close

थाहा पाइराख्नुहोस्, माइक्रोसफ्ट वर्डमा टेक्स्ट सिलेक्ट गर्ने छरितो अनि स्मार्ट तरिका

टेकपाना टेकपाना

असार १३, २०८१ २०:३०

थाहा पाइराख्नुहोस्, माइक्रोसफ्ट वर्डमा टेक्स्ट सिलेक्ट गर्ने छरितो अनि स्मार्ट तरिका

काठमाडौं । माइक्रोसफ्ट वर्ड डकुमेन्टमा कुनै लिखित सामग्रीको सन्दर्भमा त्यसलाई पढ्ने कुरा छोड्ने हो भने सिलेक्ट गर्नु (छान्नु) सम्भवतः अर्को महत्त्वपूर्ण काम हो । हामी प्रायः त्यसमा रहेको टेक्स्ट फर्म्याट सिलेक्ट गर्ने, कपी गर्ने, यताउति सार्ने र डिलिट गर्ने काम गरिरहेका हुन्छौं । 

लगभग सबैजसो एडिटिङ र फर्म्याटिङको काम कुनै चिज सिलेक्ट गर्नुबाटै सुरु हुन्छ । धेरैजसो प्रयोगकर्ताले कुनै टेक्स्ट सिलेक्ट गर्ने वा कुनै भागलाई हाइलाइट गर्नु परे माउस क्लिक गरेर टेक्स्ट रहेको भागमा तान्ने गरिरहेका हुन्छन् । 

यसो गर्दा कहिलेकाहिँ माउस लैजान खोजेको भागबाट नियन्त्रण बाहिर गइदिने जस्तो समस्या आउँछ । यो समस्याको सबैभन्दा उत्तम समाधान र स्मार्ट तरिका भनेको किबोर्ड शर्टकट प्रयोग गर्नु हो । आज हामी तपाईंलाई यहाँ माइक्रोसफ्ट वर्ड र गुगल डक्समा टेक्स्ट सिलेक्ट गर्ने केही टिप्स दिंदै छौं । 

शिफ्ट [Shift] + डिरेक्सनल अर्थात् एरो कि

  • एकसाथ एउटा अक्षर वा हरफ अर्थात् लाइन सिलेक्ट गर्न शिफ्ट [Shift] कि थिचि राख्नुहोस् र सँगसँगै राइट, लेफ्ट, डाउन वा अप कि दबाउनु होस् ।

  • स्क्रिनको माथि वा तलको भाग एकै पल्ट सिलेक्ट गर्न शिफ्ट किसँगै अप वा डाउन कि थिचि रहनुहोस् । 

  • तपाईं अहिले रहेको स्थानबाट उक्त लाइन वा हरफको सुरुवातसम्मको सबै सामग्री एकै पल्ट सिलेक्ट गर्न शिफ्टसँगै होम कि थिच्नुहोस् । 

  • कुनै लाइनमा अहिले रहेको स्थानबाट उक्त लाइनको अन्तिम अक्षरसम्म एकैपल्ट सिलेक्ट गर्न शिफ्टसँगै इन्ड कि थिच्नुहोस् । 

  • आफूले सिलेक्ट गर्न चाहेको टेक्स्टको सुरुवातमा माउसले क्लिक गर्नुहोस् र त्यसपछि शिफ्ट कि थिचि राखेर अन्तिममा क्लिक गर्नुहोस् । 

सजिलै सिलेक्सन गर्ने ट्रिक्स

शिफ्ट किभन्दा पनि अझै राम्रो तर धेरैलाई थाहा नहुने सिलेक्सनको ट्रिक हो एफ ८ [F8] फङ्सन कि, जसले सिलेक्सन मोड अन गर्छ अनि वर्ड डकुमेन्टमा हाइलाइट वा सिलेक्ट गर्दा तपाईंले शिफ्ट कि थिचि राख्नु पर्दैन । यो तरिका अपनाउने निम्न अनुसार गर्नुहोस्; 

१. सबैभन्दा पहिला आफूले सिलेक्ट गर्न चाहेको भागको सुरुवातमा जानुहोस् । 

२. अब एक पल्ट एफ ८ फङ्सन कि थिच्नुहोस् । 

३. सिलेक्सनलाई विस्तार गर्न तल बायाँ कुनामा रहेको वर्ड स्टाटस बारमा हेर्नुहोस्; तर कुनै कुरा फ्ल्याश हुने वा पपअप हुने कुराको अपेक्षा भने यहाँनिर नराख्नुहोस् । 

