहाँबाट हटाउनको लागि तयार छैन,” उनी भन्छिन् ।
जोर्डनलाई सेक्सटोर्सन ग्याङले निशाना बनायो । उनीहरूले जोर्डनलाई इन्स्टाग्राममा निशाना बनाए । उनकै उमेरकी युवती बनेर उनका अश्लील तस्वीर मगाए । त्यसपछि तिनै तस्वीर पठाएर डर देखाएर पैसा मागियो । जोर्डनले केही रकम पठाए पनि । तर त्यो पर्याप्त थिएन ।
“जोर्डनले ठगी गर्नेहरूसँग कुराकानी पनि गरेको थियो । छ घण्टाभित्र उसले आफ्नो ज्यान लियो । यस्तो लाग्छ कि यो कुनै अनलाइन स्क्रिप्ट हो,” जेन भन्छिन्, “अनि ती मानिसहरूले उक्त स्क्रिप्ट प्रयोग गरेर व्यक्तिहरूमाथि दबाब बनाउँछन् । उनीहरू यो सबै काम एकदमै छिटो फत्ते गर्न चाहन्छन् । ताकि अर्को शिकारको खोजीमा अगाडि बढ्न सकियोस् ।”
जोनको मृत्युपश्चात् जेन सेक्सटोर्सनको विषयलाई लिएर जागरुकता फैलाउन जुटिन् । टिकटकमा उनका भिडिओलाई १० लाखभन्दा बढी लाइक आए ।
“यदि तपाईं आफ्ना बच्चाहरूसँग कुराकानी गर्नु भएन भने थाहा छ के होला ? जानुहोस् अहिले नै गएर उनीहरूसँग कुरा गर्नुहोस् । मलाई प्रायः जसो मेसेज आउँछन्, अभिभावकहरू मलाई सोध्छन् कि के गर्नुपर्ला ? उनीहरूका बच्चालाई पनि फसाउने कोसिस हुन्छ । उनीहरू मसँग सम्पर्क गर्छन् र धन्यवाद भन्छन् कि उनीहरूलाई जोर्डनको घटना याद थियो । त्यसैले उनीहरू मकहाँ सहयोगका लागि आउने गर्छन्,” जेन भन्छिन् ।
के त्यस्ता व्यक्तिहरूले पनि सम्पर्क गरे, जसका बच्चाले पनि आत्महत्या गरे ? जवाफमा उनी भन्छिन्, “कयौं अभिभावक छन्, जो मकहाँ आए । उनीहरूका बच्चाले पनि यिनै कारणले आत्महत्या गरे ।”
अमेरिकाका अपराधसँग सम्बन्धित आँकडाबाट थाहा हुन्छ कि पछिल्लो साल सेक्सटोर्सनको मामिला पहिलेको तुलनामा दुई गुणाले वृद्धि भएको छ । पछिल्लो साल कूल २६ हजार ७०० मामिला बाहिर आए । पछिल्लो दुई वर्षमा अमेरिकामा मात्रै २७ किशोरले यस्तै कारणबाट आत्महत्या गरिसकेका छन् । जोर्डनमाथि अमेरिकामा जे भयो, त्यही विषयमाथि बहस छेडियो कि सेक्सटोर्सनको यो चुनौतीको सामना कसरी गर्ने ?
