close

मेटाले दक्षिण अफ्रिकामा गरेको लाइभ ह्याकिङ प्रतिस्पर्धामा शीर्ष ५ मा नेपालका ३ ह्याकर

टेकपाना टेकपाना

असार ६, २०८१ १२:१४

मेटाले दक्षिण अफ्रिकामा गरेको लाइभ ह्याकिङ प्रतिस्पर्धामा शीर्ष ५ मा नेपालका ३ ह्याकर

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले दक्षिण अफ्रिकामा आयोजना गरेको ‘मेटा बग बाउन्टी रिसर्चर कन्फेरेन्स २०२४’ मा  नेपालका तीन इथिकल ह्याकर उत्कृष्ट पाँचभित्र परेका छन् । ८ र ९ जेठमा भएको उक्त प्रतिस्पर्धामा कुञ्जन नायक दोस्रो, समीप अर्याल चौंथो र रिकेश बानियाँ पाँचौं भएका हुन् ।   

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको सो सम्मेलनमा नेपालबाट सौगात पोखरेल, मनोज गौतम, रिकेश बानियाँ, समीप अर्याल र कुञ्जन नायक सहभागी थिए ।

“रिजल्ट पहिले नै आएको थियो, रिवार्ड चाहिं केही दिन अगाडि आएको हो,” लाइभ ह्याकिङ प्रतिस्पर्धामा चौंथो भएका अर्यालले भने, “हामी सहभागीमध्ये तीन जनाको रिवार्ड आएको छ । सौगात पोखरेलको पनि बग भ्यालिडेट भइसकेको छ । केही हप्तामा रिवार्ड ‍आउला । त्यसपछि शीर्ष १० मा पर्ने हामी नेपालका चार जना हुन्छौं ।”

बग हन्टरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मेटाले हरेक वर्ष यस्तो सम्मेलन गर्दै आएको छ । सम्मेलनमा मेटाले बग बाउन्टीका सन्दर्भमा पछिल्लो समय मेटामा भएका ट्रेन्ड (प्रवृत्ति) र विभिन्न प्लेटफर्मको सेक्युरिटी सुधार गर्न के-कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी दिएकाे थियाे । 

सम्मेलनमा सहभागीबीच विभिन्न विषयमा अन्तर्क्रियाका साथै लाइभ ह्याकिङ भएको थियो । लाइभ ह्याकिङका क्रममा सुरक्षा कमजोरी पत्ता लगाउनेलाई मेटाले बाउन्टी अवार्ड प्रदान गर्ने घाेषणा गरेकाे थियाे । त्यसै अन्तर्गत नेपालका तीन साइबर सुरक्षा अनुसन्धानकर्ताले २५ हजार डलर (करिब ३३ लाख ३१ हजार रुपैयाँ) अवार्ड पाएको अर्यालले जानकारी दिए । 

नेपालबाट सहभागी ‍पाँचै इथिकल ह्याकरको एयरलाइन्स, हाेटल र अन्य सबै खर्च मेटाले बेहोरेको थियो । 

 

पछिल्लो अध्यावधिक: असार ६, २०८१ १२:३५