४. किबोर्ड अथवा माउसको सहायताले सिलेक्ट गर्न चाहेको भागमा यताउति गर्नुहोस् । यसो गर्दा तपाईंले सिलेक्ट कि थिचि राख्नु पर्दैन । 

५. यसरी सिलेक्ट गरेको भागमा तपाईंले फर्म्याटिङ, कट, कपी जस्ता आफूले चाहेको काम गर्न सक्नु हुन्छ । यो एक्सटेन्ड सिलेक्सन मोड तपाईैले कुनै काम गरिसकेपछि आफै बन्द हुन्छ । हाइलाइटलाई क्लियर गर्नका लागि केवल तपाईंले कुनै पनि भागमा यताउति गरे पुग्छ । यदि केही पनि नगरी यो मोड बन्द गराउन चाहनु हुन्छ भने तपाईंले केवल ईएससी [Esc] बटन दबाए पुग्छ । 

किबोर्ड शर्टकट र माउसको एकसाथ प्रयोग

  • तपाईं अहिले रहेको कुनै शब्द सिलेक्ट गर्न त्यसमाथि माउस लगेर डबल क्लिक गर्नुहोस् । 

  • तपाईं अहिले रहेको प्याराग्राफ अर्थात् अनुच्छेद सिलेक्ट गर्न त्यसमाथि तीन पल्ट क्लिक गर्नुहोस् । 

  • लाइन मात्र नभएर वाक्य नै सिलेक्ट गर्न कन्ट्रोल बटन थिचिराखेर उक्त वाक्यको कुनै पनि भागमा क्लिक गर्नुहोस् ।

  • टेक्स्टको ठाडो भाग सिलेक्ट गर्न उक्त ब्लकको सुरुवातमा क्लिक गर्नुहोस् । त्यसपछि शिप्ट कि थिचिरहेर उक्त ब्लकको अर्को तर्फ दोस्रो पल्ट क्लिक गर्नुहोस् । यदि तपाईं तालिकामा रहेको सूचीबाट एउटा कोलम कपी गर्न खोजिरहनु भएको छ भने यो ट्रिक एकदमै उपयोगी हुन्छ ।

सिलेक्सन बारको प्रयोग 

के तपाईंले कहिल्यै वर्डमा सिलेक्सन बार प्रयोग गर्नु भएको छ ? यसलाई तपाईं केवल आफ्नो वर्ड डकुमेन्टको बायाँ तर्फको खाली रहेको भागको रूपमा सम्झिन सक्नु हुन्छ । सिलेक्सन बार पहिल्याउन अङ्ग्रेजी ठुलो अक्षर 'I' बाट सेतो एरोमा परिवर्तन नभएसम्म माउसलाई टेक्स्टको बायाँ भागतर्फ लैजानुहोस् । त्यसपछि सिलेक्सन बार प्रयोग गर्न निम्न अनुसार गर्नुहोस्ः 

  • कुनै लाइनलाई हाइलाइट गर्न एक पल्ट क्लिक गर्नुहोस् । 

  • दुई वा दुई भन्दा बढी लाइन सिलेक्ट गर्न क्लिक गरेर माउस तलमाथि गर्नुहोस् ।

  • समग्र प्याराग्राफ अर्थात् अनुच्छेद छान्न डबल क्लिक गर्नुहोस् ।

  • समग्र डकुमेन्ट नै हाइलाइट गर्न तीन पल्ट क्लिक गर्नुहोस् । यो ट्रिक खास गरी फन्ट परिवर्तन जस्ता डकुमेन्टमा गरिने समग्र परिवर्तनका लागि निकै उपयोगी हुन्छ । 

एकसाथ धेरै चिज सिलेक्ट कसरी गर्ने ? 

एकभन्दा बढी सामग्री अर्थात् खासगरी दुई भिन्न अर्थात् असम्बन्धित सामग्री सिलेक्ट गर्नः 

१. पहिलो सामग्री सिलेक्ट गर्नुहोस् । 

२. कन्ट्रोल बटन थिचि राखेर अर्को कुनै पनि सामग्री सिलेक्ट गर्नुहोस् । सिलेक्ट र मुभः प्याराग्राफलाई सिलेक्ट गरेर यताउति सार्न एक साथ अल्ट+ शिफ्ट+ अप अथवा अल्ट+ शिफ्ट+ डाउन दबाउनु होस्। 

पछिल्लो अध्यावधिक: असार १३, २०८१ २०:३०