यो एक विश्वव्यापी समस्या बनिसकेको छ । अनुसन्धानकर्ताका अनुसार यस प्रकारका धेरैजसो स्क्यामर पश्चिमी अफ्रिकासँग जोडिएका छन्, खासगरी नाइजेरियासँग ।
यी दुई युवकले जोर्डनसहित कयौं अन्य किशोरहरूलाई निशाना बनाएको कुरा स्वीकार गरेका छन् । २२ वर्षका श्यामुअल र २० वर्षका श्यामसन अगोसे नाइजेरियाको राजधानी लागोसबाट गिरफ्तारमा परिसकेका छन् । त्यसपछि उनीहरूलाई अमेरिका ल्याइएको छ र उनीहरूमाथि चाँडै सजाय सुनाइने छ ।
एक अर्का संदीग्धलाई पनि गिरफ्तार गरिएको छ । उनी प्रत्यारोपणबाट बच्ने कोसिस गरिरहेका छन् । जोर्डनले उनीहरूलाई तस्वीर लिक भए आत्महत्या गर्ने भनेका थिए । उनीहरूले उल्टै आत्महत्या गर्न उक्साए ।
अस्ट्रेलियाका एक स्कुले छात्रको आत्महत्याको मामिलामा दुई नाइजेरियाली नागरिकलाई अप्रिलमा गिरफ्तार गरिएको छ । नाइजेरियाली अधिकारीहरूमाथि लामो समयदेखि यस्ता आरोपहरू लाग्दै आएका छन् कि उनीहरू यस प्रकारका मामिला रोक्नका लागि खासै प्रयास गरिरहेका छैनन् । तर पछिल्लो वर्षदेखि प्रशासनले त्यहाँ इन्टरनेट फ्रडको मामिलामा कयौं युवाहरूलाई गिरफ्तार गरेको छ । स्थानीय स्तरमा यिनीहरूलाई 'याहु ब्वाई' भन्ने गरिन्छ । किनकि केही वर्षअघि याहु मेलको माध्यमबाट फ्रडका कयौं मामिला बाहिर आएका थिए ।
नाइजेरियाको साइबर सेन्टरका प्रमुख उचे इफिन्यो हेनरी अपराधी विरुद्ध कारबाहीलाई लिएर आफ्नो विभागको बचाउ गर्छन् ।
उनी भन्छन्, “मानिसहरूलाई लाग्छ कि नाइजेरिया यसलाई लिएर केही गर्दैन । मलाई यो सुनेर हाँसो उठ्छ । म यसो किन भनिरहेको छु भने नाइजेरियाको सरकार अर्बौंको खर्च यस प्रकारको राष्ट्रिय साइबर अपराध केन्द्र बनाउन खर्च गरिरहेको छ र काम अझै पनि चलिरहेको छ । हामी कुनै पनि चिजलाई हलुका रूपमा लिइरहेका छैनौं, खासगरी सेक्सटोर्सनको मामिलामा । हामीलाई यिनको बारेमा थाहा छ र हामी उनीहरूमाथि कडा कारबाही गरिरहेका छौं । कयौं व्यक्ति विरुद्ध मुद्दा चलेको छ र कयौं व्यक्ति गिरफ्तार भइसकेका छन् ।”
साइबर सेन्टरका प्रमुख उचे यस प्रकारका घटना बढिरहेको स्वीकार गर्छन् । तर उनी भन्छन् कि कयौं नाइजेरियाली समेत यसको सिकार भइरहेका छन् ।
नाइजेरियाका साइबर विज्ञ डा रोबिनसन टोमबारीको भनाइमा देशको युवा आवादी प्राविधिक रूपमा निकै सक्षम छ र त्यसैबिच उनीहरू असुली र साइबर ठगीका यस्ता मामिला सामान्य भइसकेका छन् ।
“यसको मुख्य कारण आर्थिक र सामाजिक हो । त्यसैले यो बस टुल्सको उपलब्धताको कुरा मात्रै होइन,” उनी भन्छन्, “बेरोजगारी एक ठुलो समस्या हो र गरिबी पनि । यो उनीहरूका लागि एउटा मुख्य पेसा जस्तै हो र उनीहरू यसको नतिजाको बारेमा सोच्दैनन् । उनीहरूलाई लाग्छ कि कोही उनीहरूको साथी यस प्रकारको काम गरिरहेको छ र पैसा कमाइरहेको छ भने उनीहरू पनि त्यसै गर्न थाल्छन् ।”
उता मिसिगनमा जेन अझै पनि आफ्नो छोराको यादमा अभियान चलाइरहेकी छिन् ।