close

कास्कीमा राइड शेयरिङ सेवामा रोक, निजी सवारीले यात्रु ओसारपसार गरे कारबाही हुने

टेकपाना टेकपाना

असार ८, २०८१ ११:१०

कास्कीमा राइड शेयरिङ सेवामा रोक, निजी सवारीले यात्रु ओसारपसार गरे कारबाही हुने

काठमाडौं । यातायात व्यवस्था कार्यालय कास्कीले राइड शेयरिङ सेवामा रोक लगाइएको छ । एक सूचना जारी गर्दै कार्यालयले राइड शेयरिङ सम्बन्धी कानुन नबनिसकेकाले निजी सवारीबाट यात्रु बोक्ने कार्य अवैध भएको जनाएको छ ।

‘‘गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजन र ट्याक्सीको मिटर समायोजन अनुसार भाडा लिने कार्य भइरहेकोमा गण्डकी प्रदेश सरकार तथा यातायात व्यवस्था कार्यालयको अनुमति नै नलिई हाल केही विदेशी एपहरुले सार्वजनिक तथा निजी सवारीमा आफ्नो एप सञ्चालन गर्न दिई अनधिकृत रूपमा गण्डकी प्रदेशभित्र एप सञ्चालनमा ल्याएको पाइएको तथा निजी सवारीमा समेत एप सञ्चालन गर्न दिई कानुन विपरीत निजी सवारीले यात्रु ओसारपसार गर्न सक्ने अवस्था सिर्जना हुन गएको देखिएकोले उक्त एपहरुबाट सवारी भाडा लिने कार्य तथा निजी सवारीले यात्रु ओसार पसार गर्ने कार्य तुरुन्त बन्द गर्नु गराउनु हुन यो सूचना जारी गरिएको छ,’’ सूचनामा भनिएकाे छ ।

अनधिकृत रुपमा एप प्रयोग गरेको पाइएमा तथा निजी सवारीले यात्रु ओसारपसार गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएकाे छ । 

हाल पोखरामा इनड्राइभ लगायतका राइड शेयरिङ एपमार्फत निजी सवारीले आफैं भाडा निर्धारण गरी यात्रु बोक्ने कार्य गरिरहेका छन् । तर गण्डकी प्रदेशमा राइड शेयरिङ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भएपनि नियमनका लागि कार्यविधि बनेको छैन ।

उक्त नियमावलीले निजी सवारीले पनि यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था गरेको छ । यस अनुसार निजी प्रयोजनका लागि दर्ता भएका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रुको बीमा गरी सेवा दिनसक्ने छन् । नियमावलीमा भनिएको छ, ‘‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्नसक्ने गरी मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्नेछ ।’’

नियमावली बनेपनि मापदण्ड र कार्यविधि नबन्दा गण्डकी प्रदेशमा राइड शेयरिङ सेवा नियमनमा आउन सकेको छैन । 

पछिल्लो अध्यावधिक: असार ८, २०८१ १३:३०