close

एक्सले पोर्न भिडिओ राख्न मिल्ने अप्सन ल्याए प्रतिबन्ध लगाउने इन्डोनेसियाको चेतावनी

टेकपाना टेकपाना

असार ३, २०८१ १५:१४

एक्सले पोर्न भिडिओ राख्न मिल्ने अप्सन ल्याए प्रतिबन्ध लगाउने इन्डोनेसियाको चेतावनी

काठमाडौं । सामाजिक सञ्जाल एक्सले प्रयोगकर्तालाई एडल्ट कन्टेन्ट राख्न दिने नीति ल्याएपछि इन्डोनेसियाले प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । शुक्रबार एक अन्तर्वार्तामा इन्डोनेसियाका सञ्चार तथा सूचना प्रविधि मन्त्री बुडी एरी सेतियाडीले एक्सको नयाँ नीति प्रति असहमति जनाउँदै प्लेटफर्म नै बन्द गर्ने तयारी भइरहेको बताएका हुन् । 

इन्डोनेसिया विश्वको सबैभन्दा ठुलो मुस्लिम बाहुल देश हो । जसले अश्लील मानिएका सामग्रीका अनलाइन प्लेटफर्ममाथि प्रतिबन्ध लगाउँदै आएको छ । 

“हामी पक्कै पनि एक्सका सेवाहरू बन्द गर्नेछौं,” मन्त्री सेतियाडीले भनेका छन् । इन्डोनेसियाको इलेक्ट्रोनिक इन्फरमेसन एन्ड ट्रान्जेक्सन (आईटीई) कानुनमा कसैले अश्लील सामग्री फैलाएमा छ वर्षको जेल सजाय हुने व्यवस्था छ । 

एलन मस्कको स्वामित्वमा रहेको एक्सले हालै आफ्नो नीति परिमार्जन गर्दै उक्त प्लेटफर्ममा एडल्ट कन्टेन्ट राख्न मिल्ने व्यवस्था मिलाएको छ । सो सन्दर्भलाई लिएर मन्त्रीले प्रतिबन्ध लगाउने तयारी भइरहेको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ । 

यसअघि इन्डोनेसियाको सरकारले मस्कलाई उक्त विषयमा पत्र पठाएरै असहमति जाहेर गरेको थियो । तर, मस्कले हालसम्म उक्त पत्रलाई लिएर कुनै किसिमको प्रतिक्रिया दिएका छैनन् । यस विषयमा एक्सले सञ्चार माध्यमलाई पनि कुनै धारणा दिएको छैन । 

इन्डोनेसियामा एक्सका दुई करोड ४८ लाख बढी प्रयोगकर्ता छन् । गत महिना मस्क इन्डोनेसिया भ्रमणमा गएका थिए । त्यस क्रममा उनले स्टारलिङ्क इन्टरनेट सार्वजनिक गरेका थिए । त्यस बाहेक इन्डोनेसियामा टेस्लाको ब्याट्री प्लान्ट स्थापना गर्ने छलफल समेत भएको थियो ।

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १५:१५