close

सामसङले ल्यायो स्मार्टफोन कन्ट्रोल गर्ने अनौठो जुत्ता

टेकपाना टेकपाना

जेठ ३०, २०८१ १९:१३

सामसङले ल्यायो स्मार्टफोन कन्ट्रोल गर्ने अनौठो जुत्ता

 

काठमाडौं । चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फोनलाई नियन्त्रण गर्ने जुत्ता (स्निकर) बनाएको छ । खुट्टाको चालको भरमा फोन चलाउन सकिनेगरी कम्पनीले यस्ताे जुत्ता उत्पादन गरेकाे हाे । 

यसका लागि सामसङले विश्व प्रसिद्ध स्निकर डिजाइनर रोयल भ्यान होफ सहित अन्य धेरैसँग सहकार्य गरेको छ । यस उत्पादनलाई सामसङले 'भविष्यको स्निकर' उपमा दिएको छ । 

किनकि जुत्ताबाटै सामसङ फोन चलाउन सकिन्छ । यसका लागि जुत्ताको सोलमा सेन्सरहरू राखिएकाे छ । जसले पाँच फरक चाल पहिचान गर्ने र त्यसका आधारमा फोन चलाउन सक्छ । जसमा निश्चित नम्बरमा कल गर्नेदेखि गीत बजाउन सकिने कम्पनीकाे भनाइ छ । 

यद्यपि यो जुत्ता सामसङले बिक्री गर्नका लागि बनाएको होइन । साम मोबाइलका अनुसार सामसङले जम्मा नौ वटा यस्ताे जुत्ता तयार पारेकाे छ, जसलाई सामसङले आफ्ना फ्यान मेम्बरहरूमध्ये केहीलाई दिनेछ । सामसङ ग्यालेक्सी प्रयाेगकर्ताको समुदायलाई नै सामसङ मेम्बर भनेर चिन्ने गरिन्छ । 

यसमा प्रयोगकर्ताले सामसङ मेम्बरको मोबाइल एपमार्फत ९ जुलाईसम्म सहभागी हुन सक्नेछन् । जुलाईको दोस्रो हप्तामा विजेता चयन गर्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८१ १९:१३